उपत्यकाको खानेपानीमा दिसाको जीवाणु

काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले काठमाडौं उपत्यकामा वितरित खानेपानीमा दिसामा पाइने कोलिफर्म नामक जीवाणु फेला परेको छ ।
उपत्यकामा हैजा, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या ह्वात्तै बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले उपत्यकामा वितरण भएका धाराको पानीको नमुना परीक्षण गर्दा अत्यधिक मात्रामा कोलिफर्म फेला परेको हो । दिसामा पाइने कोलिफर्म मानव स्वास्थ्यमा गम्भीर असर गर्ने जीवाणु हो । चिकित्सकका अनुसार पानी पिउँदा खाइने कोलिफर्मले झाडापखाला, आउँ, हैजा, टाइफाइड, हेपाटाइटिस ए, जन्डिस, पेटमा समस्या उत्पन्न गराउन सक्छ ।
जिल्ला जन स्वास्थ्य कार्यालयले गत साउनमा काठमाडौंका १० स्थानबाट धाराको पानीको नमुना परीक्षण गर्दा सात ठाउँका पानीमा अत्यधिक मात्रामा कोलिफर्म फेला परेको थियो । ‘पानीजन्य रोगका बिरामीको संख्या बढेपछि धारामा आउने पानीको नमुना संकलन गरिएको थियो,’ प्रमुख जिल्ला जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘पानीमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कोलिफर्मको मात्रा अत्यधिक पाइएपछि त्यो पानी सेवन नगर्न भनेका छौँ ।’
उनका अनुसार पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ । तर, उपत्यकामा वितरित पानीमा प्रतिसय एमएलमा एक सय ८० फेइकल कोलिफर्म फेला परेको छ ।
कार्यालयले टेकु, भीमसेनस्थान, कालिमाटी, स्वयम्भू, गौशाला र छाउनीका १० घरबाट पानीको नमुना संकलन गरी ‘ब्याक्टेरियोलोजिक अवस्था’ अध्ययन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । प्रयोगशालामा सूक्ष्म अध्ययन गरिएको पानीको नमुनापछि उपत्यकामा वितरित पानी पिउन योग्य नरहेको फेला परेको हो ।
श्रेष्ठका अनुसार प्रशोधन नगरी सोझै त्यस्तो पानी पिउनु रोग निम्त्याउनु हो । उनले उपत्यकामा वितरित धाराको पानी उमालेर मात्र सेवन गर्न सुझाव दिएका छन् । ‘कोलिफर्म पानी तताउँदा र वा क्लोरिन राख्दा सहजै मर्ने गर्छ,’ उनले भने, ‘त्यसकारण उपत्यकाको पानी पिउनुअघि उमालेर वा क्लोरिन राखेर मात्र पिउनु उपयुक्त हुन्छ ।’
पानीमा कोलिफर्म देखिनुले काठमाडांै उपत्यकाभित्र वितरित पानी विश्व स्वास्थ्य संगठन र नेपालकै मापदण्डविपरीत रहेको र यस्तो पानी सोझै पिउन नहुने विज्ञको भनाइ छ । कोलिफर्मका साथै पानीमा केही मात्रामा एमोनिया, आइरन, म्याग्नेट, अर्गानिक पदार्थ र कडापनसमेत फेला परेको प्रयोगशालाले जनाएको छ । हाल वितरित धाराको पानीले झाडाजन्य रोग मात्र होइन शरीरमा नीला दाग देखा पर्ने, छालाजन्य रोग, दाँत कालो बनाउने, कब्जियत गराउनेजस्ता समस्या पनि निम्त्याउने चिकित्सकको भनाइ छ ।
केही समयअघि जाइकाले गरेको अध्ययनले पनि उपत्यकाको पानीमा कोलिफर्मका साथै एमोनिया, आइरन, म्याग्नेट, अर्गानिक पदार्थ र कडापन बढिरहेको देखाएको थियो । मापदण्डअनुसार एमोनियाको मात्रा १ दशमलव ५ मिलिग्राम प्रतिलिटर भएको पानी खानयोग्य हुन्छ । जाइकाले गरेको अध्ययनले भने केयुकेएलले वितरण गरेको पानीमा यसको मात्रा प्रतिलिटर १ सय २० देखि १ सय ३० मिलिग्रामसम्म पाएको थियो । यस्तै, आइरनको मात्रा शून्य दशमलव ३ मिलिग्राम प्रतिलिटर हुनुपर्नेमा आठदेखि २० मिलिग्रामसम्म पाइएको छ ।
उपत्यकामा यस्तो पानीका कारण गम्भीर प्रकृतिका स्वास्थ्य समस्या निम्तिरहेको चिकित्सकको भनाइ छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा देखिएका हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस ‘ए’लगायत पेटसम्बन्धी बिरामीमध्ये अधिकांश प्रदूषित पानी सेवनका कारण भएको अस्पतालले जनाएको छ । सरुवा रोग विशेषज्ञ डा.वासुदेव पाण्डेले कोलिफर्मभन्दा पनि पानीमा एमोनिया बढी भए ठूलो समस्या आउने बताए । उनका अनुसार एमोनिया भएको पानी पिउनाले मिर्गौलासम्बन्धी रोग लाग्छ । ८० प्रतिशत रोगको कारण पानी भएकाले शुद्ध पानी मात्र प्रयोग गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया