व्यक्तिगत स्वार्थ त्याग्न आग्रह

काठमाडौं, ६ भदौ । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले नेताहरुले व्यक्तिगत र दलगत स्वार्थलाई अगाडि राखेर सहमति खोजेकाले निकास आउन नसकेको बताएका छन् ।
काठमाडौंको मालिगाउँस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले प्रमुख दलका शीर्ष नेताहरुलाई गम्भीर हुन सुझाव दिए । उनले विषेश गरेर एमाओवादी र कामचलाउ सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले नेपाल सञ्चालन आफै नेपालीले गर्ने भन्दै साँचो नेपालमै रहेको बताए । उनले भने, ‘नेपाल चलाउने साँचो प्रधानमन्त्री बाबुराम भट्टराईले बाहिर देख्नु भएको छ भने मागेर ल्याए भई हाल्छ नि ।’
प्रधानमन्त्री भट्टराईले मुलुक चलाउने साँचो अन्यत्रै छ भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि उनको आलोचना हुँदै आएको छ ।
थापाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उट्पट्याङ कुरा गर्दै हिड्ने अवोध बालकको संज्ञा दिएका छन् । उनले भने, ‘दाहालले पछिल्लो पटक बोलेका कुराको चर्चा गर्न लायककै छैनन् ।’
उनले दलहरुका वीच सहमति बन्न नसके मुलुकको राजनीतिमा भयंकर विष्फोट हुने चेतावनी दिए । उनले भने, ‘छिट्टै सहमति बन्न नसके मुलुकले नयाँ नेचुरल कोर्स लिन्छ ।’
‘खोलालाई थुनेर छिट्टै नहर बनाएर पानीलाई निकास नदिने हो भने त्यसले बाँध भत्काएर आफ्नो बाटो आफै लिन्छ,’ उनले भने, ‘नेपालको राजनीति पनि अब यस्तै रुपमा चल्दैन ।’
उनले गतिरोध अन्त्यमा राष्ट्रपतिको भूमिका परिस्थितिले टुङगो लगाउने बताए । उनले भने, ‘अब राष्ट्रपति चुप लागेर बस्ने अवस्था छैन ।’

प्रतिक्रिया