डुंगा पल्टिँदा तीनको मृत्यु

रौतहट, १० भदौ । गमहरियाघाटको वाग्मती नदीमा डुंगा पल्टिँदा एक बालिकासहित तीन महिलाको मृत्यु भएको छ । डुंगामा सवार ३० भन्दा बढी यात्रु बेपत्ता छन् ।

मृत्यु हुनेमा गमहरिया पर्सा–६ लक्ष्मीपुरकी २० वर्षीया रजिया खातुन, २५ वर्षीया निसरथ खातुन, वडा नम्बर ७ की १३ वर्षीया अप्साना खातुन छन् । उनीहरूको शव फेलापरेको प्रहरीले जनाएको छ । उद्धार भएकामध्ये ३५ वर्षीया सैरा खातुन गम्भीर घाइते भएकीले गरुडामा उपचार भइरहेको एसपी ठूले राईले बताए । बेपत्ता रहेकाको संयुक्त सुरक्षाकर्मीद्वारा खोजी भइरहेको छ । वाग्मतीमा पानीको वेग तीव्र रहेकोले बेपत्ता व्यक्तिको शव दक्षिणतर्फ पुगेको हुन सक्ने अनुमानमा घटनास्थलदेखि सीमावर्ती क्षेत्रसम्म प्रहरी परिचालन गरिएको छ । डुंगाचालक सर्लाही मानपुरका रामजोधी सहनी र ओजिर सहनी फरार छन् ।
दुर्घटनामा परी ऐसा खातुन, सखिना खातुन, सुखनाज खातुन, आशा कुमारी, प्रतिमा पटेललगायत करिब ३० जनाभन्दा बढी बेपत्ता रहेको लक्ष्मीपुर गाउँका बासिन्दाले बताए । स्थानीय शेख जमशेदका अनुसार बालबालिका र महिला बढी डुंगामा सवार रहेको र उनीहरू नदी तर्न सक्ने अवस्था नरहँदा मृत्यु हुनेको संख्या बढी हुन सक्ने बताइएको छ ।
सर्लाही र रौतहटको सिमानामा रहेको नदीमा सञ्चालनमा रहेको डुंगामा सर्लाहीबाट घाँस लिएर फर्कंदै गरेका रौतहट गमहरिया पर्साका स्थानीय चढेका थिए । डुंगामा एकैपटक अत्यधिक संख्यामा यात्रु चढाएका कारण नदीको बीचमा पुग्दा सन्तुलन गुमेर डुबेको हो । १६ बालबालिका तथा अन्य यात्रुसहित डुंगामा ५० मानिस चढेका थिए भने एउटा मोटरसाइकल तथा तीनवटा साइकल पनि राखिएको थियो । डुंगा पल्टिएपछि करिब सात जना पौडिएर बाँच्न सफल भएका छन् । २० जना क्षमताको डुंगामा ५० भन्दा बढी यात्रु चढाएको प्रत्यक्षदर्शीले बताए । सर्लाहीको मानपुर घाटबाट यात्रु बोकेर रौतहटको लक्ष्मीपुरघाट आउँदै गरेको डुंगा अचानक दिउँसो १ बजेको समयमा डुबेको हो ।
एसपी राईले राति अबेरसम्म बेपत्ताको खोजीकार्य गरिने बताए । खोजीका लागि सर्लाहीका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । डुंगा डुब्दा आफ्नी आठवर्षीया भतिजी रसिदा खातुनलाई पिठयँुमा राखेर नदी तरेका लक्ष्मीपुरका जमिरुल्लाह कवारीले अत्यधिक भारका कारण डुंगा डुबेको बताए । कवारी घाँसको भारी समातेर घटनास्थलबाट चार किलोमिटर दक्षिणतर्फ गएर बाँच्न सफल भएका थिए ।

प्रतिक्रिया