राजस्व असुली २७ प्रतिशतले बढ्यो

काठमाडौ, १० भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व असुलीमा २७ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । ०६८ साउनमा १५ अर्ब १ करोड ३८ लाख राजस्व असुली भएकामा चालु आवको साउनमा १९ अर्ब १४ करोड ८० लाख राजस्व संकलन भएको अर्थसचिव कृष्णहरि बाँस्कोटाले बताए ।

राजस्व असुलीको वृद्धिदर उच्च रहनुमा अर्थ मन्त्रालय र मातहत निकायको अग्रसरता, राजस्व प्रशासनमा कार्यान्वयनमा रहेको सुधार र उद्योगी–व्यवसायकिो क्रियाशीलतामा भएको वृद्धि मुख्य रहेका छन् । बाँस्कोटाका अनुसार चालु आवमा पूर्ण आकारको बजेट जारी नभएकाले राजस्व असुलीको लक्ष्य तोकिएको छैन ।
आन्तरिक अनुशासनका लागि साउनमा गतवर्षको असुलीका तुलनामा १८ प्रतिशतले वृद्धि गरी १७ अर्ब ६९ करोड ५६ लाख ४१ हजार राजस्व असुली गर्ने लक्ष्य राखिएकामा लक्ष्यभन्दा एक अर्ब ४५ करोड २३ लाख ५९ हजार बढी राजस्व असुली भएको छ ।
गतआवमा ६ अर्ब ५९ करोड ७५ लाख ६९ हजार असुली भएको मूल्य अभिवृद्धि कर यो वर्ष साउनमा सात अर्ब ९३ करोड ७१ लाख ८२ हजार असुली भई वृद्धिदर २० दशमलव ३० प्रतिशत कायम भएको प्रारम्भिक अनुमान छ । यसैगरी भन्सार महसुलतर्फ गतआवका साउनमा दुई अर्ब ८८ करोड ८६ लाख ५० हजार असुली भएकामा यो वर्षको साउनमा तीन अर्ब ९४ करोड ४४ लाख २१ हजार असुली भई वृद्धिदर ३६ दशमलव ५५ प्रतिशत कायम भएको छ । आयकरतर्फ गतआवको साउनमा दुई अर्ब २६ करोड २३ लाख ६२ हजार असुली भएकामा यो वर्ष साउनमा तीन अर्ब ३० करोड ९० लाख १३ हजार असुली भई वृद्धिदर ४६.२६ प्रतिशत कायम भएको छ ।
अर्थसचिव बाँस्कोटाका अनुसार गत आवको साउनमा अन्त:शुल्कबापत दुई अर्ब ८ करोड ६९ हजार ४६ लाख असुली भएकामा यो वर्ष साउनमा दुई अर्ब ५० करोड २२ लाख ८७ हजार असुली भएको छ । यसैगरी सवारीसाधन कर र रजिस्ट्रेसन दस्तुरतर्फ गत आवको साउनमा ५८ करोड ८४ लाख ५४ हजार असुली भएकामा चालु आवको साउनमा ४.१४ प्रतिशतले घटी ५६ करोड ७० लाख ९७ हजार मात्रै संकलन भएको छ । यसले अझै पनि घर–जग्गा कारोबारमा अपेक्षित सुधार नआएको र नियमित रूपमा सवारीसाधन नवीकरण गर्ने प्रवृत्तिमा सुधार नआएकाले चेकजाँच बढाउनु पर्ने बाँस्कोटाले बताए । यसका अतिरिक्त गत आवको साउनमा ५८ करोड ९८ लाख १९ हजार गैरकर राजस्व असुली भएकामा यस वर्षको साउनमा ८९ करोड १० लाख असुली भई गतवर्षका तुलनामा वृद्धिदर ५१ दशमलव शून्य ६ प्रतिशत कामय भएको छ ।
राजस्व असुलीमा निरन्तर सरकारलाई सफलता हासिल हुनु भनेको अर्थतन्त्र सकारात्मक दिशामा उन्मुख रहेको संकेत देखिएको पनि बाँस्कोटाले बताए । मुलुकको समष्टिगत अर्थतन्त्रको विकासका लागि विद्यमान राजनीति गतिरोधको अन्त्य हुनुपर्ने, राजनीतिक दलबीच आर्थिक मुद्दामा न्यूनतम साझा समझदारी कायम गरिनुपर्ने, पूर्ण आकारको बजेट तत्कालै जारी हुनुपर्ने, मुलुकभित्र लगानीको वातावरण निर्माण गर्न थप प्रयास गर्नुपर्नेमा पनि उनले जोड दिएका छन । पुँजीबजारको विकास गर्नुपर्ने, घरजग्गाको कारोबारमा सुधार ल्याउनुपर्ने, दण्डहीनताको अवस्था अन्त्य गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

प्रतिक्रिया