सञ्चार क्षेत्रमा चरित्रको खेती

महिलाका लागि चरित्र सबैभन्दा ठूलो सम्पत्ति हो । यही चरित्रले गर्दा ऊ समाजमा सम्मानका साथ बाँच्न पाउँछे । यसकै कारण विवाह गर्दा राम्रो घर मिल्छ रे, यही चरित्रको कारण समाजले उसलाई हजारौँका सामु उच्च ओहोदाको चारित्रिक प्रमाणपत्र पनि दिइन्छ रे । महिलाको चारित्रिक प्रमाणपत्र बनाउने अहिले एउटा राम्रो फर्म हाउस खोलेका छन् केही व्यक्तिहरूले । थाहा छैन यो चारित्रिक प्रमाणपत्र दिने
फर्म हाउस वैधानिक हो वा अवैधानिक ? तर, यसले ओडाउँदैछ चारित्रिक खादा ।
कुनै पनि महिलालाई कुन तहमा राख्ने भन्ने उनीहरूको हातमा हुन्छ । यो चारित्रिक प्रमाणपत्र कसरी उपलब्ध हुन्छ ? कस्ता व्यक्तिले दिन्छन् ? उनीहरू को हुन् ? त्यो खोजीको विषय हुन सक्छ । काठमाडौं संघर्ष गरेर आफ्नो योग्यता बेचेर खानेहरूको थलो हो भने चरित्र बेचेर खानेहरूको पनि थलो हो । चरित्रको परिभाषा के ? कसले दिन्छ ? ज्ञान, सीप र तालिम प्राप्तिपछि दिइने विभिन्न तहका प्रमाणपत्रहरूको बारेमा हामीलाई थाहा छ । तर, चरित्रजस्तो महत्त्वपूर्ण अनि पछिल्लो समयमा समाजले व्यक्तिको सिंगो स्वाभिमान र सम्मानसँग सिधै सम्बन्ध राख्ने रूपमा चिनिएको महिलाको विषयमा दुई–चारजनाको समूह बसेर चिया र रक्सीको चुस्कीमै सुरु हुने चारित्रिक चित्रणले के अर्थ राख्ला ?
करिब एक महिनाअघि समाजले सम्मानित व्यक्तिको दर्जा दिएका केही व्यक्तिको चिया गफमा तिनै महिलाहरू अलाना… फलानासँग हिँडेको, फलानाकी श्रीमती, बहिनीको उठबसको विषय, सँगै गाडी चढेका विषय… यस्तै यस्तै चर्चा चले । उनीहरूका विरुद्धमा थोरै प्रतिउत्तर गर्ने पुरुष व्यक्ति पनि ‘बडा फेमिनिस्ट हुन्छ’ महिलाको त के कुरा ? नबोलूँ कसरी सहनु यस्ता कुरा ? सधैँ चर्चाका विषय हुने महिला जो पत्रकारिता, राजनीतिक, व्यवसाय गरिरहेका छन् । जहाँ पुरूषजत्तिकै महिलाले पनि आफ्नो पेसाका लागि समर्पण गरेकी हुन्छे आफूलाई । तर, जसले अरूको चरित्रको वर्गीकरण गर्छ, चरित्रको उसकै परिभाषामा ऊ स्वयं नै चरित्रवान्को सूचीमा पर्दैन । यस लेखमा चरित्रको सुरु गरौँ । एक टेलिभिजनमा काम गरिरहेको आफूलाई ठूलै सेलिब्रेटी मान्ने एकजना महान् पत्रकारबाट । जोचाहिँ आफूलाई त्यस टेलिभिजनको जान्ने र मालिक नै भन्ठान्थ्यो । टिभीमा ग्ल्यामरको भूत चढेका केही नवप्रवेसी युवतीले आफ्नो कान्छी औँलाजस्तै मानेर जागिर दिएको र आफूले भनेको मान्नुपर्ने समेत भन्थ्यो ऊ ।
यही व्यक्तिले मिडिया बाहिरकी एक युवतीलाई विवाह गरेर उसको सम्पत्ति लुटेर अर्कै बिहे गर्‍यो र पूर्वश्रीमतीलाई चिन्दिन त भन्नेसम्मको हर्कत देखायो । यो प्रतिनिधि पात्रको बारेमा सबै मिडिया हाउस, सञ्चारकर्मी, अधिकारकर्मी, प्रहरीलगायत प्रधानमन्त्री कार्यालयसम्म सबैलाई जगजाहेर नै छ । यो घटना एउटा उदाहरण मात्र हो । यस्ता धेरै घटनाहरू छन् । राजधानी र बाहिरका टेलिभिजन, एफएम, पत्रिका, तराई, पहाड सबै ठाउँका महिला यौनजन्य हिंसाबाट प्रताडित हुनुपरेको यथार्थ अहिले मिडियामा आइरहेको छ ।
