पुजाराको ‘मेडन’ शतकपछि भारत बलियो

हैदराबाद, ८  भदौ । चौथो टेस्ट खेलिरहेका चेतेश्वर पुजाराले टेस्टजीवनको पहिलो शतक बनाएपछि भारतले न्युजिल्यान्डविरुद्धको दुई टेस्ट म्याचको शृंखलाअन्तर्गत पहिलोमा बिहीबार बलियो सुरुआत गरेको छ । पुजाराको अविजित ११९ रनको मद्दतमा भारतले पहिलो दिनको खेल सकिँदा पाँच विकेट गुमाउँदै ३०७ रन जोडेको छ । भारतीय कप्तान महेन्द्रसिंह धोनी २९ रनमा अविजित छन् ।
भारतीय इनिङमा वीरेन्द्र सहवागले ४७, गौतम गम्भीरले २२, सचिन तेन्दुलकरले १९, विराट कोहलीले ५८ र सुरेश रैनाले तीन रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई तथा क्रिस मार्टिन, डग ब्रेसवेल, जितन पटेलले समान एक–एक विकेट लिए । पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरी भारतले सामान्य सुरुआत गरेको थियो ।
पहिलो विकेटका रूपमा गम्भीर बोल्टको बलमा विकेटपछाडि क्याचआउट भएका थिए । सहवाग र सचिन आउट भएपछि भारत १२५–३ को स्थितिमा थियो । तर तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पुजाराले चौथो विकेटका लागि कोहलीसँग १२५ रनको साझेदारी गरेका थिए । कोहली मार्टिनको बलमा मार्टिन गप्तिलबाट क्याचआउट भएका थिए । रैना सस्तैमा पेवेलियन फर्किएपछि भारत २६०–५ को स्थितिमा पुगेको थियो । पुजारा र धोनीले छैटौँ विकेटका लागि अविजित ४७ रनको साझेदारी गरिसकेका छन् । सानदार इनिङ खेल्ने क्रममा दायाँहाते ब्याट्सम्यान पुजाराले २२६ बलको सामना गर्दै १५ चौका र एक छक्का प्रहार गरेका छन् । खेल करियरको चौथो टेस्ट म्याच खेल्ने क्रममा पुजाराको यो पहिलो टेस्ट शतक हो । यसअघि २४ वर्षीय पुजाराले एक अर्धशतक बनाएका थिए । सन् २०१० मा बंगलोरमा अस्ट्रेलियाविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका पुजारा करिब डेढ वर्षपछि टेस्ट क्रिकेटमा फर्किएका हुन् । उनले अन्तिमपटक सन् २०११ को जनवरीमा केपटाउनमा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेलेका थिए । पछिल्लो समय राम्रो लयमा रहेका कोहलीले १०७ बलको सामना गर्दै आठ चौका प्रहार गरे । ब्रेसवेलको बलमा गप्तिलबाट समातिएपछि सहवाग अर्धशतक बनाउनबाट चुकेका थिए ।

प्रतिक्रिया