चीन श्रीलंकाको छनोटमा, भारत रुष्ट

कोलम्बो : दक्षिण एसियामा चीनको बढ्दो प्रभावलाई भारतले नरुचाएको विश्लेषण सर्वत्र गर्न थालिएको छ । श्रीलंकामा हालै भएको एउटा घटनाले यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई भारतले कति संवेदनशील ढंगले लिँदो रहेछ भन्ने प्रस्ट भएको छ । राजधानी कोलम्बोको मध्यमा पर्ने सय करोड भारतीय रुपियाँको जमिन चीनलाई दिइएपछि भारतले कडा आपत्ति जनाएको छ । गाले रोडमा पर्ने सो जमिन भारतलाई दिने तय भएको भारतीय सञ्चारमाध्यमको कथन छ । तर, अन्तिम समयमा चीनलाई जग्गा दिने निर्णय श्रीलंकाली सरकारले गरेपछि भारतले श्रीलंकाली विदेश मन्त्रालयसँग औपचारिक रूपमै असन्तुष्टि व्यक्त गरेको जनाइएको छ ।
भारतीय दैनिक पत्रिका ‘टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणमा सोमबार प्रकाशित समाचारअनुसार भारतीय हाई कमिसनलाई जग्गा बिक्री गर्नेमा श्रीलंकाले सहमति जनाएको थियो । तर, अन्तिम समयमा चीनको राज्यसञ्चालित उड्डयन कम्पनीको पोल्टामा जग्गा परेको हो । जग्गा पाएको चिनियाँ व्यापारिक प्रतिष्ठानको सम्बन्ध पाकिस्तानसँग ज्यादै घनिष्ट रहेको समाचारमा उल्लेख छ । ‘सो जग्गामा सांस्कृतिक केन्द्र खोल्ने विचार गरी भारतीय हाई कमिसनले आवश्यक औपचारिकता पूरा गर्दै श्रीलंकाली विदेश मन्त्रालयसँग निरन्तर सम्पर्क गरिरहेको थियो । तर, चीनको विमान निर्माणकर्ता चाइना नेसनल एरो टेक्नोलोजी इम्पोर्ट एन्ड एक्सपोर्ट कर्पोरेसन (सिएटिआइसी) लाई जग्गा दिएको खबर एकाएक पाएपछि यसले भारतीय अधिकारीलाई चकित पारेको छ,’ समाचारमा भनिएको छ ।
श्रीलंकाली सरकारको निर्णयबाट आक्रोशित बनेको भारतले भारतस्थित श्रीलंकाली हाई कमिस्नर प्रसाद करियावसमसँग स्पष्टीकरण लिएको श्रीलंकाली पत्रपत्रिकाले जनाएका छन् । भारतीय अधिकारीहरूले भने समाचारको पुष्टि गर्न अस्वीकार गरेका छन् । ‘चीनलाई जग्गा विक्रि गरेको औपचारिक जानकारी श्रीलंकाली पक्षबाट पहिले आओस्, त्यसपछि प्रतिक्रिया दिउँला,’ भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । प्रतिरक्षा उपरकणसमेत उत्पादन गर्दै आएको चिनियाँ कम्पनी सिएटिआइसीले सो जमिनमा पाँचतारे होटल निर्माण गर्ने तयारी गरेको जनाइएको छ । पाकिस्तानसँगको सहकार्यमा सिएटिआइसीले यसअघि युद्धक विमान उत्पादन गरेको थियो । भारतले तेजास नामक युद्धक विमान उत्पादन गरेपछि प्रतिउत्तरमा पाकिस्तानले सिएटिआइसीसँग मिलेर जेएफ–१७ उत्पादन गरेको थियो । श्रीलंकामा चीनको लगानी विस्तारलाई भारतले यसअघि पनि शंकालु दृष्टिकोणले हेर्दै आएको थियो । यसअघि रणनीतिक महत्त्वको हम्बानटोटा बन्दरगाहबाहेक श्रीलंकाका कतिपय विमानस्थल निर्माणको जिम्मा चीनले पाएपछि यसबाट भारतको सुरक्षामा खलल पुग्नसक्नेतर्फ सचेत रहन भारतका बुद्धिजीवीले सरकारलाई सचेत गराउँदै आएका थिए । (एजेन्सी)

प्रतिक्रिया