“अहिलेका कम्युनिस्ट घीनलाग्दा”


सर्वहारा मुक्तिका खातिर पारिवारिक सुखसयल त्यागेर हिँड्ने बिरलै भेटिन्छन् । जमिनदारका छोरा उनी, नपुग्दो केही थिएन । घरमा नोकरचाकर, हली, गोठाला सबै थिए । यी सबै सुविधा त्यागेर तिनै हलीगोठालाको मुक्तिका लागि कम्युनिस्ट पार्टीमा लागेर जेलनेल भोग्दै अहिले सर्वहारा जीवन बिताउने व्यक्ति हुन् नन्दन अर्याल । बाराको बघवन गाउँमा जन्मिएका अर्याल २००९ सालमा कम्युनिस्ट पार्टीको सदस्य भए । उनले संगठित बनाएका धेरै व्यक्ति राष्ट्रियस्तरमा चर्चित नेता पनि भए । अहिले उमेरको ८०औँ वर्षमा हिँड्दै गरेका अर्यालको जोसजाँगरमा कुनै कमी आएको छैन । उनका विचारमा सेना नभएको कम्युनिस्ट पार्टी वास्तविक कम्युनिस्ट नै होइन । बारा, पर्सा र रौतहटमा अहिले पनि कम्युनिस्ट पार्टीको अभिभावक मानिन्छन् उनी । विचारको हिसाबले नेकपा माओवादी (मातृका) नजिक छन् । तर, जुन कम्युनिस्ट पार्टीले बोलाए पनि भ्याएसम्म जान्छन् । सबैको सम्मान र आदरका पात्र अर्याल सौर्यसँग आफ्ना अनुभूति साट्दै छन् :
म जमिनदारको छोरा । नपुग्दो केही थिएन, काम गर्ने मान्छे प्रशस्तै थिए । तर, मलाई जनताको दु:ख र उनीहरूमाथिका शोषण, दमन, अन्याय पटक्कै मन पर्दैनथ्यो । यिनै कुरा मनमा मडारिइरहन्थे । जनतामाथिको शोषण–दमन अनि सामन्तको अन्याय–अत्याचारविरुद्ध आवाज उठाउन थालेँ । मेरो मनमा संगठित अभियानबारे खुल्दुली हुँदा बारामा कम्युनिस्ट पार्टीको गतिविधि सुरु भइसकेको रहेछ ।
रौतहटमा किसान आन्दोलन चर्को रूपमा उठ्दै थियो । किसानमाथिका अन्यायविरुद्धको आन्दोलनमा म पनि सहभागी भएँ । पार्टीकाममा पनि लागेँ । पहिलो सम्पर्क नेपाल प्रगतिशील लेखक संघका अध्यक्ष श्यामप्रसाद लामिछानेसँग भयो ।
००८ सालमा बाराको गडहल, नरहीमा किसानहरूको विशाल र्‍याली र सभा थियो । कम्युनिस्ट पार्टीले किसानलाई जमिन बाँड्ने, जग्गा कब्जा गर्ने अभियान चलाएको थियो । प्रहरीले व्यापक धरपकड गर्‍यो । गोली लागेर मुखलाल महतो सहिद हुनुभयो । बाराको किसान आन्दोलनको प्रथम सहिद उहाँ नै हो । प्रहरी दमनविरुद्ध जनताले ‘रोजीरोटी कपडा दो, नहीँ तो सत्ता छोड्दो † गिरफ्तार नेताको छोड्दो, इन्कलाब जिन्दावाद’ जस्ता नारा लगाए । सामन्तलाई थर्काए ।
