विक्रम फर्केन

‘मम्मी म स्कुलबाट फर्केपछि बालकथाको किताब किन्दिनु ल,’ फुच्चे विक्रम जुत्ताको तुना कस्दै आमा शारदासँग याचना गर्छ, ‘अनि पेन्सिल पनि ।’
‘पेन्सिल ? अस्ति किन्दिएको होइन ? खोइ त, फेरि हरायौ ?’ शारदा बिस्तारै झर्किन्छिन् । विक्रमको निर्दोष अनुहार देखेपछि मातृहृदय पग्लन्छ ।
‘हुन्छ बाबु हुन्छ, म तिमी स्कुलबाट फर्केपछि बालकथाको किताब र पेन्सिल दुवै किनिदिउँला । ल अब बाबु स्कुल जाने, हस् †’
‘पेन्सिल कटर पनि…’ विक्रम लाडिँदै गह्रुँगो झोला बोक्छ । ‘हुन्छ बाबु,’ शारदा छोराको सबै फर्माइसलाई ‘हुन्छ,’ ‘हस्’ भन्छिन् । उनी छोरालाई चन्द्रमाको टुक्रा सोच्छिन्– संसारकै सबैभन्दा सुन्दर र बहुमूल्य सम्पत्ति । ६ वर्षमा हिँड्दै गरेको विक्रम तीन कक्षा पढ्छ । सानै छ, चुलबुले छ र बेलाबेला निकै बुझक्कड पनि देखिन्छ ।
‘मम्मी स्कुल जान ढिला भइसक्यो,’ विक्रम आमाको फरिया तान्दै बाहिर निस्कने संकेत गर्छ । ‘पख न बाबा बेला हुँदै छ, ९ त भर्खर बज्दै छ, तिम्रो स्कुल बस नै आएको छैन,’ शारदा छोराको टाउको मुर्सादै म्वाइ खान्छिन् ।
हिजोअस्ति घाम चर्किने यो बेला आज सिमसिम पानी पर्दैछ । काला बादल यताउता दौडिरहेछन् । याम त गर्मीकै हो तर आज चिसो महसुस भइरहेको छ । ‘बाबु पख म तिमीलाई स्वेटर लाइदिन्छु, आज जाडो होलाजस्तो छ,’ उनी भित्र पस्छिन्, दराजबाट पहेँलो स्वेटर झिक्छिन् र विक्रमलाई लगाइदिन्छिन् । सुरुमा ‘स्वेटर लाउँदिनँ’ भन्दै रुन्चे अनुहार लगाएको विक्रम ममीले कर गरेपछि चुप लाग्यो ।
‘अँ, होमवर्क बाँकी छ कि सबै सक्यौ ?’ झोलामा किताब खोतल्दै शारदा सोध्छिन् ।
‘गरेँ, सबै सकिसकेँ,’ विक्रमको अनुहार उज्यालो भयो । खै किन हो, आज शारदामा छोराप्रति अरू दिनको भन्दा बेग्लै किसिमको माया पोखिन खोज्दै छ । उनी बेलाबेला छोराको टाउको मुसार्छिन् र गालामा म्वाइ खाइरहन्छिन् । किन आज छोरा उनलाई आँगनको गुलाबको फूलजस्तो लागिरहेछ ? उनलाई आज छोरा स्कुल पठाउन उति मन छैन । ‘तर, एकदिन भए पनि कक्षा के छुटाउनु,’ फेरि आफैँलाई प्रश्न गर्छिन् ।
‘पीँ पीँ पीँ…’ आमा–छोरा गेट नआइपुग्दै स्कुल बस आइपुग्यो । ‘मम्मी बस आयो,’ नीलो रंगको बस देखाउँदै विक्रम उप्रिँmदै रमाउँछ । बसभित्र साना नानीहरूका ठुल्ठूला आवाज मिसिन्छन् । बसभित्र सुन्दर चराहरू मीठो आवाजमा चिर्बिर चिर्बिर गरिरहेझैँ लाग्छ । विक्रम हुत्तिँदै बस चढ्छ । ‘बाबु बिस्तारै जाऊ, लडिन्छ…।’ बस हुइँकिन्छ । बसले एउटा घुम्ती पार गरिसक्दा पनि झ्यालमा बसेको प्यारो छोरालाई हात हल्लाइरहिन् शारदाले । विक्रम नफर्कुन्जेल घर शून्य हुन्छ । शारदाको कोठाछेउको आन्टीले हिजो भनेकी थिइन्– ‘दिदी, विक्रम एकछिन यहाँ नहुँदा घरै शून्य लाग्छ है †’ शारदाले उनको कुरामा स्वीकृति दिएर टाउको हल्लाएकी थिइन् । साह्रै अल्छीलाग्दो मन लिएर शारदा घरभित्र पस्छिन् ।
