बिर्सन नसकिने काला रातहरू

अहिले पनि आङ सिरिंग हुन्छ त्यस दिन सम्झँदा । धेरैपटक यो घटना लेख्छु भनेर पनि सकेको थिइनँ । यसपटक जबर्जस्त लेख्छु भनेर आँट गरेको मात्र हुँ । तैपनि त्यस दिनको सम्झनाले घाँटीमा ऐँठन भएजस्तो हुन्छ, सास रोकिएलाजस्तो । बडो अप्ठ्यारो महसुस हुन्छ । र, बेलाबेला घोरिन्छु– मैले अर्को जीवन पाएको हुँ । हो, २३ माघ ०६० को त्यस दिनले मलाई साह्रै झकझक्याउँछ ।
हेटौँडामा थियौँ । बिहानैदेखि नेपाल टेलिभिजनले मकवानपुरको हाँडीखोला, भीमानमा १९ आतंककारी मरेको र सुरक्षा फौजलाई ठूलो सफलता मिलेको समाचार देखाइरहेको थियो । बारीका पाटामा लाशका बिस्कुन थिए लहरै । मकवानपुरमा भएको पहिलो ठूलो घटना थियो । २२ माघको राति भीमानमा बास बस्न आएका नेकपा माओवादीका बारा पर्सा सेक्रेटरीसहित १९ जना मारिएका थिए । बैठकका सिलसिलामा उनीहरू सुरक्षित स्थल खोज्दै बारा र मकवानपुरको सीमामा रहेको भीमानमा आएका थिए भने सेनाले पनि पिछा गर्दै आएको रहेछ ।
भीमान जाने तयारीमा जुटेका थियौँ । पदमपोखरीबाट केही पर गाडीमा गएपछि जंगलतिर लाग्यौँ । केही पत्रकार र केही मानवअधिकारवादी छौँ । कुनै पनि बेला माथिबाट हेलिकोप्टरले बम बारुद बर्साउने खतरा छ । सेनाले मारेर फालेका लाश लिन माओवादी आउँछन् भनेर सेना तयारी हालतमा छ । अर्कोतर्फ जंगलमा कुनै पनि बेला बम पड्कन सक्छ, माओवादीले पनि टाढैबाट सेना ठानेर गोली हान्न बेर छैन ।
भीमान छिचोल्ने नक्सा थिएन हामीसँग । दिन मलिन थियो । बादल मडारिएको र अँध्यारो फैलिएको । जाँदाजाँदै सानो भीर आयो । जसै हामी खाल्डोमा हामफाल्यौँ । अघिका साथी कहालिइसक्नु भएको थियो । सबै मुख छोपेर बसिरहेका थिए । जब म पनि फुत्त हाम्फालेँ । ओहो, झन्डै सातो गएको । म त लाशमाथि हाम्फाल्न पुगेँछु । मुटु ढुकढुक भयो । माओवादी नेता, कार्यकर्ताको लाश फालेकै खाल्डोमा हामी हाम्फाल्न पुगेछौँ ।
०००
कमरेड विकास लामिछाने जो सेक्रेटरी थिए, उनी भित्तामा अडेस लागिरहेका थिए र उनका अगाडि अरू १३–१४ जना लडिरहेका थिए । मकवानपुरकै बसामाडीका मुक्ति भनिने कमान्डरदेखि उनका बहिनी पनि त्यहीँ थिए । सेनाले सबैलाई राति भीमानमा घेरा हालेर मारेको थियो । लाश फालिए पनि सेटिङ यस्तो थियो कि, कमरेड विकास अरू कमान्डरलाई दीक्षित गरिरहेका छन् । अरू लाम बसेर उनका कुरा सुनिरहेका छन् । कम्मरमा मोबाइलको कभर, छेउमै औषधिका पत्ता । उनको मुख यस्तो हँसिलो थियो कि, लाग्छ जुरुक्क उठेर अहिले नै उनी बोल्न बेर मान्दैनन् । मोटाघाटा, हट्टाकट्टा र जुरुक्कै उठेर बोल्लान् जस्ता ती कमान्डरसँगै अरू सबैको लाश गनेर, तस्बिर खिचेर हामी गाउँ पुग्यौँ । अलि माथिको गाउँमा रुवाबासी थियो ।
केही घरहरू थिए, घरमुनि बारीका पाटा । छेउमै भएको खोल्साको खाल्डोमा लाशहरू यत्तिकै फालिएका । कत्तरे घरका चोटामा सुतिरहेका माओवादीलाई सेनाले मुनिबाट माटोको लिउन नै छेड्ने गरी गोली दागेको प्रस्टै देखिन्थ्यो । चोटामा ध्वाँसो लागेर काला भएका भकारीमा पनि रगतका छिर्का थिए । करिब १२–१३ घर भएको भीमान एकाएक मसानघाट भएको थियो २२ माघको मध्यरात । सेनाले नियन्त्रणमा लिन सक्ने अवस्था हुँदाहुँदै अन्धधुन्ध गोली हानेर दुई सर्वसाधारणसहित १९ जनाको हत्या गरेको थियो ।
