अध्यादेशका विषयमा सोध्छुः दाहाल

रौतहट, ३ भादौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दहालले सरकारले खास प्रयोजनका लागि पठाएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नु अनुचित भएको टिप्पणी गरेका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा आज पत्रकार सम्मेलनमा उनले आफू काठमाडौं फर्किने बित्तिकै यस विषमा प्रधानमन्त्रीसँग बुझ्ने बताए । ‘सम्भवत राष्ट्रपतिले राष्ट्रिय सहमतिका लागि दबाव दिन अध्यादेश रोकेको हुनु पर्छ,’ उनले भने, ‘अध्यादेश रोक्ने प्रक्रिया बढयो भने देशका लागि नराम्रो हुने छ ।’
प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वको सरकारले संविधानका विवादित विषयहरुमा सहमति गरी जेठ–१४ गते नै राजीनामा दिई कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आफ्नो पार्टी तयार रहेपनि विभिन्न कारणले सहमति बन्न नसकेको उनले बताए ।
उनले भने, ‘सहमति नबने पछि बाध्य भएर संविधानसभा भङ्ग गरिएको हो ।’
संविधानका विवादित विषयहरुमा सहमति गरी संविधानसभा पुनः ब्यूताउन तयार भए कांग्रेसकै नेतृत्वमा सरकारमा जान एमाओवादी तयार रहेको दाहालले स्पष्ट पारे ।
‘अहिले पार्टीहरुले बाबुराम भट्टराईको राजीनामा माग्नु भनेको हास्यास्पद हो,’ दाहालले भने, ‘कामचलाउ सरकारको राजीनामा माग्नुको कुनै औचित्य छैन ।’
कांग्रेस र एमालेले भने जस्तै अहिलेको सरकारले राजीनामा दिए देश अन्योलमा फस्ने बताउदै उनले राष्ट्रपतिले त्यसबेला कदम चाले दुर्भाग्यपूर्ण हुने उल्लेख गरे ।
आफ्नो नेतृत्वमा गठन भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले सहमतिको प्रयास गर्ने भन्दै उनले देशलाई निकास दिने बताए । उनले गठबन्धन बनेको देखेर अरु पार्टीलाई नआतिन अग्रह गरे ।
खुद्रा व्यापार सुरु गरेको नेकपा–माओवादीले आफ्नो व्यापार चलाउन आफू माथि विभिन्न आरोप लगाएको दाहालको आरोप थियो ।
संचारकर्मीको प्रश्नको जवाफ दिदै सिरहमा शनिबार पत्रकारहरुले सरकार सम्बन्धी निकै प्रश्न सोधेर हैरान पारेपछि आफूले दिक्क लागेर बाबुराम भट्टराई सरकार अझै वीस वर्ष चल्छ भन्ने जवाफ दिएको उल्लेख गरे ।

प्रतिक्रिया