लडेर एक जनाको मृत्यु, च्याउ खाँदा दुई विरामी

भदौ, ९ ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा डिलबाट लडेर एक जनाको मृत्यु भएको छ भने जंगली च्याउको तरकारी खाँदा दुई महिला विरामी परेका छन् ।
सदरमुकाम फुङ्लिङ बजारस्थित घर नजिकैको डिलबाट झरेर गएराति ५७ वर्षीय दलबहादुरको मृत्यु भएको हो । करिब १० फिट अग्लो डिलबाट खसेर सिमेन्टको धारमा ठोकिदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाईते उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै गरेर, मेहेले गाविसमा विषालु च्याउको तरकारी खाँदा २ महिला विरामी परेका छन् ।
विरामी पर्नेमा ६५ वर्षीया निर्मला कार्की र उनकी छोरी ३८ वर्षीया अप्सरा कार्की हुन् । सदरमुकामबाट डेढ दिनको पैदल दुरीमा रहेको मेहेले गाविसमा च्याउ खाएर उनीहरु विरामी परेपछि स्थानीय क्लिनकमा प्राथमिक उपचार गरिएको थियो ।
उनीहरुको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने तयारी भएको छ ।

प्रतिक्रिया