नागरिकताका लागि सर्वोच्चमा

काठमाडौं, ८ भदौ । तीन वर्षसम्म पनि नागरिकता नपाएपछि मकवानपुर हेटांैडाकी एक महिला न्यायको खोजीमा सर्वोच्च अदालत पुगेकी छन् । मकवानपुरको हेटौंडा नगरपालिका–१० निहुरिनीकी ३४ वर्षीया सुकुमाया लामा नागरिकताका लागि सर्वोच्चको ढोका ढकढक्याउन पुगेकी हुन् ।
प्रशासनले कानुनी कारण देखाउँदै तीन वर्षसम्म नागरिकता नपाएपछि बिहीबार सर्वोच्चमा रिट हालेकी छन् । महिला, कानुन र विकास मञ्चका तर्फबाट अधिवक्ता सविन श्रेठ, रीना पाठक र सजनी केसीले लामाको तर्फबाट बिहीबार सर्वोच्चमा रिट हालेका छन् । लामो समयदेखि भारतमा सर्कसमा काम गर्दै आएकी सुकुमायाले भारतीय नागरिकसँग बिहे गरेकी थिइन् । पतिको मृत्युपछि दुई बच्चासहित नेपाल आएकी उनले तीन वर्षयता नेपाली नागरिकता पाउन संघर्ष झेलिरहेकी छन् । आमाबुबा दुवै नेपाली भएका लामाले भारतीय नागरिकसँग बिहे गरे पनि भारतीय नागरिकता लिएकी छैनन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, स्थानीय विकास मन्त्रालय, संसद् सचिवालय, काठमाडौं जिल्ला प्रशासन कार्यालय र मकवानपुर जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाइएको छ । ‘संविधानको धारा १०७ को १ बमोजिम संविधानसँग बाझिएको कानुन अमान्य र बदर घोषित गरी धारा १०७ को २ बमोजिम परमादेशलगायत आवश्यक आदेश जारी गरिपाऊँ’ भनिएको छ ।
बुबा कान्छाराम लामा र आमा विविमाया लामाकी छोरी सुकमाया १२ वर्षको उमेरमा सर्कसमा काम गर्न भारत गएकी थिइन् । हाल मकवानपुर जिल्लाको बसमाढी गाविसमा बस्दै आएकी लामा १९ वर्षपछि नेपाल फर्किएकी हुन् । भारतको कानपुरको सर्कसमा काम गर्दै आएका लामाले भारतीय नागरिक साउद आलमसँग बिहे गरेकी थिइन् । ‘सर्कसमा काम गर्दागर्दै श्रीमान्को मृत्यु भएपछि दुई छोरीसहित म नेपालमै फर्किएर स्थायी रूपमै बस्दै आएकी छु,’ लामाले भनिन्, ‘मैले हालसम्म कुनै पनि मुलुकको नागरिकता लिएकी छैन, मेरा आमाबुबा नेपाली हँुदा पनि मैले नागरिकता पाइनँ ।’ नागरिकता लिन सबै निकाय धाइसकेको उनको गुनासो छ । नागरिकताका लागि सिफारिस माग्न जाँदा बसमढी गाविसका सचिवले सिफारिस दिन अस्वीकार गरेको बताइन् । जिल्ला प्रशासनले भने गाविसको सिफारिसविना दिन नमिल्ने बताइएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया