प्रधानाध्यापकद्वारा छात्रवृत्ति हिनामिना

धनकुटा, १० भदौ । बोधे–१ स्थित मछिन्द्रदेवी निम्नमाध्यमिक विद्यालयका प्रध्यानाध्यापकले छात्राका लागि आएको छात्रवृत्ति हिनामिना गरेका छन् ।

प्रधानाध्यापक डेढराज वनले छात्राका लागि प्राप्त छात्रवृत्तिमा अनियमितता गरेका हुन् । वनले प्रतिछात्रा चार सय रुपियाँमा भरपाई गराएर तीन सय रुपियाँ मात्रै दिएका हुन् ।
प्रत्येक वर्ष निमावि तहसम्मका छात्रालाई वार्षिक चार सय रुपियाँका दरले जिल्ला शिक्षा कार्यालयले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । अघिल्लो वर्ष विद्यालयले चार सय रुपियाँ उपलब्ध गराए पनि यस वर्ष चार सय रुपियाँमा भरपाई गराएर तीन सय रुपियाँ मात्रै उपलब्ध गराएको अभिभावक लेखमान राईले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर थापाले छात्रवृत्तिका लागि आएको रकम थोरै भएका कारण विद्यालय व्यावस्थापन समितिको बैठकले निर्णय गरेअनुसार चार सय दिने छात्रवृत्ति तीन सय रुपियाँ मात्रै दिएको भनेर गल्ती लुकाउने प्रयास गरेका थिए । उनले विद्यालयमा ८१ छात्रा रहेको र शिक्षा कार्यालय धनकुटामा गलत तथ्यांक रहँदा ६१ छात्राका लागि मात्र रकम निकासा भएकोले सबैलाई दामासाही बाँडिएको बताए । शिक्षा अधिकारी खडानन्द पराजुलीले छात्रावृत्ति हिनामिनाका विषयमा शिक्षा कार्यालयमा उजुरी आएको बताए ।

प्रतिक्रिया