अहिलेजस्तो हात मिलाउनेबित्तिकै कम्युनिस्ट हुने अवस्था थिएन । पार्टी सदस्यता लिन रगतले सही गर्नुपथ्र्यो । अहिलेजस्तो पार्टी प्रवेश नै नगरी, व्यवहार र आचरण नहेरी सदस्यता कहाँ मिल्थ्यो र ? जमिनदारको छोरा भएकाले मलाई पनि करिब डेढ वर्ष काममा लगाएर ००९ सालमा सदस्यता दिएका थिए । त्यसो त हामीलाई सदस्यताको चिन्ता पनि लाग्दैनथ्यो । जनताको हितमा काम गर्न पाए पुग्यो । मेरो काम देखेपछि श्यामजीले डायरीमा लेख्नुभएको रहेछ– अब नन्दनजीलाई पार्टी सदस्यता दिनुपर्छ । उहाँबाटै सदस्यता पाएको हुँ ।
बघवनस्थित मेरो घरमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, विष्णुबहादुर मानन्धरलगायत नेताहरू आइरहन्थे । पुष्पलालसँग नजिक भएर काम गर्ने मौका पाएँ । पार्टीकाममा बनारस जाँदा पनि उनीसँग भेट भइरहन्थ्यो । पञ्चायतकालमा झन् गाह्रो थियो । कम्युनिस्टहरू चेपुवामा पथ्र्यौं । पुलिस प्रशासन र गाउँका फटाहा पनि हामीलाई नै दु:ख दिने खालका थिए । पाँच–छपटक पक्राउ परेँ, जेल बसेँ ।
साठी वर्षको राजनीतिक जीवनमा समयसँगै विभिन्न कम्युनिस्ट पार्टीमा आबद्ध भएँ । त्यसको एउटै कारण हो– विचार । माक्र्स, लेनिन, ऐंगेल्स, माओले भन्नुभएको छ– विनासेनाको क्रान्ति हुँदैन । मैले बुझेको पनि त्यही नै हो  । जोसँग सेना हुँदैन, त्यो कम्युनिस्ट पार्टी नै होइन । मेरो बुझाइ हिजो पनि यही थियो, आज पनि यही छ । सेना नभएकै कारण म पार्टीहरू छोड्दै हिँडेको हुँ । आज मातृकाजीको पार्टीमा छु, उहाँले पनि त्यो विचार छोड्नुभयो भने रहन सक्दिनँ । झापा आन्दोलनको प्रभाव बढ्नुमा सेना नै कारण थियो जस्तो मलाई लाग्छ  । जनताको आवाजको कदर भएको थियो । भारतको नक्सलवादी आन्दोलनको प्रभाव पनि थियो । मोहनचन्द्र अधिकारीहरूले त्यो आन्दोलनको नेतृत्व गरेका थिए ।
आन्दोलनमा लाग्दा मलाई परिवारबाटै गाह्रो थियो । घरपरिवार छाडेर निस्कनुपर्‍यो । बुबालाई अरू जमिनदारले दबाब दिन्थे, छोरालाई नियन्त्रणमा राख्न नसकेको भनेर । तर, ती जमिनदार प्रत्यक्ष रूपमा मेरो अगाडि पर्ने आँट गर्दैनथे । वर्गीय रूपमा मसँग डराउँथे । तर, जनताको स्तर निकै तल थियो, चेतना थिएन । त्यति बेला जति जनता उठे, राजनीतिकभन्दा पनि आर्थिक नाराले उठेका थिए । मोही कब्जा गर्ने, ‘जसको जोत उसकै पोत’जस्ता नाराले उनीहरूलाई आर्कषित गरेको थियो । हामीले हाम्रो शक्तिका बलमा किसानलाई जमिन पनि उपलब्ध गराएका थियौँ ।
