सोर्सफोर्समा डाक्टरहरू वर्षौंदेखि काजमा

बाग्लुङ, ८ भदौ । धौलागिरी अञ्चल अस्पताल बाग्लुङका डाक्टर स्वास्थ्य सेवाका तालुक निकायको सोर्सफोर्स लगाएर काजमा बसेपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
स्वास्थ्य सेवा ऐन, ०५३ अनुसार कुनै पनि कर्मचारी वर्षमा एक महिनाभन्दा बढी काजमा बस्न नपाउने उल्लेख भए पनि अस्पतालका डाक्टरहरू वर्षौंदेखि काजमा बसेका छन् भने केही डाक्टर अस्पतालमा हाजिर हुनसमेत आएका छैनन् ।
काजमा बसेका र हाजिर हुन नआएका अधिकांशले मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्मको सोर्सफोर्स लगाएर बसेको पाइएको छ । मन्त्रालयले लामो समय काजमा बसेका डाक्टरलाई सम्बन्धित जिल्लामा फर्कन सार्वजनिक सूचनामार्फत निर्देशन दिए पनि उनीहरूले पालना गरेका छैनन् । अस्पतालमा १३ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि दुई जना डाक्टर कार्यरत छन् । दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नहुँदा सामान्य बिरामीलाई पनि पोखरा रिफर गर्नुपर्ने अवस्था छ ।
अञ्चल अस्पतालमा दरबन्दी भएका स्त्रीरोग विशेषज्ञ डा.अमिता थापा नौ वर्षदेखि काजमा विदेश गएकी छन् भने एनस्थोलोजिस्ट डा.अभय पोखरेल एक वर्षदेखि वीर अस्पतालमै काजमा छन् । रेडियोलोजिस्ट डा.चक्रधर मिश्र २१ र २२ वैशाखमा दुई दिन मात्रै हाजिर भएर वीर अस्पताल काठमाडौं, बालरोग विशेषज्ञ डा.होमप्रसाद न्यौपाने क्षेत्रीय अस्पताल पोखरामा तीन वर्षदेखि काजमा छन् भने स्टाफ नर्स तारा पौडेल लामो समयदेखि काठमाडौंमा काजमा छिन् । अन्य दरबन्दी रिक्त छ ।
‘विशेषज्ञ डाक्टरलाई किन र कसले काजमा राखेको भन्नेबारे बुझ्दैछौँ,’ स्वास्थ्य मन्त्रालयका सहसचिव ध्रुव दाहालले भने, ‘म आएपछि काजफिर्ता र कारबाहीको प्रक्रिया अघि बढाइसकेको छु ।’ लामो समय काजमा बसेका डाक्टरलाई तत्काल कार्यक्षेत्रमा फर्किन मन्त्रालयले निर्देशन दिएको भन्दै दाहालले निर्देशन उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिए । उनले त्यस्ता कर्मचारीलाई कारबाहीका लागि लोक सेवा आयोगसँग स्वीकृति लिनुपर्ने प्रावधान रहेकाले छलफल भइरहेको बताए ।

प्रतिक्रिया