‘ओहो, आज नेपाली विषयको किताब यहीँ बिर्सेर गएछ, अब मिसले यसलाई गाली गर्ने भइन्,’ विक्रमको किताब टेबुलमाथि लडिरहेको देखेर शारदा बर्बराइन् । अचानक आँखा बस गएतिरै पुग्यो । सडक त रित्तो छ– धुलैधुलो, एक/दुई मोटरसाइकल र बसहरू गुडिरहेका ।
कसैले मूलढोकाबाट घन्टी बजाउँछ । एउटा ठिटो हताश र निराश भएर बोलाइरहेको छ– ‘शारदा दिदी, शारदा दिदी…।’ शारदा हत्तारिँदै बार्दलीबाट हेर्छिन् । ‘दिदी…विक्रम…स्कुल बस…नानीहरू,’ ठिटोबाट आवाज निस्किन सकेन । ऊ स्वाँ..स्वाँ गर्दै छ । ठिटोको रुवाइसहितको चर्को आवाज एक्कासि कानमा ठोक्किन्छ, ‘विक्रम चढेको स्कुल बस नहरमा खसेछ ।’ शारदाको छाती ढक्क फुल्छ । उनलाई चक्कर लाग्लाजस्तो, ढलुँलाजस्तो हुन्छ । विक्रमको आवाज चारैतिर फैलिएजस्तो लाग्छ । ‘बाबु, विक्रम, सानु, कालु…’ आँसु खसाल्दै उनी बर्बराउन थाल्छिन् । उनी त्यहीँ अचेत भएर ढल्छिन् ।
घरअगाडि फुलेको सयपत्री पनि राति परेको पानीले भुँइतिर लत्रेको छ । शोकमा डुबेको छ, विक्रमको घर । त्यसो त सारा गाउँ नै शोकमा डुबेझैँ लाग्छ । गाउँभरिका फक्रँदैका बीस जना फूल एकैपटक नहरमा डुबे । ‘बाबु, विक्रम…’ मधुरो आँखा देख्ने विक्रमकी हजुरआमाको आँसु रोकिएकै छैन । तीन दिनदेखि अचेतजस्तै रहेकी शारदाका आँखा ओभाएका छैनन् । उनी बेलाबेला के–के बोलिरहन्छिन् । भित्तामा टाँगिएको विक्रमको हाँसिरहेको निर्दोष फोटोले घरभित्र आउनेहरूको मुटु छियाछिया पार्छ । शारदाको कानमा विक्रमका यी शब्द गुन्जिरहन्छन्– ‘मम्मी म स्कुलबाट फर्केपछि बालकथाको किताब किन्दिनु ल ।’ विक्रमलाई बालकथाको किताब किनिदिने शारदाको वाचा कहिल्यै पूरा नहुने वाचा बन्यो ।
०००
‘आज पनि बस नहरमा खस्यो, तीस जनाको मृत्यु,’ बिहानै रेडियोबाट यो समाचार सुनेपछि विक्रमकी आमा शारदा पुराना दिनमा हराएकी थिइन् । माथि लेखिएको घटना चार वर्षअघिको हो, जो शारदाले सम्झेकी हुन् । आज शारदाको तीन वर्षको सानो छोरो छ । उनी बेलाबेला कसम खान्छिन्– यो छोरालाई आफैँ डोर्‍याउँदै स्कुल पुर्‍याउँछु, त्यस्तो जेलजस्तो डरलाग्दो स्कुल बसमा कहिल्यै पठाउँदिन । आज शारदा सानो छोरालाई ‘कपुरी क’ सिकाउँदा विक्रमलाई म्वाइ खाँदै ‘कपुरी क’ सिकाएको सम्झन्छिन् । त्यो यथार्थ खप्न नसकिने छ उनका लागि । खप्न बल गर्छिन्, आँखाबाट बरर खस्न थाल्छ, आँसु । अनि बोल्न थाल्छिन्, ‘आज विक्रम बाँचिरहेको भए १० वर्षको पुग्थ्यो ।’

प्रतिक्रिया