गौरी मेरो वियोग गाथा

बाल्यकाल र किशोरवय लमजुङको पुस्तुन बाहुनडाँडामा बिताएका र उर्वर युवावस्थादेखि राजधानीमा रमाएका राष्ट्रकवि माधवप्रसाद घिमिरे जीवित नेपाली स्रष्टाहरूमा सबैभन्दा अग्रस्थानमा छन् । उनका रचनामा देशभक्ति त पाइन्छ नै, नेपाली पहाडी संस्कृतिको स्वाद पनि पाइन्छ । उनका कविता प्राञ्जल नेपाली भाषामा रचिएका हुन्छन् र उनका गीतमा नेपाली संस्कृति मुखरित भएको हुन्छ । गौरी शोककाव्य उनका सर्वोत्कृष्ट कृतिमध्ये एक हो ।

हामी जीवन मात्रै भोग्छौँ, मृत्युबोध आफैँले गर्न सक्दैनौँ । मनमा बसेको मान्छे, उसको जीवन टुट्दा हृदयमा उत्पन्न कम्पन, सायद यही मृत्युबोध हो । ओच्छ्नमा सँगै सुतेकी गौरी, मध्यरातमा उनले संसार छोडिन्, मैले मृत्यु स्पर्श गरेँ । कलकलाउँदा दुई छोरी तोते बोलीमा आमा खोज्थे । म २८ वर्षे जवान, २२ की जहानले जीवन छोडिन् । भ्रमझैँ लाग्यो । कान्तिपुर सहरमा भाडामा लिएको सानो कोठाभन्दा बाहेक न केही आफ्ना थिए, न त कोही नै आफन्त । असार महिनाको त्यो निष्पट्ट मध्यरात, जीवनबाट गौरी चँुडिइन् । जीवन नै अँध्यारो भएझैँ लाग्यो ।
यताउता सहयोगमा एकैछिनअघिकी मेरी गौरीलाई ‘मुर्दानी’ बनाएर घाट लगियो । मनको प्रकम्पन, हातगोडा र शरीरमा त्यसको प्रतिविम्ब छ । गौरीले जीवन छाडेको विश्वास छैन, गौरीले चिम्लिएका आँखा देख्दा मेरै लागि चिम्लिएका झैँ लाग्थे । त्यो विम्ब मनबाट छुटेको थिएन । मन यसै भक्कानिन्थ्यो  । सङ्लो जीवन धमिलियो । गौरीले संसार छाडेपछिको सातौँ दिन, लाग्यो मनको भक्कानो शब्दमा बगाइदिऊँ, मन हलुका पारौँ । घाटमा उनका रसिला आँखाले अन्तिम विश्रान्ती लिएको झल्झली सम्झिएँ । अब त्यो स्मृति मात्रै हो । गौरी जीवनमा छैनन् । कवि हृदयले गौरीलाई शब्दमा जीवन दिन चाह्यो । मध्यरात थियो, उनले छाडेको समय जस्तै । सातौँ दिनको त्यो रातमा शान्ति र कान्तिलाई सुताएँ । सपनामा तिनीहरू आमासँगै खेलिरहेका थिए सायद । निद्राका छोरीहरूको मुहार हेरेँ, छोरीहरू निद्रामै मुस्कुराएको मैले पहिले पनि देखेको थिएँ । हातमा कापी कलम लिएर गौरीलाई शब्दमा उतारेँ ।
लीला माइतीका भूलेर घरका धन्दा तिमीले गर्‍यौ
आमाको ममता भूलेर कसरी माया मलाई गर्‍यौ
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ ।।
ििि
जीवन नदीजस्तै रहेछ । मूलमा सानो हुन्छ, खोलाहरूसँग सम्पर्क बढ्दै जाँदा नदी बढ्दै गएजस्तै । जीवन धमिलिने, सङ्लिने फेरि बगिरहने र फेरि धमिलिने, फेरि सङ्लिने, मृत्यबाट जीवन खोज्दै जाँदा काव्यको रचना गर्न पुगेँ म । जुन विवशतासँग मेरो जीवनले पनि पौँठेजोरी खेल्यो । जीवनबाट भाग्न सकिएन । अनि तीतो यथार्थलाई पनि घुटुक्क निलिदियो, अर्को मीठो अवस्थाको कल्पना गर्दै । २००४ साल असारमा प्रियसँग भएको विछोडले गौरी जन्मायो । जहाँ गौरी जीवित छिन् । लाग्छ, यी शब्दमा गौरीसँगै मेरो पनि जीवन छ । शोककाव्यको ध्येय थिएन, हिजो रोएँ, आज रोएँ, आफैँ रोएँ, रोएका छोरीहरूलाई फुल्याएँ । आँसुका अनगिन्ती फूलहरूको थुंगाको सम्मिश्रण गौरी हो । लाग्थ्यो, गौरी आसपासमै छिन् । अनि, मनभरि छड्किरहेको शोकलाई हृदयमा राखेर उमालेँ । त्यहीबेला रचना भयो हे
नारायण † के लेख्नु मैले पर्‍यो ।
पानी सिमसिम बर्सिएर सकियो असारको रातमा
निस्के झिम्झिम् ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा
फारी बादल शैलको शिखरमा तारा उदाइन् अब
आइ विष्णुमती पवित्र तटमा मेरी निदाइन् अब
