“चीनसँग दसवटा परमाणु वारहेडवाहक क्षेप्यास्त्र”

वासिंटन : चीनले एकैपटक दसवटासम्म न्युक्लियर वारहेड (परमाणु मुखास्त्र) बोक्न सक्ने क्षमताको क्षेप्यास्त्र निर्माण गरेको अमेरिकी जासुसी निकायले जनाएको छ । अन्तरमहाद्वीपीय र पनडुब्बीबाट प्रहार गर्ने दुवैखालका क्षेप्यास्त्रमा चीनले यस्तो क्षमता हासिल गरेको अमेरिकी जासुसी निकायका अधिकारीलाई उद्धृत गर्दै अमेरिकी पत्रिकाले जनाएको छ ।
अमेरिकी दैनिक पत्रिका न्युयोर्क टाइम्सले चीनद्वारा निर्मित नयाँ क्षेप्यास्त्र प्रणालीमा यस्तो क्षमता रहेको उल्लेख गरेको छ । डोंगफेङ–४१ नाम गरेको लामो दूरीसम्म मार हान्न सक्ने क्षमताको क्षेप्यास्त्रले अमेरिकी भूमिलाई निसाना बनाउने मात्र होइन । अमेरिकाको क्षेप्यास्त्र प्रणालीमै क्षति पुर्‍याउन सक्ने समाचारमा जनाइएको छ ।
चीनले गत वर्ष डोंगफेङ–४१ को सफल परीक्षण गरेको थियो । चिनियाँ पत्रिका ‘ग्लोबल टाइम्स’ले समेत नवनिर्मित क्षेप्यास्त्रमा एकैपटक धेरैवटा ‘न्युक्लियर वारहेड’ राखी प्रहार गर्न सकिने क्षमता रहेको उल्लेख गरेको छ । डोंगफेङ–४१ को पछिल्लो संस्करणले १२ हजारदेखि १४ हजार किलोमिटरसम्मको दूरीमा मार हान्न सक्ने जनाइएको छ ।
अमेरिकी कंग्रेसका एक सदस्यलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ, ‘अमेरिका र पश्चिमी राष्ट्रले चीनको परमाणु शास्त्रगारको क्षमतालाई अवमूल्यन गरेका हुन सक्छन् ।’ पछिल्लो समाचार रिपोर्टअनुसार चीनसँग ५५ देखि ६५ वटा आइसिबिएम क्षेप्यास्त्र भएको देखिएको उनको भनाइ छ ।
अमेरिकी सैन्यविद्हरूले पछिल्ला केही सातायता चीनले पनडुब्बीबाट प्रहार गर्न मिल्ने विभिन्न क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेका छन् । चिनियाँ क्षेप्यास्त्रसँग अमेरिकी प्रतिरक्षा प्रणालीलाई अवरुद्ध गर्नसक्ने क्षमता भएको उनीहरूको भनाइ छ । चीनले १२ वटा क्षेप्यास्त्र रहने गरी दुईवटा पनडुब्बी तैनाथ गर्ने तयारी गरिरहेको न्युयोर्क टाइम्सले दाबी गरेको छ । (एजेन्सी)

प्रतिक्रिया