गर्मी र वर्षासँगै देशका विभिन्न भागमा विषालु सर्पको टोकाइले मृत्यु हुनेको संख्या बर्सेनि बढिरहेको छ । सरकारले सर्पदंशविरुद्धको औषधि ‘एन्टी स्नेक भेनम’ देशभर नि:शुल्क उपलब्ध गराउने नीति लिए पनि सर्पदंशको प्रभाव घटेको छैन ।
स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले यस वर्ष भने समयमै जिल्लामा एन्टी स्नेक भेनम पुर्याउन नसकिएको जानकारी गराएको छ । महाशाखाका अनुसार यो मौसममा तराईका जिल्लामा सर्पदंश बढेका छन् । गर्मी र वर्षात्मा सर्पको चलखेल बढ्ने महाशाखाको जुनोटिक रोग नियन्त्रण अधिकृत लटनारायण शाहाले बताए । रोपाइँको समयमा र मकैबारी तथा खेतीपातीका काम गर्दा मानिस बढी सर्पदंशको चपेटामा पर्ने गरेका छन् ।
‘यस मौसममा सर्प शीतनिद्राबाट निस्कने र प्रजननसमेत हुने भएकाले बढी सक्रिय हुन्छन्,’ शाहले भने, ‘खाना खोज्नलगायत अन्य विविध कारणले सर्प बाहिर निस्कने गर्छन्, आमव्यक्तिसँग सहजै सम्पर्कमा आउने भएकाले सर्पले डस्ने क्रम बढ्छ ।’ उनका अनुसार तराईको तुलनामा उपत्यकालगायत पहाडी जिल्लाका सर्प कम विषालु हुन्छन् । तराईका गोमन र करेत अधिक विषालु हुन्छन्, तुलनात्मक रूपमा पहाडी क्षेत्रका आँदो र ग्रिनविट वाइपर सर्प उति धेरै विषालु हुँदैनन् ।
महाशाखाका अनुसार कम विषालु सर्पले टोकेमा टोकेको ठाउँमा सुन्निने, पोल्ने, पिसाबमा अलिअलि रगत देखिने, रगत जम्न समय लाग्नेलगायत लक्षण देखिन्छन् । यस्तो अवस्थामा चिकित्सकले लाक्षणिक उपचारले निको पारिदिन्छन् । अधिकृत शाहका अनुसार सर्पले टोकेको ठाउँमा जथाभाबी लामो समयसम्म बाँध्नु हँुदैन । यसो गर्दा सर्पले टोकेको अंग नै गुमाउनुपर्ने पनि हुन सक्छ,’ उनले भने ।
महाशाखाको तथ्यांकअनुसार तराई क्षेत्रमा मानिस मात्र होइन, घरपालुवा जनावर पनि सर्पबाट पीडित छन् । नेपालमा ७९ प्रजातिका सर्प पाइन्छन्, तीमध्ये २१ प्रजातिका मात्र बिषालु हुन्छन् । तीमध्ये पनि तीन प्रजातिका सर्पको प्रभाव बढी देखिएको छ– करेत, गोमन र भाइपर । नेपालका २६ जिल्ला विशेषगरी सर्प प्रभावित छन् । प्रभावित जिल्लाका करिब एक हजार मानिस बिषालु सर्पको टोकाइबाट बर्सेनि पीडित हुन्छन् । तीमध्ये ८ प्रतिशतको मृत्यु हुने गरेको अनुमान छ । जिल्ला तथा अञ्चल अस्पतालले सर्पले टोकेको उपचार नि:शुल्क गर्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि ५० लाख व्यक्ति सर्पदंशको सिकार हुन्छन् । तीमध्ये २५ लाखमा घातक विषको प्रभाव देखिन्छ । विश्वमा प्रभावितमध्ये बर्सेनि एक लाखको मृत्यु हुने गरेको छ । बर्सेनि करिब तीन लाख व्यक्तिले सर्पदंशका कारण हातखुट्टा गुमाउनु परेको तथ्यांक भेटिन्छ ।
चिकित्सकहरूका अनुसार सर्पले टोक्दा तुरुन्त अस्पतालमा गइहाल्नुपर्छ । विषको प्रकृति हेरी एन्टि स्नेक भेनम दिन्छन् चिकित्सकले । सर्प विषालु नभए पनि चिकित्सकले लक्षणका आधारमा बिरामीको उपचार गराउँछन् । टोकेलगत्तै प्राथमिक उपचारपश्चात् बिरामीलाई नहिँडाईकन अर्थात् कुनै सवारीसाधनमा राखेर छिटोभन्दा छिटो अस्पताल पुर्याउन सक्नु नै यसको प्रभावबाट बच्ने प्रमुख उपाय हो ।
सर्पले टोकेपछि
त्र टोक्नासाथ बिरामीलाई जिल्ला तथा अञ्चल अस्पताल वा एन्टी स्नेक भेनमसहित चिकित्सक उपलब्ध भएको प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याइहाल्नुपर्छ ।
त्र गोमन र करेतको टोकाइबाट हुने विषको प्रभाव चाँडो बढ्ने भएकाले प्रेसर बेन्डेज वा कपडाको प्रयोग गर्नु पर्दछ ।
त्र बेन्डेज वा कपडालले ट्याप्प हुने गरी बाँध्नुपर्छ तर धेरै कस्नुचाहिँ हुँदैन ।
त्र बेन्डेज हातखुट्टा मर्केको बेलामा जस्तै गरी लगाउनुपर्छ । तर, रक्तसञ्चारप्रणालीका रक्तधमनीहरूलाई असर पर्ने गरी वा नाडी महसुस नहुने गरी बाँध्नु हाुदैन । बेन्डेजको पत्रहरूका बीचमा कान्छी औँला छिराउन सक्ने गरी खुकुलो हुनुपर्छ ।
त्र सर्पलाई मार्ने प्रयास गर्नु हुँदैन । मारिसकिएको छ भने पहिचानका लागि अस्पतालमा सुरक्षासाथ लैजानुपर्दछ ।
त्र सर्पले टोकेको घाउ अनावश्यक रूपमा चलाउनु हुँदैन । पोल्ने, चिरफार गर्ने, घाउबाट विष चुस्ने, विद्युतीय झड्का दिने, मनलागी जडीबुटीको प्रयोग गर्ने गर्नु हुँदैन । यसो गर्दा घाउको संक्रमण बढ्छ । घाउमा विषको फैलिने गति बढ्छ र अत्यधिक रक्तस्राव हुन सक्छ । यस्ता कुरामा अल्झिनु समयको नोक्सानी मात्र साबित हुन सक्छ ।
पूर्वसावधानी
– घरआँगन र खेल्ने चौर वरिपरिका नचाहिने झाङ, ढुंगोमाटो, पातको थुप्रो, कसिंगर तथा धमिराको ढिस्कोलाई हटाउने ।
– अँध्यारोमा दाउरा संकलन नगर्ने वा बाहिर थुपारेको दाउरा राम्ररी नहेरी घरभित्र नलाने ।
– घरभित्र मुसा, छेपारा, भ्यागुतालाई पस्न नदिने ।
– जिउँदो सर्पलाई कहिल्यै पनि नचलाउने । बढी सर्प पाइने क्षेत्रमा एक्लै नहिँड्ने
– रूखको टोड्का तथा जमिनमा रहेका प्वालहरूमा जथाभाबी हात नहाल्ने, खुट्टा नपसाउने ।
– सर्प बढी पाइने क्षेत्रमा केटाकेटीहरूलाई खेल्न नदिने । त्यस्ता क्षेत्रमा हिँडडुल गर्नुपर्यो भने छालाको जुत्ता वा घुँडासम्म आउने रबरका बुट, बाक्लो पाइन्ट लगाउन नबिर्सने ।
– सुकेको काठ, ढुंगा वा पर्खालमाथि विचार गरेर मात्र बस्ने, काठ–मुढा उचाल्दा वा पल्टाउँदा सुरक्षित भाग समात्ने ।
– घरभित्र वा बाहिर भरसक जमिनमा नसुत्ने, त्यस्तै काठ थुपारेको ठाउँ, गुफा तथा सिमसार क्षेत्रनजिक सुत्नु पनि खतरनाक हुन्छ ।
– सिमसार क्षेत्रमा सावधानीपूर्वक हिँड्ने किनभने विषालु सर्प घामतापेर बसिरहेका भेटिन सक्छन् ।
– तराई क्षेत्रमा खाटमाथि सुतेका बखत पनि सर्पले टोकेका घटना भएका छन् । त्यसकारण विशेष गरी कच्ची घर वा खुला आकाशमा खाटैमाथि सुते पनि राम्रोसँग झुल लगाउनुपर्छ ।
प्रतिक्रिया