नेकपा माओवादी बाराको बैठक बस्ने तयारीमा भीमान आएका थिए नेताहरू । सेनाले सुइँको पाएर तयारीसहित आएको थियो । सेन्ट्री बसेको युवालाई नियन्त्रणमा लिएर अनेक ललिपप देखाउँदै नेताहरू सुतेको घर देखाउन लगाएछ । पालैपालो सेन्ट्री बसेकाहरू सुत्न लागेका बेला ती युवक आएपछि साथीहरूले किन आएको भनेर सोधेका पनि रहेछन् । उनी त्यतिखेर शाही सेनामा जागिरे भइसकेछन् र भने रे, ‘म मात्र होइन, साथीहरू पनि आएका छन् ।’ आँगनभरि सेना तैनाथ देखेर कमरेडहरूले गद्दार मात्र के भनेका रहेछन्, गोली भुटुटु चल्न थाल्यो । कपडा फुकालेर सुतेका कमरेडहरूले ‘आइया’ पनि भन्न पाएनन् । खाल्डोमा रहेकी एक युवती करिब नांगै थिइन् । उनका काका हामीभन्दा अघि पुगेर सर्ट फुकालेर छाती र कम्मर चैँ छोपिदिएका रे †
ठूलै सफलता हासिल गरेको गर्वमा सेनाले उनीहरूको तस्बिर खिचेर पठाएपछि खोल्सासम्म लाश घिसारेर पुर्ने काम पनि नगरी हिँडेको रहेछ र जुन युवकले उनीहरूलाई नेता बसेको घर देखायो, उसलाई पनि भोलिपल्ट लाश खोल्सामा फालेपछि तल ल्याएर गोली हानेर मारेर फालेछ । बिचरालाई थाहै थिएन, सेनालाई यत्रो सहयोग गर्दा पनि मृत्युनजिक छ भनेर ।
०००
हेटौँडा आइपुग्दा झमक्कै साँझ परेको थियो । त्यतिखेर स्टिल फोटो खिच्ने चलन थियो । समाचार पठाइयो डराइडराइ । नियन्त्रणमा लिन सकिने अवस्था हुँदा पनि गोली हानियो र सर्वसाधारण पनि परे भनेर । रातभरि निद्रा लागेन । खाना खान पनि मन थिएन । थकाइ पनि महसुस भएन । त्रास औधी थियो । मुलुकमा के होला ? के हुँदै छ । ओहो † आज दिउँसो सेनाको बम या माओवादीको छर्रा परेको भए… । डेढ वर्षको छोरा रुँदै थियो । बूढी दूध चुसाएर भुलाउन खोज्दै थिई । रात ढल्दै थियो । तर, आँखाभरि लाशका बिस्कुन । आँखा चिम्लिँदा पनि उही कमरेड विकास जुरुक्क उठेर केही सम्बोधन गर्लान् जस्ता ।
०५८ देखि ०६१ सम्म मकवानपुरमा द्वन्द्वको प्रभाव निकै थियो । हेटौँडा छाडेर म आºनै गाउँ सरिखेत पनि गइनँ । माओवादीहरू अलि आक्रामक थिए पनि । सूचनाका हिसाबले उनीहरू सम्पर्क पनि गर्थे । तर, आफैँलै देखेका, चिनेका धेरै नेता कार्यकर्ता मारिए । केही दिनअघि मात्र कोठामा आएर कालो चिया खाएर गफ गरेर गएका विद्यार्थी नेता प्रीतकुमार मोक्तान मारिएको घटना होस् या फापरबारीको झुरझुरेमा भएको भीडन्तको दृश्य । अनि सेनाको ब्यारेक आसपास खेल्न जाँदा बम पड्किएर मारिएका कुलेखानीका तीन बालक या धारामा ग्रिनेट राखेर नुहाइधुहाइ गर्न खोज्दा पड्किएर मकवानपुरको लावतीमा मारिएका तीन माओवादी कार्यकर्ताका नियति ।
उसो त उत्तरी मकवानपुरको गोगने र आग्रामा पनि उस्तै थियो द्वन्द्वको घाउ । द्वन्द्वका बेला मकवानपुरमा भएका र मकवानपुरेहरूले अन्य भूगोलमा गएर मृत्युवरण गरेकाहरूको पूूर्ण विवरण छन् ल्यापटपमा । ती सबै अनुहारमध्ये ७५ प्रतिशत त अहिले पनि झल्झली याद आउँछन् । बाँकी नचिनेकाहरूका आफन्तसँग पनि पछि भेटिएपछि द्वन्द्वको घाउ मकवानपुरमा कम थिएन भन्ने भान हुन्छ ।
