हात मिलाएर विश्व रेकर्ड

काठमाडौ, ९ भदौ । गत बुधबारदेखि निरन्तर हात मिलाइरहेका खोटाङका वीरेन्द्र राई र दाङका दिनेश आचार्यले ह्यान्डसेकको विश्व कीर्तिमान तोडेका छन् । उनीहरूले लगातार ५५ घन्टा ५ मिनेट ५ सकेन्डसम्म हात मिलाएर विश्व रेकर्ड तोडेका हुन् ।

तिलगंगास्थित होटल पालज्ञमा बुधबार १२ बजेर ४ मिनेट ५८ सेकेन्ड जाँदा सुरु गरिएको ‘ह्यान्डसेक’ राईको स्वास्थ्यस्थिति कमजोर भएपछि शुक्रबार बेलुकी ७  बजेर १० मिनेट ५ सेकेन्डमा रोकिएको हो । उनीहरूको  आगामी शनिबार ४ बजेर ४ मिनेट ५८ सेकेन्ड जाँदासम्म ह्यान्डसेक गर्ने लक्ष्य थियो । उनीहरूले ४२ घन्टा १२ मिनेट ९ सेकेन्डको समय पार गरे मात्रै पनि विश्व रेकर्ड तोडिने थियो । ४२ घन्टा १२ मिनेट ९ सेकेन्डको ह्यान्डसेक विश्व रेकर्ड नेपालकै पवन तिमल्सिना र दिनेश तिमल्सिनाको नाममा थियो । गिनिज बुक रेकर्डका लागि ह्यान्डसेक भिडियो रेकर्ड र प्रत्येक ४–४ घन्टाका लागि खटिएका दुई/दुईजना निर्णायकहरूले गरेको निर्णय पठाइने आयोजक राप्ती समाजका उपाध्यक्ष राजेश क्षत्रीले बताए । वल्ड रेकर्डका लागि उनीहरूले गिनिज बुक कार्यालयबाट ह्यान्डसेक वल्र्ड रेकर्डको अनुमतिपत्र लिइसकेका थिए ।

समापानमा बोल्दै दिनेश आचार्यले विश्व भाइचाराका लागि ह्यान्डसेकमा भाग लिएको बताए । भने, ‘नेपालमा भाइचारा, शान्ति र जातीय सद्भावका लागि पनि हामीले ह्यान्डसेक गरेका हौँ ।’ त्यस्तै सहभागी राईले पनि देशमा भाइचारा कायम गर्नका लागि ह्यान्डसेक गरेको दोहोर्‍याए । भने, ‘ह्यान्डसेक विश्व रेकर्डका लागि जुन कष्ट उठाएको छौँ, यसले नेता–प्रधानमन्त्रीको ध्यानाकर्षण हुनेछ भन्ने अपेक्षा लिएका छाँै ।’ उनीहरूले ह्यान्डसेकलाई खान र दिसा–पिसाब गर्दा पनि जारी राखेका थिए ।

प्रतिक्रिया