चुनावी सरकार बनाउन थापाको सुझाव

काठमाडौं, १ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापाले जनप्रतिनिधिमुलक संस्थाले मात्रै संविधान बनाउनुपर्ने भन्दै नयाँ निर्वाचनका लागि सुझाव दिएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटबार्तामा उनले राजनीतिक संकट समाधान गर्न स्वतन्त्र चुनावी सरकारले निर्वाचन गराउनुपर्ने सुझाव दिएको बताए ।
उनले भने, ‘सहमतिका आधारमा संवैधानिक संकट समाधान गर्नुपर्ने सुझाव एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छु ।’
आज विहान लाजिम्पाटस्थित दाहाल निवासमा भएको भेटबार्ताका क्रममा थापाले संकट समाधान गर्न आग्रह गर्दै राप्रपा (नेपाल)का तर्फबाट ६ बुँदे सर्वदलीय सहमतिको आधारपत्र दाहाललाई बुझाए ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले राष्ट्रिय सहमति मार्फत मुलुकमा जारी संवैधानिक संकट अन्त्य गर्न एमाओवादीको ध्यानाकार्षण गराएको जानकारी दिए ।
उनले चुनावका लागि तत्काल दलहरुका वीच सहमति गर्दै संवैधानिक अड्चन हटाउनुपर्ने बताए ।
छलफलमा अध्यक्ष दाहालले दलहरुवीच सकारात्मक वातावरण बनाउन आफूले पहल गर्ने जवाफ थापालाई दिए । दाहालले आफूहरुले निर्माण गरेको गठबन्धनमा सहभागी भई सहमति कायम गर्न थापालाई आग्रह पनि गरेका थिए ।

प्रतिक्रिया