कांग्रेसको आत्मघाती कदम

नेपाली कांग्रेस संस्थापनकालदेखि लामो समयसम्म नेपाली जनताले सबैभन्दा बढी रुचाइएको राजनीतिक दल हो । यो आजसम्म पनि एउटा शक्तिशाली तथा ठूलो पार्टीका रूपमा रहिआएको छ । पछिल्लो समयमा यसले लिएको गलत प्रवृत्तिका व्यक्तिहरूको साथले गर्दा नै यसको विश्वसनीयता घट्यो, फलस्वरूप यसको आकार पनि तुलनात्मक रूपमा सानो हुन पुग्यो ।
हुनत साधारणतया सत्तामा बढी बस्ने पार्टीको लोकप्रियता घट्ने र विपक्षी पार्टीको लोकप्रियता बढ्नु सामान्य कुरा हो, कारण सत्ताधारी पार्टीले जनअपेक्षाअनुरूप काम गर्न नसक्नु नै हो । तर, सत्तामा पुगेर लोकप्रिय बनेका पार्टीहरू पनि देश विदेशमा पाइएका छन् । उदाहरणकै लागि भन्ने हो भने नेपालमै नेकपा (एमाले) को २०५१ सालको सरकारलाई लिन सकिन्छ । तर, कांग्रेस जबजब सत्तामा पुग्यो तबतब यसको लोकप्रियता घट्यो, यो लोकप्रियता घटाउने काम जजसले गरेका थिए आज उनीहरू फटाफट अदालतको आदेशबमोजिम भ्रष्टाचारको मुद्दामा जेल परिरहेका छन् । कांग्रेसको छवि बिगार्ने व्यक्तिहरू नै आज जेलमा पर्नुले उसले आफ्नो बिग्रिएको छवि सुधार्ने मौका पाएको छ । कांग्रेसले यो सुनौलो अवसरको सदुपयोग गर्न सक्नुपर्छ ।
हिजो कांग्रेसलाई बिगार्ने व्यक्तिहरू फटाफट जेल जाँदै छन् र अब यस पार्टीमा राम्रा व्यक्तिहरू मात्र छन् (भलै जनताले अझै पनि यस कुरामा प्रश्न उठाउने छन् ।) भनेर आफ्नो बिग्रेको छवि सुधार्ने नीति लिनुपर्ने हो, कांग्रेसले । तर, यसको ठीक उल्टो तीनै छवि बिगार्ने व्यक्तिहरूलाई साथ दिएर उनीहरूको मुद्दालाई पुनरावलोकन गर्ने संस्थागत निर्णय पो कांग्रेसले गरेको सुनियो । यसले कांग्रेसमा अझै भ्रष्टाचारीहरूको पकड छ अर्थात् कांग्रेसमा अझै पनि भ्रष्टहरूको हालिमुहाली रहेछ भनेर जनतालाई चिनाउनेछ । त्यसैले यस्तो पार्टीलाई जनताले किन समर्थन गर्ने भन्ने प्रश्नको उत्तर कांग्रेसले दिन सक्नुपर्छ । कांग्रेसले त अझै पार्टीमा यस्ता व्यक्ति बाँकी छन् भने भविष्यमा उनीहरूको पनि यही हालत हुनेछ भनेर अदालतले गरेको निर्णयलाई सहर्ष स्विकारेर विज्ञप्ति जारी गर्नुपथ्र्यो । त्यसैले कांग्रेसको यो गलत नीति हो पार्टीको भविष्यका लागि, यसले पार्टीको आकार अझ सानो बनाउन पक्कै पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
कांग्रेसले उठाएको कुरा भनेको आफ्ना नेताहरूलाई मात्र बलिको बोका बनाइयो भन्ने हो । तर, कांग्रेसले नबुझेको कुरा भने निर्दोष व्यक्तिलाई बलिका बोका बनाइएका होइनन्, तिनीहरू दोषी नै हुन् । सामान्य जनतालाई सोध्ने हो भने तिनीहरूलाई दिइएको सजाय कम भयो भन्ने नै बढी होलान् तथापि कांग्रेसले जनअपेक्षाविपरीत आफ्नो भावना व्यक्त गरेको देखियो । जनअपेक्षाविपरीत जाने पार्टीको भविष्य के होला भन्ने कुरा कांग्रेसलाई मैले सिकाइरहनु नपर्ला । त्यसैले कांग्रेसले विगतमा पार्टी त्यस्ता मानिसहरूको चंगुलमा परे पनि अब उक्त चंगुलबाट मुक्त छ र कहीँकतै अवशेषहरू बाँकी रहेमा तिनीहरूको पनि भोलि यही हालत हुनेछ भन्न सक्नुपथ्र्यो । यसको ठीकविपरीत कांग्रेस त तिनीहरूलाई नै काँधमा बोकेर हिँड्न लागेको छ, जबकि तिनीहरूको काँधमा बन्दुक राखेर अरूलाई प्रहार गर्नुपर्ने समय हो यो । हिजो माओवादीले अदालतबाट सजाय पाएका व्यक्तिहरूको संरक्षण गरेको तथा गैरराजनीतिक व्यक्तिका अपराधीहरूको मुद्दा फिर्ता लिएको भनी कांग्रेसले नै आरोप लाएको हो । कांग्रेसले नै यसरी भ्रष्टाचारीहरूको साथ दिने हो भने माओवादीको उक्त कदमभन्दा कांग्रेसको कदम कसरी फरक भयो ? कांग्रेस र माओवादी पार्टी अलग भए पनि घाँटी जोडिएका प्रवृत्ति भएका व्यक्तिहरूले चलाएका पार्टी होइनन् भनेर कसरी जनताले विश्वास गर्ने ? के कांग्रेससँग यसको उत्तर हुनेछ ?
कांग्रेसले त आफ्नो पार्टी तथा अन्य पार्टीमा समेत भएका भ्रष्टाचारीहरूलाई पनि नंग्याउने काम गर्नुपथ्र्यो, ती पार्टीमा अझै भ्रष्टाचारीहरू शिर ठड्याएर हिँडिरहेका छन् । तर, कांग्रेसमा भ्रष्टाचारीले शिर ठड्याएर हिँड्न पाउँदैनन् भनेर घोषणा गर्न सक्नुपथ्र्यो । कांग्रेसले यसो गरेन, त्यसैले कांग्रेसले समय चिन्न जानेन, यसरी नै समयभन्दा कांग्रेस पछि रहने हो भने भोलिका दिनमा कांग्रेस भन्ने पार्टी इतिहासको पानामा मात्र सीमित हुनेछ भन्नुमा अत्युक्ति नहोला । कांग्रेसले पार्टीको छवि बिगार्ने व्यक्तिहरू जेलमा पर्नुलाई सुनौलो अवसरको सदुपयोग गर्न सक्नुपथ्र्यो, तर उनीहरूको बचाउमा लागेर उसले आफ्नो खुट्टामा बञ्चरो हानेको छ

प्रतिक्रिया