इदले छोएन गफार परिवारलाई

रौतहट, ४ भदौ । मुस्लिम समुदायले हर्षोल्लासमा इद पर्व मनाइरहेका छन् । तर, अकोलवा–८ बलुवा टोलको एउटा घरमा यो वर्ष पर्वको कुनै रौनक छैन ।

२९ साउनको राति जग्गाका विवादमा बलुवा टोलमा एक दम्पत्तिको हत्या भएकाले परिवार बिचल्लीमा छन्, जहाँ इदको कुनै रौनक छैन । बलुवा टोलका शेख गफार र उनकी पत्नी सहनाज बेगमलाई अपराधीको समूहले गोली हानेर हत्या गरेका हुन् । हत्यापश्चात् टुहुरा बनेका गफारका दस सन्तानका लागि महापर्वले कुनै अर्थ राखेको छैन ।
घरपरिवारमा बसेर धुमधामसँग इद मनाउने बालबालिकाको सपना खरानी भएको छ । जग्गा विवादमा आफ्नै दाजुद्वारा भाइबुहारीको हत्या भएपछि गफार परिवारका बालबालिकाको बिचल्ली भएको हो । गफार दम्पत्तिलाई दाजु शेख मोबारकले स्थानीय र भारतीय डाँका बोलाएर हत्या गराएका हुन् । ‘आँखाअगाडि नै बुबालाई कन्चटमा गोली हान्यो । आमालाई भित्र कोठामै गोली हानेर मारे अपराधीहरूले,’ छोरी हसिमा खातुनले बताइन् ।
‘दिउँसो सबैका लागि बुबाले नयाँ कपडा किनेर ल्याउनुभएको थियो,’ माइली छोरी नसिबुन खातुनले भनिन्, ‘राति ठूलो बुबाले डाँका लगाएर आमाबुबा दुवैलाई मारे अनि सबै सामानसमेत लुटेर लगे ।’ मृतक गफारका चार छोरा र ६ छोरी छन् । कान्छो छोरा पाँच महिनाका छन् । गफारका १८ वर्षीया हसिबुल खातुन, १६ वर्षीया नसिबुन खातुन, १३ वर्षीय शेख साविर, १२ वर्षीय शेख साहिद, १० वर्षीय जसिबुल खातुन, पाँच वर्षीया ओसिमा खातुन, सात वर्षीय शेख आविद, चार वर्षीय हलिमा खातुन, तीन वर्षीया सलिमा खातुन र दुधे बालक मजिद छन् ।
बुबाआमाको हत्या भएपछि टुहुरा बनेका बालबालिकाका लागि इद पर्वले पुराना याद ताजा बनाउनेछ । गाउँभरि इद पर्व मनाउन धुमधामसँग तयारी भएको छ । तर, बालबालिका मात्र भएको घर शोकमग्न छ । ‘हाम्रो संसार उजाड्ने हत्यारालाई कारबाही होस्,’ नसिबुनले भनिन्, ‘स्थानीय प्रशासनले कारबाही नगरे सामूहिक रूपमा विष सेवन गरी आत्महत्या गर्नेछौँ ।’
सञ्चारकर्मीले इद पर्वबारे सोध्दा उनीहरू रोएका थिए । ‘अब इद पर्व हाम्रा लागि कुनै अर्थ छैन,’ उनीहरूले रुँदै भने, ‘के नै बाँकी रह्यो र खुसी मनाउन ?’ अझै पनि आफूहरू सुरक्षित नरहेको बताउँदै गफारकी जेठी छोरी हसिबुलले भनिन्, ‘राति अपराधीहरू आएर ज्यान मार्ने धम्की दिन्छन्, यो परिवारलाई नै सखाप पार्नुपर्छ भन्छन् ।’ साना दुई बालबालिका जसिबुल खातुन र मजिदलाई लालनपालन तथा सुरक्षाका लागि मामा घर लगेको बताउँदै शेख साहिदले अभिभावकको अभावमा जिल्ला प्रहरी कार्यालय गौरमा जाहेरीसमेत नदिएको बताए । ‘साह्रै अन्यायमा छौँ, कोही छैनन् अब,’ उनले भने, ‘तपाईंहरूले नै न्याय दिलाउन मद्दत गरिदिनुपर्‍यो ।’
सुरक्षाका लागि तीन प्रहरी राति ड्युटीमा खटिएका छन् । घटनामा संलग्न व्यक्तिमध्ये चारलाई नियन्त्रणमा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको एसपी ठूले राईले बताए ।

प्रतिक्रिया