फोरमका मजदुर नेताको हत्या

वीरगन्ज, ९ भदौ । अपरिचित समूहले शुक्रबार दिउँसो वीरगन्जमा गोली हानी एक मजदुर नेताको हत्या गरेको छ । मधेसी जनअधिकार फोरम नेपालनिकट मधेसी कारखाना श्रमिक फोरमका महासचिव ३५ वर्षीय रामाशंकर मण्डलको वीरगन्जको मुर्लीचोकमा हत्या भएको हो ।

पर्साको लालपर्सा–१ का स्थायी बासिन्दा मण्डलमाथि मुर्लीचोकस्थित नेपाल कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालयमा रासायनिक मल लिन गएकाबेला अपरिचत समूहले गोली चलाएको थियो । कार्यालयबाट बाहिरिँदै गर्दा गेटैमा मोटरसाइकलमा आएका हतियारधारी समूहले उनलाई गोली हानेको थियो । कालो रङको भारतीय नम्बर प्लेटमा सवार दुई युवकमध्ये एकजनाले मन्डलमाथि गोली प्रहार गरेका थिए । गोली प्रहार गरी ती दुवै युवक मोटरसाइकलमै चढेर मेनरोड हुँदै घन्टाघरतर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् । केही स्थानीयले पक्रने प्रयास गरेपछि हतियारधारी युवकहरू पेस्तोल तेस्र्याउँदै भागेका थिए ।
छातीमा एक राउन्ड गोली लागेका मण्डलको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । हतियारधारी युवकले तीन राउन्ड गोली चलाएकामा एउटा गोली उनको छातीमा लागेको थियो । अस्पतालका चिकित्सक डाक्टर रामकिशोर सिंहका अनुसार मण्डलको दायाँ छातीमा एक राउन्ड गोली लागेको छ ।
मण्डलको हत्या कसले र किन गरेको हो भन्ने विषयमा केही खुल्न नसकेको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी दिवेश लोहनीले बताए । हत्याराको खोजीका लागि नगरका विभिन्न क्षेत्रमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको जानकारी डिएसपी लोहनीले दिए ।
‘शंकास्पद स्थानमा सादा पोसाकमा पनि केही प्रहरी खटाएका छौँ,’ लोहनीले सौर्यसँग भने, ‘ठाउँठाउँमा कडाइका साथ चेकजाँच पनि भइरहेको छ ।’
प्रहरीले मण्डल हत्यामा संलग्न रहेको आशंकामा सोधपुछका लागि १४ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरू अधिकांश भारतीय नम्बर प्लेटका मोटरसाइकल चालक रहेको प्रहरीले बताएको छ ।
‘प्रहरी नियन्त्रणमा रहेमध्ये दुईजनामाथि अलि बढी आशंका छ,’ लोहनीले भने, ‘सोधपुछ र अनुसन्धान जारी छ ।’
हत्याको विरोधमा शव जुलुस हत्याको विरोधमा फोरम नेपालले शुक्रबार दिउँसो वीरगन्जमा शव जुलुस निकालेको छ । नारायणी उपक्षेत्रीय अस्पतालबाट शवसहित निकालिएको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । जुलुसमा सहभागीले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।
नगर परिक्रमापछि फोरम नेपालले साँझ जिल्ला प्रशासन कार्यालयमा पुगेर सिडिओ शम्भु कोइरालालाई ज्ञापनपत्रसमेत बुझाएको छ । ज्ञापनपत्रमा तत्काल हत्यारा पत्तालगाई कारबाही गर्न, मृतक मण्डललाई राष्ट्रिय सहिद घोषणा गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । ज्ञापनपत्र बुझेपछि सिडिओ कोइरालाले माग पूरा गराउन भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

नाम भन्दा ज्यान खतरामा पर्छ
श्रीदयाल मण्डल, मृतकका काका
यसअघि फोनमार्फत भतिजालाई पटकपटक ज्यान मार्ने धम्की आउने गरेको थियो । भतिजाले आफूलाई आपराधिक व्यक्तिले फोन गरेर मार्ने धम्की दिने गरेको मलाई सुनाएका थिए । तर, म ती आपराधिक व्यक्तिको नाम भने बताउन सक्दिनँ, हामीलाई पनि ज्यानको खतरा छ ।

प्रतिक्रिया