मर्ज भएका वित्तीय संस्थाको नाफा घट्यो

काठमाडौं, ८ भदौ । मर्ज भएका बैंक तथा वित्तीय संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरण निराशाजनक रहेको छ ।
बैकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले वित्तीय संस्था धेरै भएर अनुगमन तथा सुपरीवेक्षणमा समेत अप्ठेरो स्थिति आएपछि मर्जर नियमावली ल्याएर बैंक तथा वित्तीय संस्था गाभिन प्रोत्साहन गरेको हो ।
सोहीबमोजिम हालसम्म करिब आठवटा बैंक तथा वित्तीय संस्था मर्जरमा गएका छन् । सहरी एवं अर्धसहरी क्षेत्रमा केन्द्रित बैंक तथा वित्तीय संस्थाबीच अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसाय बढ्न नसकेपछि मर्जरमा जाने क्रम पनि बढेको छ ।
गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार अधिकांश मर्जरमा गएका वित्तीय संस्थाले प्रस्तुत गरेको वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षभन्दा खुद नाफा घटेको छ भने खराब कर्जा बढेको देखिन्छ ।
मर्जर विनियमावली नआउँदै आपसमा गाभिएको नारायणी नेसनल फाइनान्सको खुद नाफा आर्थिक वर्ष ०६८/६९ मा अघिल्लो वर्षको तुलनामा एक करोड ७० लाख ६७ हजार रुपियाँले घटेर ६ करोड ५८ लाख ८८ हजार रुपियाँमा सीमित भएको छ । कम्पनीले आव ०६७/६८ मा आठ करोड २९ लाख ५५ हजार नाफा आर्जन गरेको थियो । फाइनान्सले गत आवको नाफाबाट करिब १८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । मर्जरको उपलब्धि स्वरूप फाइनान्सले कर्मचारी खर्चमा केही कटौती गरे पनि खराब कर्जामा भने वृद्धि भएको छ ।
अघिल्लो वर्ष एक दशमलव शून्य सात रहेको खराब कर्जा गत आर्थिक वर्षमा बढेर दुई दशमलव ९७ प्रतिशतमा पुगेको छ । नारायणी नेसनल फाइनान्सको मर्जरमा अहं भूमिका खेलेका नेपाल वित्त कम्पनी संघका अध्यक्ष एवं सिएमबी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रमान शाक्य बताउँछन् । मर्ज हुँदैमा नाटकीय रूपमा खर्च घट्ने एवं नाफा बढ्न नसक्ने उनको भनाइ छ । ‘मर्ज भएर सञ्चालनमा आएको एक दुई वर्षसम्म कर्मचारी व्यवस्थापनमा खर्च बढ्नुपर्ने एवं संस्थाको ब्रान्डिङ गर्न विज्ञापनमा समेत ठूलो रकम खर्च गर्नुपर्ने हुँदा तत्काल फाइदामा नजान पनि सक्छ,’ उनले भने ।
मर्जपछि कर्मचारी खर्च घट्ने भनिए पनि सञ्चालक समिति सदस्य घट्ने हुँदा तिनीहरूले लिने बैठक भत्ता घट्ने एवं प्रमुख कार्यकारी अधिकृत एकजना मात्र भए पुग्ने हुँदा सोबापतको तलब मात्र घट्छ । दुई संस्था मर्ज भएपछि कर्मचारी व्यवस्थापन गर्दा एउटै तहमा कार्यरत दुई फरक कर्मचारीको तलब समान बनाउन बढी खाने कर्मचारीसरह नै तलब बढाउनुपर्ने हुन्छ । मर्जर भएर सञ्चालित भएपछि संस्थाको निक्षेप र कर्जा आधार दुवै बढ्छ । तर, पछिल्लो दुई–तीन वर्षदेखि वित्तीय क्षेत्रमा छाएको निराशाका कारणले मात्र मर्जर भएका संस्थाको पनि प्रदर्शन फितलो भएको उनले बताए । ‘मर्ज भएकै कारण संस्थाको प्रदर्शन फितलो देखिएको होइन,’ उनले भने । सैद्धान्तिक रूपमा दुई संस्था एक आपसमा गाभिँदा सिनर्जी असर देखिनुपर्ने मान्यता छ ।
