अनलाइनमै एभ्रिथिङ !

कलंकीका २३ वर्षीय नीरज पन्थीले सानो उमेरदेखि नै कम्प्युटर चलाउन सिके । समय फेरियो, इन्टरनेटको जमाना आयो । सधैँ कम्प्युटरको स्क्रिनअगाडि हुने उनलाई किताब र कागजमा घोत्लिँदा के चित्त बुझ्थ्यो र † तयारी गर्नुपर्नेछ, लोकसेवा आयोग परीक्षाको । लाग्न सक्छ,  ‘किताब नपढी सुख ?’ तर उनी त निर्धक्कसँग भनिरहेका छन्, ‘अनलाइनबाटै लोकसेवाको तयारी गरिरहेको छु, लोकसेवा गाइड डटकम छँदै छ नि ।’
पछिल्लो पुस्ता इन्टरनेटसित एकाकार भएको छ । कम्प्युटरको स्क्रिनमै उसले संसार देख्छ, संसार पढ्छ, करियर बनाउँछ अनि रमाइलो गर्छ । यति त सामान्य नै भयो । अहिले विकसित राष्ट्रमा उच्च अभ्यास भइरहेको ‘अनलाइन सपिङ कल्चर’ मा रमाउन खोजिरहेको छ नयाँ पुस्ता, त्यो पनि आफ्नै देशमा । अनलाइनमा बसेर नै परीक्षाको तयारी गर्नेदेखि कुनै पनि सामान रोजेर त्यसलाई आफ्नै घरमा झिकाउने कामसम्म गर्न उनीहरू लालायित देखिन्छन् । खास गरी इन्टरनेटमा पहुँच हुने सहरबजारमा यस्तो सुविधा प्रदान गर्न पनि विभिन्न कम्पनी लागिपरेका देखिन्छन् ।
सरकारी जागिर खान खोज्नेका लागि भनेर ल्याइएको लोकसेवा डटकम त्यस्तै एक अनलाइन सेवा हो, जसले परीक्षार्थीलाई घरमै राखेर पढाउँछ । केही समयअघि मात्र मुलुकभरबाट लगभग एक हजार जना नासु मागिएकामा त्यसमा दरखास्त दिनेको संख्या ७९ हजार नाघयो । यो तथ्यांकले सरकारी जागिर खान खोज्नेहरूको बढ्दो ग्राफ झल्काउँछ । त्यसो त कुल परीक्षार्थीमध्ये अधिकांश नयाँ पुस्ताका हुन्छन् । ‘अनलाइन कल्चर’ मा हुर्केका उनीहरूका लागि अनलाइन कोर्स प्रभावकारी हुने बताउँछन् लोकसेवा गाइड डटकमका स्रोतव्यक्ति यदु नेपाल । लोकसेवा गाइड डटकमबाट परीक्षाको तयारी गरिरहेकामध्ये प्राय: नयाँ पुस्ताकै मानिस रहेको बताउँछन् सो वेबसाइटका प्रमुख इन्जिनियर मणिहर्ष वज्राचार्य । ‘हामीकहाँ हालसम्म चार सय ९३ जना मानिसले अनलाइनबाट पैसा तिरेर विभिन्न कोर्स पढिरहेका छन्’, वज्राचार्यले बताए । वेबसाइटमा नयाँ अपडेट गर्दै गरेका उनले थपे, ‘हाम्रा भिजिटर धेरै छन्, सबैले फ्रिमै पढ्न पाउने केही कुरा त राखिएकै हुन्छ, प्याकेजमै पढ्न चाहनेले हामीले तोकेका बैंकमा गएर पैसा तिर्छन् अनि वेबसाइटको युजर नेम र पासवर्ड पाउँछन् ।’
अनलाइनमा पढ्दापढ्दै, रमाइलो गर्दागर्दा भोक पनि लाग्न सक्छ । तपाईंको भोक पूरा गरिदने जिम्मा पनि अनलाइनले नै लिएको छ । मात्र तपाईंले फुडम्यान्डु डटकम लग–इन गर्नुपर्ने हुन्छ । तपाईंको कम्प्युटर स्क्रिनमा काठमाडौंका नाम चलेका विभिन्न रेस्टुरेन्ट र त्यहाँ बन्ने विभिन्न परिकारहरू नाच्न थालिहाल्छ । ‘घरका सबै जना आ–आफ्नै काममा व्यस्त भएपछि खाना त अर्डर गर्नैपर्‍यो नि,’ सोल्टीमोडकी २१ वर्षीय मिनीषा शर्माले भनिन् । त्यसो त उनीजस्तै फुडम्यान्डुबाट खाना/खाजा अनलाइनबाटै अर्डर गर्ने धेरै छन् । धुम्बाराहीका निशान्त कार्की आफ्नो कार्यालयको क्यान्टिनको खाजाबाट उति सन्तुष्ट हुन सक्दैनन् । ‘फुडम्यान्डु छँदै छ नि, अस्ति भर्खर पनि अनलाइनबाट क्लिक गरेको एक घन्टा नबित्दै पिज्जा अफिसको टेबलमै आएको थियो,’ उनले सुनाए । कीर्तिपुरका ज्ञानमान महर्जन पनि आफ्ना विदेशी कर्मचारीहरूले अनलाइनबाट नै खानेकुराको अर्डर गर्ने गरेको बताउँछन् ।
