सहकारी अवधारणामा ग्रिन सिटी अस्पताल

काठमाडौं : बाग्लुङको बुर्तिबाङ गाविसमा जन्मेका कृष्णप्रसाद शेरचन सानो उमेरदेखि नै समाजसेवी र विकासप्रेमी व्यक्तित्वका रूपमा परिचित अनुहार हो । उनको स्वास्थ्य, शिक्षा र जलविद्युत्मा लगानी रहेको छ ।
नयाँ वर्षदेखि सुरु भएको ग्रिन सिटी अस्पतालले सबै किसिमका सेवा उपलब्ध गराउँदै आएको छ । धापासीमा रहेको यो अस्पतालमा ठूला उद्योगपतिदेखि लिएर अन्य संस्थापकको पनि लागानी छ ।
सहकारी अवधारणामा सञ्चालित यसमा तीन सहकारीको लगानी रहेको छ । तीन सहकारीमध्ये ढोरपाटन सहकारीबाट बनेको ढोरपाटन इन्भेस्टमेन्ट कम्पनीले पनि यसमा लगानी गरेको छ । २७ जना संस्थापकको लगानी रहेको व्यवस्थापन संयोजक कृष्णप्रसाद शेरचन बताउँछन् । अस्पताल स्थापना गराउन उनको ठूलो भूमिका छ । यो अस्पतालले निजी क्षेत्रमा नेपालकै सबैभन्दा पहिलो मोडुलर अपरेसन थ्रेटरको सेवा दिइरहेको छ । योसँगै नेपालमै पहिलोपटक अल्ट्रासाउन्डको माध्यमबाट स्तन क्यान्सर परीक्षणको व्यवस्था गरेको पनि संयोजक शेरचनले बताए ।
एक सय बेडको यो अस्पतालमा आइसियुका १५ बेड रहेका छन् । निजी क्षेत्रमा अस्पताल खुल्ने क्रम बढिरहेका अवस्थामा यो अस्पताल खुलेको हो । संयोजक शेरचन आमनागरिकले सहजै स्वास्थ्य सेवा पाउन नसकेपछि आफूसँगै अन्य साथीको सहयोगमा अस्पताल सञ्चालन गरेको बताउँछन् । अस्पतालले न्यून आर्थिक भएका विपन्न परिवारलाई पहिलो प्राथामिकता दिने लक्ष्य राखेको छ ।
यो अस्पतालले अन्य हस्पिटलले दिँदै आएको सेवालाई अझ परिस्कृत रूपमा र आधुनिक प्रविधिबाट सेवा दिँदै आएको छ । हाडजोर्नी, नशा, बाथरोग, बालरोग, छाला तथा यौनरोग, मानसिक रोगजस्ता सबैखाले बहिरंग सेवा उपलब्ध रहेको अस्पताल प्रशासनले जनाएको छ । निजी क्षेत्रमा नरसिंह होम खुल्ने क्रम बढिरहेको अहिलेको अवस्थामा आफूलाई सक्षम र चुस्त राख्नुपर्ने चुनौतीलाई आत्मसात गर्दे यसले ती सेवामा कुनै पनि सम्झौता नगरेको दाबी गरेको छ ।
अस्पताल सञ्चालनमा ल्याउन शेरचनको भूमिका महत्त्वपूर्ण छ । सानैदेखि समाजसेवीका रूपमा रहेका शेरचनको जन्म ०११ भदौ २ मा बाग्लुङको बुर्तिबाङ गाविसमा भएको हो । ०३० सालमा पाल्पाको त्रिभुवन कलेजबाट उच्चशिक्षाको अध्यन सुरु गरेका उनले उच्च शिक्षामा प्रवेशसँगै ०३२ सालमा १६ किलोवाटको माइक्रो हाइड्रो सञ्चालनमा ल्याई दुई सय ५० भन्दा बढीलाई उज्योलो पुर्‍याएका थिए । उनलाई यस्तो कार्यमा पिताले गरेको सामाजिक कार्यले पनि सहयोग पुर्‍याएको थियो । उनका पिता पनि समाजसेवी र व्यावसायिक व्यक्तित्वका रूपमा परिचित थिए ।
शेरचनले जलविद्युत्सँगै त्यतिखेर नै आमनागरिकसम्म शिक्षाको पहुँच पुर्‍याउनु पर्ने आवश्यकतालाई मध्यनजर गरी १० कक्षासम्म सञ्चालित जनता आवसीय बोर्डिङ स्कुल सञ्चालनमा ल्याई यस क्षेत्रमा शिक्षाको उज्यालो पुर्‍याएका थिए । उनी त्यसमा मात्रै सीमित नरही व्यवसाय विस्तारका क्रममा विभिन्न क्षेत्रमा सक्रिय रहेका छन् । शेरचन बडिगार्ड हाइड्रो पावरको वित्तीय संयोजक पनि हुन् । योसँगै गोंगोबु आवास क्षेत्र सुधार समितिको अध्यक्षसमेत रहेका शेरचन यो अस्पतलाई नेपालकै नमुना अस्पताल बनाउने सोचमा छन् । शेरचन थकाली सेवा समितिमा पनी १८ वर्षदेखि आबद्ध छन् । (सौस)

प्रतिक्रिया