पोखराको हिमचुली विकास बैंक र वीरगन्जस्थित वीरगन्ज फाइनान्स मर्ज भएर बनेको एच एन्ड बी डेभलपमेन्ट बैंकले पनि गत आवमा अघिल्लो वर्षको तुलनामा कम नाफा गरेको छ । बैंकको नाफामा ५७ प्रतिशतले गिरावट आएर पाँच करोड १५ लाख रुपियाँ मात्र पुगेको छ । बैंकले सेयरधनीलाई गत आवमा ६ दशमलव ७० प्रतिशत नगद लाभांश दिएको थियो । बैंकको खराब कर्जा अघिल्लो वर्ष शून्य दशमलव ९२ प्रतिशत रहेकोमा गत आवमा दुई दशमलव ७९ प्रतिशत पुगेको छ ।
स्वस्तिक मर्चेन्ट फाइनान्सलाई आफूमा गाभेर राष्ट्रिय स्तरको विकास बैंक बनेको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको मुनाफा पनि गत वर्ष ५६ प्रतिशतले नै घटेर दुई करोड १६ लाख रुपियाँ पुगेको छ । बैंकको खराब कर्जा दुई दशमलव १७ प्रतिशतबाट दुई दशमलव ८१ प्रतिशत पुगेको छ । सूर्यदर्शन फाइनान्स अन्नपूर्ण विकास बैंकमा गाभिएर बनेको सुप्रिम डेभलपमेन्ट बैंकको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा गत आवमा ६२ प्रतिशतले घटी तीन करोड ५७ लाखमा सीमित भएको छ । बैंकको खराब कर्जा प्रतिशत राष्ट्र बैंकको सीमाभन्दा पनि बढी पुगेको छ । अघिल्लो वर्ष एक दशमलव १८ प्रतिशत रहेको बैंकको खराब कर्जा एकाएक बढेर आठ दशमलव ६३ प्रतिशत पुगेको छ ।
बिजनेस डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्स मर्ज भएर बनेको बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको मुनाफा पनि अघिल्लो वर्षको तुलनामा घटेको छ । बैंकको खुद मुनाफा अघिल्लो वर्ष ११ करोड ८० लाख रुपियाँ रहेकामा गत आवमा नौ करोड ४८ लाख रुपियाँमा सीमित हुनपुगेको छ । बैंकको खराब कर्जा पनि शून्य दशमलव ४१ रहेकोमा बढेर एक दशमलव ३८ बिन्दुमा पुगेको छ ।
मर्जरमै गएका केही ठूला वित्तीय संस्थाको स्थिति भने अघिल्लो वर्षभन्दा राम्रो देखिएको छ । शिखर फाइनान्सलाई आफूमा गाभेर सञ्चालनमा आएको काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफामा करिब ६२ प्रतिशतले वृद्धि देखिएको छ । बैंकले आव ०६७/६८ मा दुई करोड नौ लाख रुपियाँ खुद मुनाफा गरेकोमा गत वर्ष ०६८/६९ मा यो बढेर तीन करोड ३८ लाख रुपियाँ पुगेको छ । तर, बैंकको खराब कर्जामा भने केही वृद्धि भएको छ ।
एभ्को इन्टरनेसनलसँग सम्बन्धित ऋण खराब ऋणमा परिणत भएपछि समस्यामा परेको माछापुच्छ्रे बैंकले स्ट्यान्डर्ड फाइनान्सलाई आफूमा गाभेर आफ्नो वित्तीय स्थितिमा सुधार गरेका छन् । बैंकको अघिल्लो आवमा खराब कर्जा चार दशमलव १७ प्रतिशत रहेकामा यसलाई घटाएर गत आवमा दुई दशमलव ४९ प्रतिशतमा सीमित पारेका छन् । बैंकको मुनाफामा पनि अघिल्लो वर्षको तुलनामा केही वृद्धि देखिएको छ । आव ०६७/६८ मा आठ करोड ९२ लाख रुपियाँ खुद मुनाफा गरेको बैंकले गत आव ०६८/६९ मा भने १० करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको छ ।
त्यसैगरी, दुईवटा ‘ग’ वर्गका वित्तीय संस्थाहरू लर्ड बुद्ध फाइनान्सियल इन्स्टिच्युसन र आइएमई फाइनान्सियल इन्स्टिच्युसनलाई ग्लोबल बैंकमा गाभेर बनेको ग्लोबल आइएमई बैंकको खुद नाफा पनि केही वृद्धि देखिएको छ । बैंकले अघिल्लो वर्ष २२ करोड ४९ लाख रुपियाँ खुद मुनाफा गरेकोमा यस वर्ष सो रकम बढेर ३५ करोड ३० लाख रुपियाँ पुगेको छ । यद्यपि, बैंकको खराब कर्जामा भने केही वृद्धि भएको छ । बैंकले तीन दशमलव २७ प्रतिशत रहेको खराब कर्जा मर्जरपछि चार दशमलव १६ प्रतिशत पुगेको छ ।

 

प्रतिक्रिया