गाउँलेहरू मलाई राम्रो व्यवहार गर्थे, जमिनदारको छोरा भएर पनि जनताको हितमा लागेको भनेर । बाहुनको छोरो भएकाले पनि मैले माया पाएँ । बाहुनको छोरालाई भोको राख्नु हुँदैन, पाप लाग्छ भन्ने थियो जनतामा । सामन्तहरूले उर्दी जारी गरेका थिए, यिनीहरूलाई चिउरा, भुजा, सक्खर नबेच्नु, नत्र कारबाही हुन्छ भनेर । हाम्रो त खाना नै त्यही थियो । त्यस्तो दुईचार सामन्तलाई मजैले गोदियो, मार्नचाहिँ मारेनौँ । जमिनदारहरू किसानलाई जालसाजीको मुद्दा लगाएर फसाउँथेँ । हामी त्यस्ता मुद्दा फिर्ता गराएरै छोड्थ्यौँ ।
अहिले त नेपालका कम्युनिस्ट पार्टीहरू संशोधनवादी भए । न जनताको आवाज सुन्छन् न त हामीजस्ता विचार भएका बूढाको । उनीहरूलाई जनताको होइन, आफ्नो मात्रै चिन्ता छ । आफू र आफ्नो परिवारलाई कसरी शक्तिशाली बनाउने भन्नेमा मात्रै लाग्छन् ।
पुष्पलाल, मनमोहन, तुलसीलाललगायत धेरैको जीवनशैली नजिकबाट देखेको छु, एकदमै सामान्य । मनमोहन त कैयौँपटक कलैयाबाट टाँगा चढेर मेरो घरमा आउनुहुन्थ्यो । अहिले त यस्तो देख्छु, कम्युनिस्ट नेताहरूको जीवनशैली बुर्जुवा–पँुजीपतिहरूको भन्दा पनि भड्किलो छ । नेपालका कम्युनिस्ट नेताहरूले कृष्णप्रसाद भट्टराईको जति त्याग पनि देखाउन सकेनन् । त्यसैले सर्वहारा नेताको जीवनशैली देखेर मलाई घीन लाग्छ । अजय बोस, होचिमिन्ह, माओत्सेतुङको आदर्श अहिलेका नेतासँग छँदै छैन । इमानदार कार्यकर्ता उनीहरूको व्यवहारबाट सन्तुष्ट छैनन् । कम्युनिस्ट पार्टीहरूमा हुने पटकपटकको फुटको कारण पनि यही हो । पुष्पलाल सधैँ नयाँ जनवाद र समाजवाद स्थापनाको कुरा गर्नुहुन्थ्यो । उहाँ माओका थुप्रै विचारसँग सहमत हुनुहुन्थ्यो ।
उति बेला नेपालको कम्युनिस्ट पार्टीमा रसिया र चीनलाई हेर्ने फरकफरक दृष्टिकोण थिए । पुष्पलाल चिनियाँ विचारबाट प्रभावित थिए भने तुलसीलाल रसियाली लाइनका । म तुलसीलालको व्यक्तित्वबाट प्रभावित थिएँ तर उनको विचारसँग सहमत थिइनँ । यी दुई लाइनबीच द्वन्द्व थियो । चिनियाँहरू रसियनलाई संशोधनवादी भन्थे । रसियनहरू चिनियाँलाई उग्रवादी भन्थे । उति बेला रसियन लाइन लिनेहरूलाई रसियामा अध्ययनको सुविधा थियो, धेरैले त्यसको उपयोग गरे ।
नेपालको कम्युनिस्ट पार्टीलाई सफल बनाउन उति नै विदेशी एजेन्ट लागिपरेका थिए । त्यस्तै व्यक्तिको घुसपैठका कारण कम्युनिस्ट पार्टीभित्र एकअर्काप्रति आरोप–प्रत्यारोप गरिरहन्छन् । तुलसीलालले पनि यो कुरा उति बेलै भनेका थिए । तिनै एजेन्टले कम्युनिस्टलाई एक हुन दिएका छैनन् । नत्र त समान नीति, कार्यक्रम हुनेहरू एक नै हुनुपर्ने न हो । पुष्पलालजी ज्यादै सतर्क थिए, वैदेशिक हस्तक्षेपको सवालमा । पार्टीभित्र विदेशी गुप्तचर छन् भन्ने उनलाई उति बेलै थाहा थियो ।
