काठमाडौं, १ भदौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक भागबन्डामा पदाधिकारी नियुक्तिको विरोधमा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यस्थिति गम्भीर बनेको छ । चार दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्यस्थिति बिहीबार साँझसम्ममा गम्भीर बन्दै गएको हो ।
उनको अवस्था गम्भीर बन्दै गएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सकले हस्तक्षेप गरी सिसियुमा राख्ने तयारी गरे पनि डा. केसी भने सिसियुमा जान मानिरहेका छैनन् । उनी जस्तो परिणाम आए पनि कुनै हालतमा अनशन नतोड्ने पक्षमा छन् । उनको अवस्था नाजुक बन्दै गएपछि चिकित्सकले अनशनस्थलमै आवश्यक उपकरणसहित आइसियु तयारी बनाएर राखेका छन् । उनीहरूले भेन्टिलेटर पनि तयारी अवस्थामा राखेका छन् ।
यस्तै अवस्था रहे उनको अर्गान फेल हुन सक्ने भन्दै डा. केसीले नमाने पनि उनीहरू हस्तक्षेप गर्ने निष्कर्षमा पुगेका हुन् । ‘अर्गान फेलियरमा जान सक्ने संकेत देखिएकाले अनशनस्थलमा उपकरणसहित आइसियु बनाउनुपरेको हो,’ उपचारमा संलग्न चिकित्सक डा. प्रेम खड्गाले बताए ।
डिन नियुक्तिको विषय राष्ट्रपतिसम्म
डा. केसीको मागमा समर्थन जनाउँदै टिचिङका चिकित्सकले बिहीबार राष्ट्रपति डा. रामवरण यादवलाई भेटेका छन् ।
टिचिङको डिन नियुक्ति प्रक्रियालाई योग्यता, क्षमता र वरिष्ठताका आधारमा वा प्रतिस्पर्धाका आधारमा व्यवस्थित बनाउनुपर्ने माग राखेर अनशनमा बसेका डा. केसीको ज्यान जोगाउन र मागको सम्बोधन गर्नुपर्ने भन्दै ५० जना चिकित्सकले राष्ट्रपतिलाई भेटेका हुन् ।
डा. कसीको मागबारे त्रिविका कुलपति तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल चिकित्सक संघका टोलीलाई भेट नदिएपछि चिकित्सकको टोली राष्ट्रपतिसमक्ष पुगेको हो । डिन नियुक्तिको कुरा राष्ट्रपतिसमक्ष पुगेको यो पहिलोपटक हो । संस्थान त्रिविअन्तर्गत रहेको र त्रिविको कुलपति प्रधानमन्त्री भएकाले पनि प्रधानमन्त्रीले डिन नियुक्तिमा भएको विवादको विषयमा कुनै चासो नदिएको र भेटसमेत नदिएकोमा उनीहरू प्रधानमन्त्रीप्रति आक्रोशित बनेका छन् ।
संघका अध्यक्ष डा. किरण श्रेष्ठले टिचिङको समस्याबारे प्रधानमन्त्रीसँग बिहीबार दिउँसो भेट्ने समय लिएकामा अन्तिम समयमा आएर प्रधानमन्त्री कार्यालयबाट व्यस्तताका कारण भेट गर्ने समय नमिल्ने जानकारी आएको बताए । ‘प्रधानमन्त्री कार्यालयबाट बिहीबार भेट गर्ने समय नभएकाले शुक्रबार मात्र भेट्न मिल्ने जानकारी आयो,’ उनले भने ।
‘प्रधानमन्त्री र त्रिविका सहकुलपति एवं शिक्षामन्त्री दीनानाथ शर्माले समेत यो विषयमा चासो नदिएकाले राष्ट्रपतिसमक्ष पुगेका हौँ,’ एक चिकित्सकले सौर्यसँग भने, ‘एकजना चिकित्सकले अस्पतालमा राजनीतिक नियुक्ति नगर, योग्यताका आधारमा गर संस्थालाई राम्रो बनाउन भनी चार दिनदेखि अनशनमा बस्दासमेत प्रधानमन्त्री र शिक्षामन्त्रीले कुनै चासो दिएनन् ।’
