अदालतपरिसरमा प्रदर्शन रोक्न अश्रुग्यास

काभ्रे, ८ भदौ । काभ्रे जिल्ला अदालतभित्र थुनछेक बहस भइरहँदा बाहिर आफन्तले प्रदर्शन गरेपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ ।
बिहीबार कुशादेवी–४ दारिमबोटकी सीता भण्डारी थापाको हत्या वा आत्महत्याका विषयमा थुनछेकको बहस चलिरहँदा आफन्तले प्रदर्शन गरेका थिए । ‘शुक्रबारदेखि लगातार अदालतमा बहस र बाहिर प्रदर्शन भइरहेको छ,’ पीडितका आफन्त मोहन भण्डारीले भने ।
गत शुक्रबार कारागारबाट अदालतमा बयानका लागि लैजाँदै गर्दा बाटोमै भण्डारीका माइती पक्षद्वारा पक्राउ परेका पति रोशन, जेठाजु होमबहादुर र उनकी श्रीमती रमा थापालाई ढुंगा प्रहार गरेका थिए । भण्डारीका पति रोशनले पत्नीले विषसेवन गरी आत्महत्या गरेको बताए पनि पोस्टमार्टम रिपोर्टमा विषसेवनबाट मृत्यु नभएको देखिएपछि आफन्तले हत्या भएको भनेर किटानी उजुरी दर्ता गरेका थिए ।
प्रहरीले पक्राउ गरेर बयानका लागि लैजाने क्रममा अभियुक्तमाथि नै आक्रमण भएपछि अदालतवरपर नारा जुलुस गर्न रोक लगाइएको छ । प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले गरेको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा लागेर केही प्रहरी घाइते भएका थिए । मृतक भण्डारीकी दिदी सरिता थापाले ज्यानसम्बन्धी महलको दफा १३(३) अनुसार कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् ।
भण्डारीकी आमा मीठु भण्डारीले छोरीको हत्या पति रोशन, ससुरा धनबहादुर, सासू दिलकुमारी, जेठाजु होमबहादुर र जेठानी रमा थापाको मिलेमतोमा भएको र दाइजोका कारण मारेको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा जिल्ला अदालत धुलिखेलले सरकारी मुद्दासम्बन्धी ऐन, ०४९ को दफा १८ अन्तर्गत अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेका थिए । भण्डारी ३० जेठ ०६९ मा घरबाट हराएकी थिइन् । २ असारमा उनी धुलिखेलको शान्तिवनमा मृतअवस्थामा फेला परेकी थिइन् ।
यस्तै, विषसेवन गरी आत्महत्या गरेको बयान दिने परिवारका तीनैजनालाई पुर्पक्षमा राख्न जिल्ला अदालत धुलिखेलले आदेश दिएको छ ।
न्यायाधीश दीपेन्द्र अधिकारीको बेन्चले पीडितको उजुरीमा थप अनुसन्धान गर्न पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । अदालते भण्डारीका पति रोशन, जेठाजु होमबहादुर र जेठानी रमा थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । उजुरी परेकामध्ये फरार ससुरा धनबहादुर र सासू दिलकुमारीलाईसमेत उपस्थित गराउन अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया