दुई पटकको क्यान्सरले रोक्न नसकेकी अंगुरबाबा

आममान्छेको सोचाइ हुन्छ– शरीरमा क्यान्सर प्रवेश गरेपछि जीवनलीला समाप्त भएरै छाड्छ । तर, दुई–दुई पटक क्यान्सरको अपरेसन गरेको, शरीरमा थुप्रै रोगले डेरा जमाएर पनि सक्रियतापूर्वक काम गरिरहेका मान्छे यही समाजमा देख्न पाइँदो रहेछ । समाजसेवी अंगुरबाबा जोशीलाई हेरे यसको प्रमाण पाइन्छ ।

उमेरले चार बीस नाघिसकिन् जोशी, तर सामाजिक कामहरूबाट विश्राम लिएकी छैनन् । जोस उस्तै छ, उही २५ वर्षको उमेरमै जस्तो । उनको सक्रियता देख्नेहरूलाई लाग्ला, उनी निरोगी छन् । तर, यथार्थ उनको शरीरमा रोगको भण्डारै छ ।
८१ वर्षीया जोशीको केही वर्षअघि क्यान्सरको अप्रेसन भयो । मुटुमा पेसमेकर राखेको अढाई वर्ष भयो । पाठेघरै अपरेसन गरेर फालियो, २०४५ सालमा । कोलस्टोर पनि काटेर फालिएको सुनाउँछिन् उनी । उनी आफैँ स्विकार्छिन्– ‘म त जन्मँदै रोगी हुँ, रगतमा होमोग्लोबिन कमी थियो । घरिघरि मूच्र्छा पर्थें । शरीर भ्यात्ले थियो । भाइबहिनी दौडेर पर्खाल नाघेको, हाम फालेको देख्दा रहर लाग्थ्यो । तर, सक्दैनथेँ । साँच्चै म रोगी मान्छे हुँ ।’
पहिले घाँटीको क्यान्सर भयो । त्यसैका उपचारका लागि पोरोडिटग्ल्यान्ड काटेर फाल्नुपर्दा अहिले उनको सुन्दर मुहार बांगिएको छ । ‘जमानामा त मलाई सबैले राम्री नै भन्थे, मलाई त अहिले पनि आफू राम्री नै लाग्छु,’ उनी भन्छिन् । यही विषयमा कविता पनि लेखेकी छन् रे । मन, बुद्धि र चिन्तन राम्रो भयो भने मान्छे त्यसै राम्रो हुने जोशीको तर्क छ ।
बिहान साढे ५ देखि ६ बजेसम्ममा उनको निद्राले बिदा लिइसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ, नयाँ दिनको नित्यकर्म । तीन गिलास मन तातो पानी खान्छिन् । आफ्नै किसिमको व्यायाम छ । रामदेव र योगानन्दजीको व्यायामशैली मिलाएर आधा घन्टा बिताउँछिन् । सकारात्मक सोचलाई आफ्नो दीर्घजीवनको आधार भन्छिन् उनी  । ‘क्यान्सर छ भन्दैमा चिन्ता लिन्नँ, जानु त एकदिन सबैले पर्छ नै, सकारात्मक सोचको प्रभाव मनमा सकारात्मकै पर्छ, चिन्ता एक मिनेट पनि लिन्नँ, मर्न डर पनि छैन । किनकि मलाई जम्मा एकपटक मर्न मन छ, बारबार होइन’ –उनको दृढ स्वभाव । शरीरमा अनेकौँ रोग हुँदा सक्रियता देखाइरहन सक्नुमा खप्तडबाबाको आशीर्वादलाई विश्वास गर्छिन् उनी । खप्तडबाबालाई गुरु अनि मार्गदर्शक मान्छिन् ।
‘भगवान्सँग भलाकुसारी गर्छु, जुन ठाउँमा रोग छ त्यही ठाउँमा छोएर भगवान्लाई सम्झन्छु,’ दैनिक बिहान एकदेखि डेढ घन्टा एकचित्तले भगवान्सँग भलाकुसारी गरेर बिताउँदी रहिछन्– ‘भगवान्सँग मेरो धैरै कुरा हुन्छ, स्वस्थ्यबारे पनि कुरा गर्छु ।’
बिहान चियानास्ता लिने चलन रहेनछ । तर, मेवा सधैँ खान्छिन् । त्यो पनि ९७ वर्षीया सासूआमाले आफ्नै हातले काटेको । सानो भान्सा छ, जहाँ सामान्य खाना पाक्छ । सम्पन्न परिवारकी भए पनि उनलाई राजसी भोजन ठीक लाग्दैन । भात भने गिलो चाहिन्छ तरकारी अलि बढी । अमिलोपिरो खान हुँदैन ।
