ज्वरोका रुप थरीथरी

वर्षायाम सकिनै लाग्दा देशका धेरै स्थानमा विभिन्न प्रकारका ज्वरोका बिरामी अस्पताल पुगिरहेका छन् । विभिन्न जिल्लाबाट स्वास्थ्य मन्त्रालयमा आएको जानकारीअनुसार यति बेला देशैभरि ज्वरो प्रभावित हुनेहरूको संख्या बढी छ । दुर्गम क्षेत्रमा मात्र होइन, काठमाडौं उपत्यकाका ठूला अस्पतालमा समेत भाइरलदेखि ब्याक्टेरियल तथा अन्य समस्याका कारण ज्वरोले सताएका बिरामीको भिड बाक्लिएको छ ।

मौसम परिवर्तनका कारणले हुने ज्वरो होस् वा रुघाखोकी, घाउचोटपटकका कारण देखिने तथा ब्याक्टेरियल, भाइरलजस्ता समस्याका कारण आउने ज्वरो नै किन नहोस्, मानिसले आफ्नो जीवनमा कुनै समयमा शरीरको तापक्रम बढेको वा ज्वरो आएको अनुभव गरेकै हुन्छ । ज्वरो विभिन्न कारणले देखिने भए पनि यसको लक्षणसमस्या भने एकै खाले हुन्छ ।
चिकित्सकहरूका अनुसार मानिसको शरीरको सामान्य तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ । शरीरको तापक्रम यो सामान्य स्तरभन्दा माथि हुने स्थितिलाई ज्वरो भनिन्छ । ज्वरो आउँदा शरीर तातो हुनु, खान रुचि नहुनु, वाकवाक लाग्नु, बान्ता हुनु, कपाल दुख्नुजस्ता लक्षण देखापर्छन् । साथै टाउको दुख्ने, चिसो लाग्ने, जोर्नी दुख्ने, भोक कम लाग्ने, स्वाद नलाग्ने, थकाइ लाग्ने तथा जिउमा दुखाइ हुने लक्षण पनि देखिन्छ ।
चिकित्सकहरू ज्वरो आफैँमा कुनै रोग नभएको बताउँछन् । वीर अस्पतालका वरिष्ठ फेमिली फिजिसियन डा. डिपी सिंहका अनुसार शरीरमा कुनै खास रोग वा आउन लागेको अस्वाभाविक परिस्थितिको लक्षण नै ज्वरो हो । उनका अनुसार भाइरस, ब्याक्टेरिया, फङ्गस, प्रोटोजोवा, कीटजन्य वस्तुको टोकाइ, घाउ खटिरा, श्वाससम्बन्धी संक्रमण निमोनिया, रुघाखोकी, ब्रोन्काइटिस, टन्सिल, मूत्रप्रणालीको संक्रमण, टाइफाइड, औलो, क्षयरोग, हाँडे, कालाजारलगायतका कारणले पनि ज्वरो आउँछ ।
चिकित्सकहरूका अनुसार साधारण ज्वरोमा मानिसको शरीरको तापक्रम ९९ देखि १ सय डिग्री फरेनहाइट हुन सक्छ । मन्द ज्वरो ९९.८ देखि १०१ डिग्री फरेनहाइटसम्म हुन्छ । मध्यम ज्वरोमा १०१ देखि १०३ डिग्री फरेनहाइटसम्म देखिन्छ भने तीव्र ज्वरोमा १०४ डिग्री फरेनहाइटभन्दा बढी । तीव्र ज्वरोलाई खतरा मानिन्छ । चिकित्सकहरूले ज्वरोको कारण र लक्षण हेरेर उपचार गर्ने गरेका छन् । ज्वरो आएकामध्ये ९५ प्रतिशत बिरामीको कारण पत्ता लाग्ने गरेको छ भने ५ प्रतिशत जतिमा कारण थाहा हुँदैन । त्यसलाई अज्ञात ज्वरो भनिन्छ । ‘के कारणले ज्वरो आएको हो भन्ने पत्ता लगाएर उपयुक्त औषधोपचार गर्नु नै सबैभन्दा राम्रो हुन्छ’ डा. सिंहले भने, ‘मानिसहरू ज्वरो आउनेबित्तिकै आफूखुसी औषधि खाने गर्छन्, त्यसो गर्दा झन् खतरनाक हुन सक्छ ।’ शरीरभित्रका विभिन्न रोगले पनि ज्वरो आएको हुन सक्ने भएकाले कारण नै थाहा नपाई हचुवाको भरमा त्यस्ता औषधि खाँदा गम्भीर समस्या पनि आउन सक्ने डा. सिंहको भनाइ छ ।
वर्षात्को समयमा जीवाणु वा परजीवीको आक्रमणका कारण ज्वरोको संक्रमणमा परेका बिरामी देखिने गरेको चिकित्सक बताउँछन् । वर्षात्मा ओसिलोपनका साथै गर्मीको मौसम पनि हनुे भएकाले यस्तो समयमा जीवाणु तथा परजीवी बढी सक्रिय हुन्छन् । सडेगलेका चिज, फोहोर वातावरण एवं भाँडाकुँडामा तयार पारिएका खानेकुरा, दूषित पानीका माध्यमबाट जीवाणु तथा परजीवी मानिसको शरीरमा प्रवेश गर्छ र ज्वरो देखापर्ने गर्छ ।
लामो समयसम्म अर्थात् दुई हप्ताभन्दा बढी समयसम्म आउने ज्वरोको रोग निदान गर्न अप्ठ्यारो पर्दछ । संक्रमण, जोर्नीका रोगहरू, रगतका विभिन्नखाले क्यान्सर, रोग प्रतिरोध क्षमतामा ह्रास, रगतका रोगहरू, रक्तअल्पता, स्नायुप्रणालीका रोगहरू, वंशानुगत कारण, औषधिको कारणले ज्वरो लामो समयसम्म रहने गर्छ । लामो समयसम्म पनि ज्वरो निको नभएमा शरीरका अन्य अंगमा केही समस्या हुन सक्ने भएकाले चिकित्सकको सल्लाहअनुसार परीक्षण गरेर समस्या पत्ता लगाउनुपर्ने हुन्छ ।

ज्वरोको घरेलु उपचार
– निधारमा चिसो पानीपट्टि लगाउने
– पैताला र हत्केला चिसो सफा कपडाले पुछिदिने
– शरीरलाई बिस्तारै मालिस गर्ने
– कम्तीमा चार घन्टाको अन्तरमा ज्वरो नाप्ने
– बिरामीलाई सुप, फलफूलको रस, ग्लुकोज पानी, जाउलो, भातको माड पटकपटक खान दिने
– धेरै समयसम्म चर्को घाममा वा बढी तापक्रम भएको क्षेत्रमा नबस्ने, आराम गर्ने
– रोगीको शरीरबाट अनावश्यक लुगा हटाउने
– बिरामीलाई खुला र ताजा हावा आउने ठाउँमा राख्ने

प्रतिक्रिया