एघार करोड २० लाख ठगी

काठमाडौं, ७ भदौ । वैदेशिक रोजगारीका नाममा चालु आर्थिक वर्षको पहिलो महिनामै करिब ११ करोड २० लाख रुपियाँ ठगी भएको छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै साउनमा संस्थागत तथा व्यक्तिगत रूपमा ११ करोड १९ लाख ७६ हजार एक सय ४० रुपियाँ ठगी भएको भन्दै बिगो दाबीसहित दुई सय २५ वटा उजुरी परेका हुन् ।
विभागमा परेका उजुरीमध्ये वैदेशिक रोजगारीका नाममा व्यक्तिगत रूपमा ठगी भएको भन्दै एक सय ४८ वटा उजुरी परेका छन् । ती उजुरीमा नौ करोड ११ लाख ७५ हजार ६ सय ४० रुपियाँ बिगो दाबी भएको छ । यस्तै, संस्थागत रूपमा दुई करोड आठ लाख रुपियाँ रकम ठगी भएको भन्दै बिगो दाबीसहित साउनमा ७७ वटा उजुरी परेका छन् ।
चालु आवको पहिलो महिनामा विभागमा परेका ठगीका उजुरीमध्ये १९ वटा व्यक्तिगत उजुरी अदालतमा दायर भएका छन् । ती उजुरीमा एक करोड नौ लाख २९ हजार एक सय ८८ रुपियाँ बिगो दाबी भएको वैदेशिक रोजगार विभागले जनाएको छ । सो महिना विभागमा परेका उजुरीमा दाबी भएमध्ये ५० लाख ४८ हजार रुपियाँ रकम फरफारक भएको छ ।
यस्तै, साउनमा ३२ हजार ६ सय ८५ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । यसमा ३१ हजार तीन सय ६७ पुरुष र एक हजार तीन सय १८ महिला छन् । चालु आवको साउनमा ३० हजार चार सय पाँचजना संस्थागत रूपमा रोजगारीमा गएका छन् भने दुई हजार दुई सय ८० जना व्यक्तिगत रूपमा रोजगारीमा गएका छन् ।
संस्थागत रूपमा विदेश जाने पुरुषको संख्या २९ हजार दुई सय ४५ छ भने महिला एक हजार एक सय ६० जना छन् । त्यस्तै, व्यक्तिगत रूपमा दुई हजार एक सय २२ पुरुष र एक सय ५८ महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ ।
यो संख्या आव ०६८/६९ को भन्दा करिब २८ प्रतिशत कम हो । गत आवको सोही महिना ४५ हजार एक सय ६५ जना रोजगारीमा गएको विभागले जनाएको छ । यस्तै, साउनमा मात्र १२ हजार सात सय ३२ जनाले विभागबाट पुन: श्रमस्वीकृति लिएका छन् । उनीहरूले वैदेशिक रोजगारीकै क्रममा आएर पुन: जाने स्वीकृति लिएका हुन् । विभागले केही महिनाअघि मात्र पुन: स्वीकृतिको व्यवस्था गरेको हो ।
सरकारले व्यक्तिगत श्रम–स्वीकृतिलाई कडाइ गरेको भए पनि अझै यो संख्या घट्न नसकेको विभागले जनाएको छ । विभागका निर्देशक काशीराज दाहालले कडाइ गरेपछि व्यक्तिगत श्रमस्वीकृति विगतभन्दा कम भए पनि लक्ष्यअनुसार घट्न भने नसकेको जनाए । यस्तै, ठगीका घटना बढेपछि गत आवदेखि नै कारबाही अघि बढाइए पनि अझै यस्ता गतिविधिमा कम नभएको विभागले जनाएको छ । यस्ता घटना विगतभन्दा कम भए पनि व्यक्तिगत रुपमा भने अझैं न्यूनीकरण हुनसकेको छैन ।

प्रतिक्रिया