वृद्धमा एचआइभी संक्रमण बढ्दो

बेइजिङ : साठी वर्ष वा सोभन्दा बढी उमेर समूहका चिनियाँ पुरुषमा एचआइभी एड्सको संक्रमण बढिरहेको चिनियाँ पत्रिका ‘चाइना डेली’ले बिहीबार जनाएको छ । चीनमा वेश्यावृत्ति बढेसँगै एचआइभी संक्रमित वृद्धको संख्या बढेको पत्रिकाले जनाएको छ ।
सन् २००५ मा गरिएको सर्वेक्षणमा ६० वर्ष र सोभन्दा बढी उमेरका थप तीन सय ८३ चिनियाँ नागरिकमा एचआइभी संक्रमण भेटिएको थियो । त्यसपछिका वर्षमा सो उमेर समूहका मानिसमा एड्सको संक्रमण दर बढेको देखिएको थियो । सन् २००५ मा साठी वर्ष र सोभन्दा बढी उमेर समूहका नागरिकमा संक्रमण दर २.२ प्रतिशत रहेको थियो । सन् २०१० मा गरिएको अर्को सर्वेक्षणले तीन हजार तीन सय ३१ नागरिकमा संक्रमण बढेको पत्ता लगाएको थियो ।
सन् २००५ को तुलनामा २०१० मा नौ प्रतिशतले संक्रमण लाग्ने व्यक्तिको संख्यामा वृद्धि भएको पाइएको ‘चाइना डेली’मा उल्लेख छ । यो उमेर समूहका चिनियाँ नागरिक वेश्यावृत्तिमा संलग्न हुने क्रम बढेपछि संक्रमण दर बढेको समाचारमा जनाइएको छ । एचआइभी एड्स नियन्त्रण केन्द्रका अनुसार आर्थिक प्रगति र चिनियाँ वृद्धहरूको यौन चाहनाका कारण संक्रमण दर
बढेको हो । (सिन्ह्वा)

प्रतिक्रिया