सबैको चासो र कौतुहलताको विषय बन्न सक्छ, अरूमाथि भएको हिंसा, अन्याय, विभेद र अनियमितताको बारेमा काम गर्ने सञ्चारमाध्यमभित्र नै महिलाहरू यसरी पीडित भएर काम गरिरहेको विषय । पछिल्लो समयमा यस्ता धेरै उजुरी प्रधानमन्त्री कार्यालयको महिला हिंसासम्बन्धी युनिटमा समेत दर्ता भएका छन् । एक–दुई गर्दा गर्दै धेरै यस किसिमका उजुरीहरू चारित्रिक प्रमाणपत्र दिनेहरूका विरूद्ध प्रधानमन्त्री कार्यालयमा लर्को लाग्नुले त्यहाँका अधिकारीहरूदेखि प्रधानमन्त्रीसमेत अच्चम्भित भएका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिला सञ्चारकर्मीहरूसँग फिल्मी क्षेत्रमा र सञ्चारमाध्यममा ग्ल्यामरका नाममा महिलाहरू पीडित भइरहेकाले यस विषयमा
गम्भीर भएर कदम चाल्ने पनि आश्वासन दिए ।
पुरुषलाई मात्र दोष नदिउँm, केही कमजोरी महिलाहरूमा पनि देखिएको छ । जसले आफ्नो क्षमता भन्दा पनि आफ्नो रूपको र चरित्र बखानको खेती गर्छन् । ग्ल्यामर, काम र टेलिभिजनहरूमा अनुहार देखाउनकै लागि भए पनि आफ्नो आत्मसमर्पण गर्छन् । त्यसको मारमा पर्छन् योग्य र कामकाजी महिलाहरू । सञ्चारमाध्यम सबैको आस्था, विश्वास र समाज परिवर्तनको संवाहक हो भन्ने कुरा निर्विवाद छ ।
पत्रकारिता एक किसिमको नशा पनि हो जुन छुटाउन चाहेर पनि छुट्दैन तर यहाँ पत्रकारिताका नाममा फोहोरी खेल खेल्नेहरूको पनि कमी छैन । पत्रकारिता क्षेत्रका केही भीष्मपितामहहरू पनि छन् जुन अहिले पत्रकारिता मिसन पत्रकारितामा लागेको कुरा गर्छन् । वास्तवमा सञ्चार–माध्यमभित्रको वातावरण महिलाका लागि सहज हुँदो हो त यसरी प्रधानमन्त्री कार्यालयसम्म सहकर्मीविरुद्ध उजुरीका थुप्रा सायदै लाग्थे ।
कसैले पीडित भएर उजुरी दिन गए पनि चारित्रिक प्रमाणपत्र दिनेहरू सलबलाउन थाल्छन् र उसलाई इज्जतको डर देखाई चुप लगाउने प्रयास पनि गर्छन् । आफूभन्दा योग्य, क्षमतावान् हुनेबित्तिकै महिलालाई कमजोर बनाउनका लागि नैतिक आचरणसँग जोड्ने परम्परा पुरानै भए पनि यो सञ्चार जगत्मा नराम्रोसँग मौलाएको छ ।
सञ्चारगृह र सम्बन्धित निकायको ध्यान यतातिर नजाने हो भने पत्रकारितामा महिलाको संख्या बढ्ने कुरामा शंका छ । चिया पसल र चोक चोकका गफले महिलालाई चारित्रिक प्रमाणपत्र दिनेहरूको मनोबल अझै उँचो हुनेछ । यस्ता चिया पसल र चोकमा गफ गरी चारित्रिक प्रमाणपत्र बनाउनुभन्दा सके राम्रो सुझाब दिएर सहयोग गरौँ नसके कसैको मनोबल गिराउने काम नगरियोस् । यो विषय उठाएकाले पनि केही समस्या झेल्नु त पर्ला नै तर कसैलाई रिझाउन वा कसैलाई बिझाउन यो पंक्तिकारले शब्द खर्चिंदैन । सवाल सञ्चारक्षेत्र चरित्रको हिसाबले रोगी नबनोस् भन्ने मात्रै हो ।

प्रतिक्रिया