गठबन्धन एक मधेस प्रदेशको विपक्षमाः मन्त्री न्यौपाने

काठमाडौं, १० भदौ । महिला बालबालिका तथा समाज कल्याण मन्त्री एवं चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका महासचिव बद्रीप्रसाद न्यौपानेले ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ ‘समग्र मधेस एक प्रदेश’ को विपक्षमा रहेको दाबी गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलनमा उनले ‘एक मधेस प्रदेश’ नहुने सहमति भएपछि आफ्नो पार्टी सत्तारुढ २१ दलहरुको गठबन्धनमा सहभागी भएको बताए । चुरे भावर पार्टी सो गठबन्धनमा सहभागी भएपछि चौतर्फी आलोचना भएको थियो ।
उनले पहिचान सहितको संघीयता आफूहरुलाई स्वीकार भए पनि भौगोलिक र सांस्कृतिक पहिचानको आधारमा संघीय राज्य हुनु पर्ने माग गरे ।
सत्तारुढ चुरे भावरले दोस्रो राष्ट्रिय महाधिवेशन–२०७० साल जेठ–२५, २६ र २७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
सरकारमा सहभागिताको विषयलाई लिएर चुरे भावरमा विवाद भएपछि अर्का महासचिव भूमिराज निरौला, शिवप्रसाद तामाङ, र श्याम श्रेष्ठलगायतले अलग महाधिवेशन घोषणा गरिसकेका छन् । चुरे भावर पनि आन्तरिक विषयलाई लिएर विभाजित भईसकेको छ ।

प्रतिक्रिया