‘केही सातामै इरानमाथि आक्रमण हुने’

जेरुसेलम : नोभेम्बर अगावै इजरायलले इरानमाथि आक्रमण गर्ने दाबी इजरायलको सुरक्षासम्बद्ध स्रोतले गरेको छ । इरानको पारमाणविक कार्यक्रमलाई लक्षित गरी गरिने आक्रमणको तयारीमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लागिपरेको बेलायती पत्रिका डेलिमेलले बुधबार जनाएको छ ।
इजरायली टेलिभिजनले सोमबार इरानमाथि हमला गर्ने सँघारमै आफ्नो मुलुक पुगेको दाबी गरेको थियो । नोभेम्बर ६ मा अमेरिकामा निर्वाचन सुरु हुनुअगावै इरानमाथि आक्रमण गर्न प्रधानमन्त्री नेतान्याहु प्रतिबद्ध रहेको सो टेलिभिजनले जनाएको थियो । अमेरिकी सैन्य अधिकरीहरू इरानमाथि आक्रमण गर्ने पक्षमा नरहेको बताइन्छ । तर, निर्वाचनको ठीकअघि इजरायलले इरानमाथि आक्रमण गरे यहुदी मतदाताको मत आकर्षित गर्न अमेरिकी राष्ट्रपति ओबामा इजरायली कदमको समर्थन गर्न बाध्य हुने बुझाइ इजरायलको रहेको दाबी गरिएको छ । अमेरिकामा यहुदी समुदायलाई ज्यादै शक्तिशाली मानिन्छ । इरानले हालसालै एक सय ८० माइलसम्म निसान साध्नसक्ने क्षमताको क्षेप्यास्त्र प्रक्षेपण गरेपछि इजरायल सचेत भएको हो । इरानी कदमको प्रतिरोधमा इजरायलले एरो–२ नामक क्षेप्यास्त्र निरोधी ढाल मर्मतकार्य आरम्भ गरिसकेको छ । अमेरिकी सहयोगमा इजरायलले ढाल मर्मतकार्य आरम्भ गरेको हो ।
इरान र इजरायलबीच कूटनीतिक सम्बन्ध छैन । इरानले इजरायललाई राष्ट्रका रूपमा स्वीकार गर्न अस्वीकार गर्दै आएको छ । इजरायललाई ‘क्यान्सर’ को संज्ञा दिँदै उसले विश्वमानचित्रबाट इजरायलको नामोनिसान मेटाइदिने चेतावनी बारम्बार दिएको छ । सोमबार एक अवसरमा इरानी राष्ट्रपति महमुद अहमदिनेजादले आफ्नो मुलुकको प्रतिरक्षा क्षमताप्रति आफू विश्वस्त रहेको जनाएका थिए । वैरीहरूको योजना निष्फल तुल्याउन इरानी सेना सक्षम रहेको धारणा उनले व्यक्त गरेका थिए । उता इजरायलले भने इरानलाई ‘अस्तित्वमाथिको चुनौती’ का रूपमा लिँदै आएको छ । इरानलाई परमाणु हतियार हात पार्न नदिन प्रतिबद्ध रहेको इजरायलले इरानको पारमाणविक केन्द्रमा हमला गर्ने चेतावनी दिने गरेको छ । (एजेन्सी)

प्रतिक्रिया