जमिनदार बुबाले दिएको ६ बिघा जमिन थियो मसँग । जमिनदार ससुरालीले पनि दिएका थिए । तर, आज मसँग एक इन्च पनि जमिन छैन । जनताका लागि लड्दालड्दै सकियो । पूर्णरूपमा सर्वहारा भएको छु । तर, मलाई आफूले लिएको विचार र सिद्धान्तप्रति अलिकति पनि पछुतो छैन । आफ्ना तर्फबाट मुलुकका लागि जेजति गर्न सकेँ, सन्तुष्ट छु । यतिबेला म छोराछोरीको सहयोगमा जीवन चलाइरहेछु ।
मुलुक परिवर्तनका लागि भनेरै हिँडियो, दिनरात । सयौँलाई यो अभियानमा हिँडाइयो । तर, आजका नेताले मुलुक होइन, आफ्नो जीवन मात्र परिवर्तन गरे । अहिलेका कार्यकर्ता मलाई भन्छन्– ‘आदर्शको कुरा नगर्नुस्, हामी तपाईंजस्तो भोक र अभावको जीवन बिताउन चाहँदैनौँ । समयअनुसार चल्नुपर्छ ।’ यो उनीहरूको होइन, उनीहरूलाई प्रशिक्षित गर्ने नेताको दोष हो । अनुशासन र नैतिकताको राजनीति गर्ने वातावरण हुँदो हो त ती कार्यकर्ताले सायद हाम्रा अगाडि त्यस्तो कुरा गर्ने आँट गर्दैनथे । मैले सदस्यता दिएका धेरै मान्छे मन्त्री वा चर्चित नेता भए । विष्णुलाल मानन्धरलाई पनि मैले नै पार्टी सदस्यता दिएको हुँ । को कहाँ पुगेर के फाइदा लिए, मलाई त्यसमा गुनासो छैन । छ त केवल विचार र नीति बिर्सिएकामा छ । सबै कम्युनिस्ट पार्टीको नसा छामिसकेँ, अब मोहन वैद्यको पार्टी हेर्न बाँकी छ ।
हामी समाजवाद ल्याउने उद्देश्यमा थियौँ, आधार तयार गरेका पनि हौँ । तर, नेताहरूको प्रवृत्ति देख्दा अब समाजवाद आउला भन्ने विश्वासै लाग्न छाड्यो । साठी वर्षको कम्युनिस्ट आन्दोलनमा धेरै मान्छे मरे, हतियार पनि उठे, कम्युनिस्ट पार्टीको सेना पनि भयो । यति गर्दा त समाजवाद आएन भने अहिलेको पाराले त झन् आउँदैन । अब मातृका र मोहन वैद्यले केही गरे मात्र हो ।
म श्यामप्रसाद लामिछानेलाई आफ्नो राजनीतिक गुरु मान्छु । अहिले बारामा थुप्रै नेता–कार्यकर्ताले मलाई पनि प्रेरणास्रोत बताउँदा खुसी लाग्छ । आफूले केही पाइनँ भन्नेमा कहीँकतै दु:ख छैन । थुप्रै कम्युनिस्ट पार्टीले सम्मान गरेको देख्दा सही बाटोमा रहँेछु भनेर गौरव पनि लाग्छ । सबैको अभिभावक बन्न सकेको रहेछु । चाहेको भए अरूले जस्तै मैले पनि सन्तानलाई सुखसुविधाको जोरजाम गर्नतिर लाग्न सक्थेँ होला । तर, अहिले दुनियाँ नेताले गाली खाइरहँदा मैले जुन सम्मान र माया पाएको छु, त्योचाहिँ पक्कै गुमाउँथेँ । त्यसैले मलाई आफ्नो विचार र सिद्धान्तप्रति पूर्ण सन्तुष्टि छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया