सरकार वीस वर्ष पनि जान्छः दाहाल

सिरहा, २ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरुका बीच सहमति नभए वर्तमान सरकार २० वर्षसम्म पनि जान सक्ने बताएका छन् ।
सिरहाको लहानमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सहमति पनि नहुने र निर्वाचन पनि नभएको अवस्थामा वर्तमान सरकारले निरन्तरता पाइरहने छ ।’ उनले सहमतिका लागि कांग्रेस सभापति सुशील कोइराला बाधक रहेको बताए । दाहालले कोइरालालाई एमाओवादी फूटाएको आरोप समेत लगाएका छन् ।
कांग्रेसका नेताहरुले मुलुकलाई २०१७ सालको अवस्थामा पुराउन खोजिरहेको उनले आरोप लगाए । उन भने, ‘कांग्रेसको त्यो सपना कहिल्यै पूरा हुँदैन ।’
कांग्रेस र एमालेको संघीयता विरोधी गतिविधिका कारण संविधानसभा विघटन भएको आरोप दाहालको थियो ।
कांग्रेस र एमालेले काम चलाउ प्रधानमन्त्रीको राजीनामा माग्दै सडकबाट आन्दोलन गर्ने कार्य हास्यास्पद भएको अध्यक्ष दाहालको टिप्पणी थियो ।
उनले कांग्रेस र एमालेले पाँच बुँदे सहमति पालना गरेमा मात्रै कांग्रेस नेतृत्वमा सहमतीय सरकार निर्माण गर्न सकिने बताए ।

प्रतिक्रिया