नेपाल पुन: माल्दिभ्सद्वारा पराजित

नयाँदिल्ली, ८ भदौ । भारतमा जारी नेहरूकप फुटबल प्रतियोगितामा आफ्नो सहभागिता यात्रा नेपालले पराजयबाट सुरु गरेको छ । शुक्रबार नयाँदिल्लीस्थित जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा परम्परागत दक्षिण एसियाली प्रतिद्वन्द्वी माल्दिभ्ससँग नेपाल २–१ ले पराजित भयो । यसअघि पछिल्लो साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सबीच १–१ गोलको बराबरी भएको थियो । सन् १९९९ यता नेपाली टोलीले माल्दिभ्सविरुद्ध जित हासिल गर्न सकेको छैन । छैटौँ मिनेटमा अब्दुल्लाहको फ्रिकिक गोलमा अग्रता लिएको माल्दिभ्सका लागि इसाद इस्माइलले अर्को गोल गरे । विराज महर्जनले अनपेक्षित गल्ती गरेपछि प्राप्त फ्रिकिकमा अब्दुल्लाहले गोल गरेका थिए । उनको प्रहार रोक्न नेपाली गोलरक्षक रीतेश थापा असफल भएका थिए ।
पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका रूपेश केसीले मध्यभागमा बल फुत्काएपछि माल्दिभ्सका भेट्रान मिडफिल्डर अस्फाक अलीले बल पाएका थिए । उनले बल दिएपछि प्रत्याक्रमणमा इस्माइलले गोल गर्दै माल्दिभ्सलाई ७८औँ मिनेटमा दोस्रो गोलको अग्रता दिलाए । थपिएको चार मिनेट अतिरिक्त समयको दोस्रो मिनेटमा सन्तोष साहुखलको पासमा जुमानु राईले गोल गरेका थिए ।
ग्राह्म रोबर्ट्सको बिदाइपछि परम्परागत शैलीलाई नै पछयाएको नेपालले साँच्चै कमजोर प्रदर्शन गरेको थियो । भरत खवास फरवार्डको रूपमा खेलेपछि नेपाली मध्यपंक्ति कमजोर सावित भयो । सन्दीप राई मिडफिल्डमा खेलेपछि निराजन खड्काले पहिलो खेलमा मैदानमा उत्रने अवसर नै पाएनन् । पहिलो हाफमा नेपालले केही राम्रो आक्रमण गरे पनि विजय गुरुङ, सन्दीप राई र साहुखलको समन्वय मिल्न नसकेपछि ती सबै प्रयास खेर गएका थिए । लामो समयपछि पहिलो रोजाइमा खेल्ने अवसर पाएका गोलरक्षक रीतेशले बारम्बार गल्ती गरेका थिए । ३६औँ मिनेटमा राजु तामाङ बाहिरिएपछि रूपेशले पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभव गरेका थिए । पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा विजय गुरुङले एउटा राम्रो मौका गुमाएका थिए ।
पछिल्लो वर्ष कमजोर खेलका बाबजुद राष्ट्रिय टोलीमा अवसर पाइरहेका सन्तोषले बिहीबारको खेलमा पनि दुई राम्रा अवसर गुमाए । स्थानापन्न खेलाडीको रूपमा मैदान प्रवेश गरेका जुमानुले पनि एउटा राम्रो अवसर खेर फाले । ७५औँ मिनेटमा भरतको राम्रो पासलाई रूपेशले बाहिर हान्दै खेर फाले ।
यसअघि बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले सिरियालाई २–१ ले पराजित गर्‍यो । भारतका लागि कप्तान सुनील क्षेत्री र एन्थोनी परेराले गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा क्लिफोर्ड मिरान्डाको क्रसमा सुनीलले सानदार हेड गर्दै गोल गरेका थिए । ८३औँ मिनेटमा परेराले क्लिन फिनिसिङ गर्दै भारतको जित निश्चित पारेका थिए । उनी ७०औँ मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए । सिरियाका लागि ९०औँ मिनेटमा अल सब्लीले हेडगोल गर्दै गोलअन्तर कम पारे । वर्षाले प्रभावित बनेपछि पहिलो हाफको पाँच मिनेट खेल रोकिएको थियो ।

प्रतिक्रिया