द्वन्द्वका बेला ग्रामीण भेगको रिपोर्टिङ गर्न नेपाल प्रेस इन्स्टिच्युटले गजेन्द्र बुढाथोकी, म, रूपक मी शर्मा, श्रीधर पौडेल र पिबी दियालीलाई खोटाङ पठाएको थियो । दुईमहिने सुत्केरी पत्नीलाई छाडेर म कहिल्यै नगएको त्यो आगोको भुंग्रोमा होमिन पुगेको थिएँ । तीन दिन हिँडेपछि ज्यान घर फर्कन्न कि भनेर धेरै रोएको थिएँ । फतक्कै नौनारी गलेर हेटौँडा फर्कन नसक्ने अवस्था हो कि भनेर म आत्तिएको थिएँ । विवाह भएको १६ रात नपुग्दै ‘बरु भोकै राखे पनि आफैँसँग राख्छु’ भनेर हेटौँडाको डेरामा पत्नीलाई राखेको थिएँ । मोबाइल थिएन, फोन राख्ने हैसियत थिएन । किशोर नेपालको पत्रिका ‘नयाँ सडक’ बन्द भएको थियो । तलब कतैबाट आउँदैनथ्यो । ३० हजार रुपियाँजति आउने आशमा खोटाङमा माओवादी द्वन्द्वको रिपोर्टिङमा पुग्दा ज्यान घर फर्कन सक्दैन कि भनेर आत्तिएको घटनाभन्दा पनि डरलाग्दो थियो भीमान गाउँको घुमाइ ।
०००
साँच्चै घरबाट नजिकै भए पनि भीमान डरलाग्दो सम्झना हो जीवनको । माओवादी सरकारमा गएर यत्रो फुर्ती लगाएर बसेको छ । तर, मैले कमरेड विकासको नाम उच्चारण गरेको कतै सुनिनँ । लाग्छ, बाँच्नेहरूको जित रहेछ नक्कली गणतन्त्र र माओवादीको राज्यसत्ता । जहाँ बेपत्ता, मरेका र घाइतेको सुनुवाइ हुँदैन ।
भीमानमा साँच्चै मारिन सक्थ्यौँ हामी । भाग्यले बाँचेको सम्झन्छु म । अहिले तपाईं चितवनबाट मनहरी पुग्ने क्रममा बीचमा सुकुम्बासीको ठूलो बस्ती देख्नुहुन्छ मनहरी बजारको छेउमा । त्यो बस्ती हामी ०५८ सालमा सुकुम्बासी हुँदादेखि बसेको हो । बाढीले मकवानपुर सोत्राम्मे पारेपछि गाउँबाट विस्थापित भएकाहरू बसेको बस्तीमा आज हुकुम्बासी पनि छन् । त्यो बस्ती बसाउने काम गर्ने मानबहादुर थिङ हुन् । सेनासँग दोस्ती गरेको भनेर माओवादीले उनलाई पनि देउकोटको जंगलमा घिसारेर मारे । उनको नाम जनमुखी कान्छा थियो । हेटौँडामा सुकुम्बासीका समाचार ल्याउने ती दाइ मरेका छैनन् जस्तो लाग्छ । अहिले पनि मनहरी घर जाँदा मानबहादुर आएर समाचार दिन्छन् कि झैँ लाग्छ । तर, माओवादीको हातबाट मारिएका उनलाई सम्झने फुर्सद कहाँ छ र यो व्यापारी राजनीतिक कार्यकर्तासँग ?
युद्धमा मर्नेहरू अमर हुन्छन् भन्ने पनि वाहियात लाग्न थालेको छ । मलाई विकास लामिछानेका परिवार, त्यो भीमान अनि मानबहादुरका टुहुरा छोराहरू भेट्न मन छ । सुनेको छु, जनमुखी कान्छाका छोराहरू गाडीका खलासी छन् । विकास लामिछानेका परिवारले माओवादीबाट के न्याय पाए ? उनी बाँचेका भए मलाई लाग्छ देवेन्द्र पौडेलको भन्दा ठूलो हैसियत हुन्थ्यो पार्टीमा अनि जनमुखी कान्छा बाँचिरहेका भए माओवादीबाटै मनहरी नगरपालिकाको मेयर । तर, १६ हजारभन्दा बढीको रगतले कसैलाई चोख्याएको छ भने हिजोको दरबारिया, सामन्ती र शोषकहरूलाई चोख्याएर २८ चैत ०६३ पछिको चैते क्रान्तिकारी बनाएको छ र युद्धमा त्याग गर्ने विकास लामिछानेहरू माटो मात्र ।

प्रतिक्रिया