विस्फोटमा संलग्न चार समातिए

राजविराज : सिरहा नगरपालिका–१ स्थित खड्ग होटलमा २५ साउनमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले चारलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिरहा–१ का ३३ वर्षीय गर्चुन भनिने जीवछ यादव, कल्याणपुर कालाबन्जर–५ का २८ वर्षीय ऋतु महरा, इटाटार–३ का ५० वर्षीय चन्देश्वरप्रसाद यादव र सिरहा–७ का २७ वर्षीय विजयकुमार यादव छन् । विस्फोटमा मुख्य योजनाकार सिरहा भेडिया–६ का ३५ वर्षीय अमिताभ भनिने उदय अडगडिया रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार अडगडियामाथि ९ जेठ ०६७ देखि विभिन्न सात आरोप लागेका छन् । संलग्नमध्ये गर्चुनको घरबाट प्रतीक नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चा, एनसेलका र युटिएलका सिमकार्ड तथा मास्टर प्रिपेड सिम झिकेको कार्डसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

सात केजी चरेससहित दुई पक्राउ
वीरगन्ज : प्रहरीले पर्साको हरिहरपुरबाट चरेससहित दुईलाई पक्राउ गरेको छ । सात किलो चरेससहित निर्मलबस्ती– ७ का इन्द्रबहादुर श्रेष्ठ र एकबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूका साथबाट चार किलो तयारी अवस्थाको चरेस र बाँकी तीन किलो चरेसको धुलो बरामद गरेको हो । निर्मलबस्तीको विजयबस्तीबाट ना १२ प १५१० नम्बरको मोटरसाइलमा चरेस बोकेर धोबिनी आउँदै गरेको अवस्थामा उनीहरूलाई हरिहपुरको नहर सडकमा चेकजाँचका क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लंगडीका इन्स्पेक्टर नारायण थापाले बताए ।
यस्तै, प्रहरीले पर्साको भलुबहिया खोलानजिकैबाट बुधबार दुई क्विन्टल गाँजा बरामद गरेको छ ।

भाटभटेनीमा म्याद गुज्रेको पाउडर
काठमाडौं : बजार अनुगमनका क्रममा वाणिज्य विभागले पाटनस्थित भाटभटेनी सुपरमार्केट प्रालिमा म्याद नाघेका बेकिङ पाउडर फेला पारेको छ । विभागका अधिकृत श्यामजंग कार्कीको नेतृत्वमा गएको टोलीले बुधबार भाटभटेनीमा म्याद नाघेका पाउडर फेलापारेको हो । म्याद नाघेका सबै पाउडर नष्ट गरिएको विभागले जनाएको छ । बुधबार नै टोलीले ललितपुरको टंगालस्थित किसनलाल किराना स्टोरमा समेत म्याद नाघेका बिस्कुट, तितौरा फेलापारेको थियो ।

बच्चा फाल्नेलाई मुद्दा
विराटनगर : अवैध यौनसम्बन्धबाट जन्मिएको बच्चा फाल्ने एक महिलालाई प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ ।
पाँच दिनअघि पथरी–७ मा एक शिशु स्थानीयले मृत अवस्थामा सालनालसहित फेला पारेर प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी अनुुसन्धानमा बच्चा फाल्ने महिला इलाम चिसापानी–९ स्थायी घर भई पथरी–७ स्थित आफन्तको घरमा बस्दै आएकी सरिता लिम्बू रहेको खुलेको थियो । शिशुु फालेर फरार लिम्बूलाई इलामबाट झिकाएर कर्तव्य ज्यान मुुद्दा चलाइएको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर केशव भट्टराईले बताए । (सौस)

प्रतिक्रिया