सृष्टिको नियमले नै जीवनपछि मृत्यु निश्चित बनाएको छ । यथार्थ हो तर पनि आफ्नैअघि सत्य आइदिँदा जीवन नै बेस्वादिलो लाग्ने रहेछ । यो सांसारिक नियम हो, परेपछि नियम नै निष्ठुरी बनेको महसुस हुने रहेछ । संसार, दु:ख, मृत्यु फोस्रा कुरा लाग्थे । तर, आफूले आत्मसात् गर्नु परेपछि विश्व नै छिन्नभिन्न भएको आभास हुने रहेछ । नेपाली गृहिणीको जिम्मेवारी जुन मेरी जहानले पनि निभाएकी थिइन्, मैले कमाएको दुई पैसा जोगाइदिन्थिन् । अनि साँचोमुचो उनलाई सुम्पिँदा म जिम्मेवारी बाँडिएको महसुस गर्थें । सहरको त्यो सानो कोठा, एक्लोपनमा भित्तामा देखिने किरमिरे चित्रहरूमा उनकै तस्बिर, बत्तीले अँध्यारो छिचोल्दा पर्ने छायामा उनकै विम्ब, प्रेमको प्रगाढता थियो, सायद त्यो । आलो शोक घरीघरी बल्झिन्थ्यो । हुन त गौरी नहुँदाको शोक मेरो ९४ वर्षीय हृदयमा पनि उत्तिकै आलो छ, जति २८ वर्षको तन्नेरीमा थियो ।
कोठामा कसरी पसूँ, नजरकी शृंगार छैनौ तिमी
यत्रो शोक कहाँ कहूँ, हृदयकी आधार छैनौ तिमी
कोठामा अघि भर्खरैतक थियौ बोलिरहेकी तिमी
ए छैनौ कसरी भनूँ रु हृदयमा खेलिरहेकी तिमी
शोक र वियोग कति पीडादायी हुन्छ, भोग्नेले मात्रै बुझ्न सक्छ । गौरीसँगको वियोगपछि कोठाको अत्यासलाग्दो जीवनमा छोरीहरूलाई राख्न सकिनँ । पहाडघर लमजुङ पठाइदिएँ । जति पीडा भए पनि कान्तिपुरी नगरी बस्न बाध्य थिएँ । मेरो प्रेमवियोग, कलिला छोरी शान्ति र कान्तीको मातृवियोग अनि त्यसले जीवनमा छटपटी ल्याउँथ्यो । निर्भरता र सम्बन्धले शोकको मात्रा बढाउने रहेछ । मातृवियोगमा रहेका यी अवोधलाई सम्झिँदा अझ बढी छट्पटी महसुस हुन्थ्यो । गौरीको विछोडले विक्षिप्त म छोरीहरूले आमाबारे गर्ने प्रश्नले पीडाबोध गर्थे । म आफैँसँग जवाफ थिएन, उनीहरूलाई के जवाफ दिऊँ †
हेर्छन् बादलले हिमालगिरीमा– ‘गौरी कहाँ छन् ?’ भनी
सोध्छे शान्ति मलाई सानु मुखले– ‘आमा कहाँ छन् ?’ भनी
मैलाई पहिले म उत्तर दिऊँ– ‘मेरी कहाँ छौ ?’ भनी
हाम्रो भेट हुँदैन हो कि संगिनी धिक्कार † कैल्यै पनि ।
ििि
गौरी मेरो जीवनको पहिलो प्रेम अनि पहिलो वियोग पनि, जसले काव्यको रूप लियो । जीवनभर मैले धेरैलाई गुमाएँ । परिवार, आफन्त अनि आफ्ना साथीबाट पनि क्रमश: विछोडिँदै आएँ । सायद जीवनबोध यही हो, मजस्ता हरेक जीवित व्यक्तिले गर्छ । जीवित व्यक्तिले मात्रै जीवनबोध गर्न पाउँछ । यद्यपि, यसलाई भोग्ने रंगहरू फरक–फरक हुन्छन् । अहिले म जसरी बाँचेको छु, हाँसेरै बाँचेको छु ।
मानिस सधैँ उही जीवनगतिमा कुदिरहेको हुँदैन, उज्याला दिनमा मानिस आफ्ना जीवनका अँध्यारा दिनहरू बिर्सन्छ । तर, म मेरो जीवनको त्यो अँध्यारो जँघार बिर्सन सक्दिनँ, असारको त्यो अँध्यारो रात, गौरीसँगको वियोग, घाउ उकल्चिएर आउँछ । सायद काव्यको स्वाद यही होला । गौरी लेख्दै गर्दा हरेकपटक मैले लेखेका पान्नामा चुहिएका आँसु अहिले पनि उस्तै महसुस गर्छु । गौरीका हरफ पढेर अहिले मन भक्कानिन्छ, भक्कानो आँसु बनाएर बगिदिन्छ । त्यही प्रतिविम्ब पाठकले पनि पाउँछन् जस्तो लाग्छ । कृति रचना गर्दा आफ्ना भोगाइमा पारदर्शी हुन सक्नुपर्छ । तब, कृतिमा जीवन जन्मन्छ । दु:ख पर्छ, कठिनाई आउँछन्, सुखको आभास गराउँछ । अनि, आफूलाई जस्तै पाठकको हृदयलाई पनि दुखाउँछ, हँसाउन पनि सक्छ तब मात्र अमर कृतिको जन्म हुन सक्छ । गौरी त्यही कृति हो जसले प्रेम र मातृवियोगी नेपाली परिवारको प्रतिविम्ब बोकेको छ । गौरी काव्यमा मेरो कवि हृदय मात्रै बोलेको छैन । युवा अवस्थामा गौरीजस्तै पत्नी गुमाएका पति, बाल्यकालमा मातृवियोग खेपेका अबोध सन्तान अनि एउटा सिंगो परिवारको जीवन चक्र बोकेको छ । गौरीको बरखी सक्दा मैले एघार शीर्षकमा समेटिएको ‘गौरी’ शोककाव्य रचना गरेँ, जसले मेरी गौरी मात्रै होइन, मेरो पनि जीवन बोकेको छ ।

प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया