तानाशाही अभिव्यक्ति

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले नै अनन्तकालसम्म राज्य गर्ने अभिव्यक्ति दिएर सबैलाई तम्सिएका छन् । गत शनिबार सिराहा पुगेर दाहालले जुन अभिव्यक्ति दिए त्यसले वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा सहमति र सहकार्य चाहँदैन भन्ने स्पष्ट भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)लाई सत्तोसराप गर्दै आफूलाई गहुँतले नुहाएर चोख्याएको घोषणा गर्दै गर्दा दाहालको मुखबाट अकण्टक राज्य गर्ने कुनै तानाशाहाको इच्छा अभिव्यक्त भइरहेको बुझ्न सकिन्थ्यो ।
यो २१औँ शताब्दी हो । विश्वमा थुप्रै मुलुकका तानाशाहहरूको जग धमाधम भत्किँदै छ । नेपालमा भने लोकतान्त्रिक पद्धति मानेर मूलधारमा आएको तर विश्वका केही मुलुकले आतंककारी बिल्ला हटाइनसकेको एउटा दलको नेताले तानाशाह बन्ने आसयको अभिव्यक्ति दिनु आपत्तिजनक कुरा हो । विश्वका कुनै पनि मुलुकमा एकदलीय, तानाशाह अथवा सैनिक शासन चल्न सक्दैन । लोकतान्त्रिक व्यवस्था नै शासन पद्धतिको एक मात्र विकल्प हो । यसलाई छाडेर अनन्तकालसम्म शासन गर्न सकिन्छ भन्नु मूर्खता मात्र हुनेछ । तसर्थ अध्यक्ष दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको ठोस विश्लेषण गरेर बोल्दा राम्रो हुन्छ । केही दिनअघि मात्र मोर्चा बनाएर ‘नीति मिल्नेहरू एकै ठाउँ जम्मा भएको’ घोषणा दाहालले गरेका थिए । मधेस केन्द्रित दलहरूसँग एमाओवादीको नीति कहिलेदेखि मिल्न थाल्यो त्यो खोजीको विषय छँदैछ । अहिले भने ज्योतिषीय शैलीमा तानाशाही गन्ध आउने अभिव्यक्ति दिएर दाहालले आफैँ सहमति र सहकार्यको बाधक भएको स्पष्ट पारेका छन् । कांग्रेस र एमालेलाई संघीयताविरोधी देखाएर जनतामा भ्रम सिर्जना गर्ने कोसिस गरिरेहेका नीति मिल्ने सत्ता गठबन्धनले सहमतिप्रति किन पहल गरिरहेको छैन भन्ने प्रश्न उठेको छ । मात्र सत्ता भए पुग्ने सोचले प्रेरित भएकै दाहाल अभिव्यक्ति हो भने मुलुक मुठभेडतर्फ गएको बुझ्नुपर्छ । अन्यथा अहिलेसम्म सबैभन्दा ठूलो दल भनिँदै आएको र सत्ताको बागडोर सम्हालिरहेको दलका शीर्ष नेताले सहमतितर्फ नै जोड दिनुपर्ने थियो । संविधानसभा विघटन भएको सुइँकोसम्म कांग्रेस र एमालेलाई नदिने एमाओवादीका नेताले ‘आफैँ बोक्सी आफँै धामी’को भूमिका निर्वाह गर्न छाड्नुपर्छ । सत्ताको अति लोभले प्राप्त उपलब्धि गुम्न सक्छ र शीर्ष नेताको अहंपूर्ण र अस्वाभाविक अभिव्यक्तिले जनता र मुलुकको हित पनि गर्दैन । यसर्थ, वर्तमान वस्तुस्थिति बुझेर बोल्नु र सहमतिका लागि पहल गर्नु नै अहिलेका लागि हितकर हुन्छ ।
आफ्नो पार्टी कांग्रेसले विभाजन गरिदिएको आरोप लगाउने अध्यक्ष दाहालले आफ्ना सबै कुण्ठा पोख्ने क्रममा नबोल्ने कुरा पनि बोले । पार्टी विभाजनले दाहाललाई ठूलो चोट पुर्‍याएको छ । आफू कमजोर भएको र सत्तामा पुर्‍याउने आफूसँग भएको सबैभन्दा दरो ‘आफ्नै सेना’ पनि नभएको पिर मनमा बोकेर हिँडेका दाहालले अनन्तकालसम्म शासन गर्ने कल्पना गर्नु स्वाभाविक हुन सक्छ । तर, उनको कल्पनाले साकार हुने मौका पाउने हो भने नेपालमा कुन खालको शासन पद्धतिको विकास होला त्यो पनि सोच्नुपर्छ । एमाओवादीले अहिले नै लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिको अनुशरण गर्न छाडिसकेको छ । प्रजातन्त्रका अवयवहरू पनि बाँकी छैनन् । यस्तै समयमा हो ‘दोस्राको खैलाबैला तेस्राको लाभ’ हुने भनेको । दाहाल अभिव्यक्तिले गणतन्त्रविरोधीहरूलाई सहयोग त पुग्छ नै साथै मुलुकको समस्या पनि अनन्तकालसम्म लम्बिने छ । तसर्थ कुनै पनि राष्ट्रिय नेताले आपत्तिजनक र अस्वाभाविक अभिव्यक्ति दिनु हुँदैन । एमाओवादीका अध्यक्ष दाहालले तथानाम बोल्दै हिँड्नुभन्दा निर्वाचन गर्ने विषयमा अन्य दलसँग सहमति गरेर सहमतीय राष्ट्रिय सरकार गठन गर्ने पहल गर्नुपर्छ । तानाशाह बन्ने हाँस्यास्पद अभिव्यक्ति दिनु हुँदैन ।

प्रतिक्रिया