खानेकुरा खाने सन्दर्भमा कुनै बेला आफूले भोगेको झन्झट अरूलाई पनि परेको ठान्दै फुडम्यान्डुको ‘आइडिया’ आएको बताउँछन् त्यसका कार्यकारी प्रमुख मनोहर अधिकारी । ‘आफूले खोजेजस्तै रेस्टुरेन्टबाट रोजेजस्तै खानेकुरा खाने इच्छा पूर्ति गर्न डेढ वर्षअघि यसको स्थापना गरिएको हो’, उनले बताए । विदेशको जस्तै अनलाइन कल्चरको पूर्ण विकास नभए पनि फुडम्यान्डुसँग धेरै ग्राहक सन्तुष्ट रहेको बताउँछन् उनी । व्यस्त दैनिकीमा मानिसलाई खोजेको र रोजेको ठाउँमा गएर खाजा खाने फुर्सद कमै होला । ‘त्यसैले अनलाइनमार्फत अर्डर गरेर घरमै परिवारसँग तात्तातो खान पाइन्छ भने किन दसतिर भौँतारिनु ?’ मिनीषाले उत्साहित हुँदै भनिन् ।
एकाबिहानै हाई काढ्दै फ्रेस मासु किन्न मासुपसलतिर धाउने झन्झट बेहोर्नु नपरोस् भनेर नेपालमै पहिलोपटक अनलाइन मासु पसल पनि खोलिएको छ । अचानो डटकममार्फत राजधानीमा बस्ने जोसुकैले पनि मासु अर्डर गर्न सक्छन् । कपनमा रहेको अचानो मिटल्यान्डले आफ्नो पसलबाट मासु प्रत्यक्ष त बेच्छ नै, अनलाइनबाट अर्डर गर्नेको घरघरसम्म पनि पुर्‍याइएको हुन्छ । ‘अरूभन्दा केही फरक गरौँ भन्ने हेतुले हामीले अनलाइनमा ध्यान दिएका हौँ,’ व्यवस्थापकमध्येका एक अशोक अधिकारीले बताए । ‘अचेल दैनिक तीनदेखि चार जनासम्म ग्राहकले अनलाइनबाटै मासु अर्डर गरिरहेका हुन्छन्,’ उनले भने । मासु मगाउनेमा अधिकांश नयाँ पुस्ता नै पर्छ, जो अनलाइनमा बढी रमाउँछ । त्यसो त अनलाइनबाट मासु अर्डर गर्नेमा समाजका प्रतिष्ठित व्यक्ति पनि रहेछन् । संविधानविद् डा. भीमार्जुन आचार्य, डा. भगवान कोइरालादेखि गायिका ज्ञानु राणाले सम्म अनलाइनबाट मासु अर्डर गरेको बताउँछन् व्यवस्थापकहरू । ‘हामीकहाँ स्वच्छ तबरले मासु उत्पादन गर्नेदेखि अस्ट्रिच र खरायोको मासुसम्म पनि पाइन्छ, जसको मूल्यसूची पनि अनलाइनबाट नै उपभोक्ताले थाहा पाउँछन्,’ अधिकारीले बताए ।
यीबाहेक अरू थुप्रै अनलाइन पनि अहिले ग्राहकसँग सिधै सम्पर्कमा रहन खोज्छन् । अनलाइन सपिङको कल्चर नेपालमा पनि बिस्तारै बढ्दै गएको व्यवसायीहरू बताउँछन् । प्रविधिसँगको सम्बन्धमा सुमधुरता ल्याउन खोज्ने नयाँ पुस्ता यसमा विशेष चासो राख्छ । अझ हातमा रहेको आइफोनको ‘इ–मनी’ बाट नै ऊ आफ्नो बाइकमा तेल हाल्ने, डेटिङ खर्च चलाउनेदेखि मन लागेका पुस्तक इन्टरनेटबाटै पैसा तिरेर पढ्न खोज्छ । यसलाई ध्यान दिँदै केही समयदेखि नेपाली इन्टरनेट आकाशमा मुन्छ डटकम, नेपवे डटकम, हरिलो डटकम, भाटभटेनी अनलाइन डटकम, रोजेको डटकमलगायतका वेबसाइट सक्रिय छन् ।
सन् १९९० मा टिम ब्रेनर्सले विश्वमा वल्र्डवाइड वेभ सर्भर (डब्लुडब्लुडब्लु) सिर्जना गरेको केही वर्षपछि अर्थात् सन्  १९९४ मा नै अनलाइन सपिङको सुरुआत भएको थियो । त्यस बेला इ–बैंकिङदेखि पिज्जा हटको अनलाइन पिज्जा सप खुलेको थियो । यसबीचमा विश्वले अनलाइन सपमा ठूलै फड्को मारेको छ । इ–बैंकिङमार्फत संसारको एउटा कुनाबाट अर्को जुनसुकै कुनाको सामान किनबेच गर्न सकिन्छ । यसबीच पछिल्लो समयमा नेपालमा खुलेका अनलाइन सेवा दिने विभिन्न कम्पनी एवं संस्थाहरू बजारमा परिचित हुने होडबाजीमा छन् । तीमध्ये कतिपय अनलाइनले भने राजधानी या सीमित सहरलाई मात्र कार्यक्षेत्र बनाएका छन् ।  सहर बजारलाई मात्र कार्यक्षेत्र बनाए पनि त्यस्ता कम्पनी एवं संस्थाले ‘अनलाइन कल्चर’ को विकासमा खास योगदान भने दिएकै छन् ।

प्रतिक्रिया