‘कृषिको जोखिम बाँडफाँड हुन्छ’

राजविराज : गभर्नर डा. युवराज खतिवडाले कृषि क्षेत्रमा भएको लगानी जोखिम सरकार र वित्तीय क्षेत्रमा बाँडफाँडका लागि राष्ट्र बैंकले आवश्यक वातावरण तयार गर्ने बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार एभरेस्ट बैंकको ४७औँ शाखा उद्घाटन गर्दै गभर्नर डा. खतिवडाले कृषि क्षेत्रको उन्नति भए त्यसको सकारात्मक प्रभाव मुलुकको अर्थतन्त्रमा पर्ने बताए । कृषिबाट वैदेशिक मुद्रा भित्र्याउन उत्पादित वस्तु भारत निर्यातको व्यवस्था मिलाउनुपर्ने धारणा उनले राखे ।
ग्रामीण सेवामुखी बैंकिङ सेवा विस्तार गर्दै किसानको आर्थिकस्तर सुधारका लागि प्रशस्त सम्भावना भएको उल्लेख गर्दै जोखिम कम गरी लगानीको वातावरण बढाउनुपर्ने उनले बताए । किसानका समस्यालाई दृष्टिगत गरी आगामी दिनमा ऋण, कृषि उपकरण, बिउवीजनलगायत समेटेर प्याकेजमै समस्या हल गर्ने उपायको खोजी भइरहेको जानकारी पनि उनले दिए । बैंकका अध्यक्ष विके श्रेष्ठले कृषिका लागि पानी सबैभन्दा आवश्यक रहेको स्पष्ट पार्दै व्यवस्थापनका लागि आफूहरूले पानी तान्ने पम्पमा लगानी गर्ने प्रतिबद्धता जनाए । (सौस)

प्रतिक्रिया