बम्बैमा क्यान्सरको अपरेसन गर्ने बेला डाक्टरले शरीरमा अक्सिजनको मात्रा बढाउने खाना बढी खान सल्लाह दिएका रहेछन् । त्यसैले विभिन्न रंगका फलफूलमा बढी जोड दिन्छिन् । कोलस्ट्रोल कम गराउने कालो तिल, कालो मोनक्का (किसमिस), एक ठूलो चम्चा भटमास, एउटा अंजिर, एउटा ओखर, एउटा खुर्पानी, दुईवटा काजु, एउटा छोकडा, मेथीको जरा उनका नियमित खुराक हुन् । ‘यी सबै खाँदा बिहानको नौ बज्छ, टन्नै हुन्छु । भातचाहिँ १२ बजे मात्रै खान्छु,’ उनले सुनाइन् ।
त्यसो त उनलाई कुनै बेला दम पनि थियो रे † त्यसलाई चाहिँ उनले घरेलु उपचारबाटै पार लगाइछन् । ठूलो चम्चा महमा एक चम्चा सक्कली बेसार र दूध मिसाएर एक महिना खाँदा दमले छाडेको उनले सुनाइन् । खानासँगै पानी कहिल्यै खान्नन् । ‘यसरी खाएको खाना पच्दैन’, स्वास्थ्यप्रति अत्यन्तै सचेत जोशीको अनुभव । दिउँसो फलफूल र हल्का खाजा हुन्छ । चिया चौबीस घन्टामा एकपटक मात्र ।
शयनकक्षछेउकै कौसीमा पिङजस्तो एउटा झोलुंगो छ । जहाँ बसेर उनी आरामले लेखपढ गर्छिन् । चिया र खाजा पनि त्यहीँ बसेर खान्छिन् । दिनको दुई–तीन घन्टा त उनी त्यसैमा बसेर बिताउँदी रहिछन् ।
बिहानको खानाअगाडिको समय लेखपढमा बित्छ । जोशी आफ्नो कमजोर शरीरलाई हरेक दिन मसाज गराउँछिन् घरमै । आधा शरीर दिउँसो, आधा शरीर साँझ । घरको कोठाभित्र यौगिक वाकिङ गर्छिन्, दुई सय कदम । निद्रा लागे पनि नलागे पनि दुई घन्टा सुत्ने बानी रहेछ दिउँसो, शरीरलाई आराम दिन ।
शाकाहारी हुन् उनी, माइती खलकै शाकाहारी थिए । कुखुराको मासु त उनको मुखमै परेको छैन । उनको जमानामा श्रीमान्को जुठो खानुपर्छ भन्ने मान्यता थियो । एघार वर्षमा बिहे गरेर आएकी उनलाई पनि श्रीमान्को जुठो थालमा खाना दिइन्थो । श्रीमान् खसीको मासु खाने भएकाले उनले पनि खाइन् । बिहेको दुई वर्षपछि श्रीमान्ले मासु खान छाडे, त्यसपछि उनी पनि खान्नन् ।
टेलिभिजनमा आउने धार्मिक कार्यक्रम हेर्न प्राय: छुटाउँदिनन् । दुइटा हिन्दी सिरियल उनका फेबरेट छन्– बालिकाबधू र उत्तरन । ‘बालिकाबधू हेर्दा जीवनको सम्झना आउँछ, सानै उमेरमा विवाह भएको ।’ साँझ पनि १५ मिनेटजति एक्सरसाइज गर्दी रहिछन् जोशी ।
उनको मूल मन्त्र छ– जीवनलाई निराशामा राख्नु हुँदैन, क्रियाशील बनाउनुपर्छ  । मान्छे निराश हुने होइन, आनन्दसँग धैर्य र उत्साहसाथ बाँच्न जन्मेको । भगवान्ले मान्छेलाई धेरै चिज दिएका छन्, गर्न नसक्ने केही छैन । कमजोर शरीरले त यत्तिको गर्‍यो भने, यो उमेरमा जोशीलाई अझ बलियो हुन पाएको भए थप धेरै कुरा गर्न सक्थेँ जस्तो लाग्दो रहेछ । मनस्थिति स्वस्थ बनाउने र जीवनका हरेक क्षण सन्तुष्टिसाथ बिताउनुपर्ने सुझाब उनी दिन्छिन् । परिवारले दिएको सुसंस्कार र श्रीमान्को सहयोगले आफूलाई यहाँसम्म ल्याएको उनलाई लाग्छ ।
सबैको भलो चिताउने, सधैँ सकारात्मक सोच राख्ने उनी गाली शत्रुलाई पनि गर्दिनँ भन्छिन् । झ्याउरी भएर हिँड्न मन पराउँदिनन्, उति धेरै शृंगार गर्ने सोख पनि राख्दिनन् । ईश्वर र गुरुको कृपाले आनन्दी जीवन पाएकामा सन्तुष्ट छिन् रे †
डाक्टरले वर्षमा एकपटक मुम्बई आउन भनेका रहेछन्, यसमा चाहिँ उनले हेलचेक्य्राइँ गरेकी छन् । तर, नेपालमै नियमित स्वास्थ्यपरीक्षण भने गराउँछिन् । स्वास्थ्यमा सचेत छिन् । ‘आफू स्वास्थ्यमा सचेत नहुँदा परिवारले नै दु:ख पाउँछन्,’ उनी भन्छिन् । डाक्टरकामा जाँदा पनि सकेसम्म छाराबुहारीलाई दु:ख नदिऊँ भन्ने उनको ध्याउन्न हुन्छ ।

प्रतिक्रिया