डा. केसीको मागको विषयमा कतैबाट पनि ठोस कदम चाल्न नसकेकाले चिकित्सकको टोली राष्ट्रपतिसमक्ष गएको डा. मोदनाथ मरहठ्ठाले बताए । उनले राष्ट्रपतिलाई संस्थान सुधारका लागि डा. केसीले राखेका माग र उनको स्वास्थ्यस्थितिबारे जानकारी गराइएको बताए ।
भेटमा राष्ट्रपतिले समस्याको समाधानका लागि प्रधानमन्त्रीलाई आफूले पहिले नै भनिसकेको बताए । ‘अनशनमा बसेका डा. केसीको ज्यान बचाउन र संस्थाको हितका लागि तत्काल तपाईंको संयन्त्र प्रयोग गरी समस्या समाधान गर्नु भनेको छु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै डा. मरहठ्ठाले भने । उनका अनुसार राष्ट्रपतिले पनि डा. केसीको माग जायज रहेको र देश र संस्थाको हितका लागि भएको बताएको जानकारी दिए ।
डिन नियुक्तिबारे राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि तत्काल टिचिङमा डिन नियुक्ति हुने सम्भावना देखिएको छैन । त्रिविले बनाएको तीन सदस्यीय छनोट समितिले नाम दिएपछि मात्र डिन नियुक्ति हुन सक्ने त्रिवि उपकुलपति डा. हीराबहादुर महर्जनको भनाइ छ । उनका अनुसार समितिले नाम सिफारिस गरेर पठाएपछि मात्र डिनको नियुक्ति हुनेछ । बिहीबार रातिसम्म समितिले नाम सिफारिस नगरेको उनले बताए ।
त्रिविले बुधबार डा. ऋतुप्रसाद गड्तौलाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा डा. सुरेश बास्तोला र डा. हरिदर्शन श्रेष्ठ छन् । समितिका संयोजक डा. गड्तौलाले शुक्रबारसम्म पनि डिनको नाम सिफारिस हुन गाह्रो रहेको बताए । उनले डा. केसीलाई बलिको बोका बनाएर अरू डाक्टरले संस्थानमा चलखेल गरेकाले तत्काल समस्या समाधान हुने सम्भावना नरहेको बताए । उनले कांग्रेस, एमाले र एमाओवादीका तर्फबाट तीनजनाको नाम आएपछि मात्र तिनीहरूमध्ये एकजनाको नाम छनोट हुने बताए ।
संस्थान र अस्पतालमा राजनीतिक गतिविधि बढ्दा संस्था धराशयी हुँदै गएकाले संस्थान तथा अस्पतालमा पदाधिकारी नियुक्ति भागबन्डामा नभई वरिष्ठता वा प्रतिस्पर्धाका आधारमा गरिनुपर्ने भन्दै डा. केसी सोमबारदेखि अनशनमा बसेका हुन् । उनको मागलाई समर्थन गर्दै अस्पतालका रेजडेन्ट तथा अन्य चिकित्सकले अस्पतालका आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । चिकित्सकले दुई दिनदेखि अस्पतालको सेवा ठप्प पारेपछि अस्पतालमा दैनिक उपचार गर्न जाने बिरामी भने समस्यामा पर्न थालेका छन् । टिचिङमा दैनिक दुई हजार देखि २५ सय हाराहारी बिरामी उपचारका लागि जाने गर्छन् ।
त्रिविका उपकुलपति प्रा.डा. महर्जनले विशेषाधिकार प्रयोग गरी सोमबार एकल निर्णयवाट संस्थानमा वरिष्ठतामा ५० जना चिकित्सकभन्दा तल रहेका डा. धर्मकान्त बास्कोटालाई निमित्त डिनमा नियुक्त गरेका थिए ।
चार/पाँच दिन अनशन बस्दैमा केही हुँदैन
डा. हीराबहादुर महर्जन
उपकुलपति, त्रिवि
अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेको विषयमा मलाई अहिलेसम्म कुनै जानकारी छैन । यसबारे बिहीबार शिक्षामन्त्री दीनानाथ शर्माले मलाई सोध्नुभएको थियो । मैले निमित्त डिन डा. धर्मदत्त बास्कोटा निमित्त डिनमा नियुक्ति भएको र डा. केसीले उठाएका विषयमा जानकारी दिएको छु । डा. केसीले डा. कुमुदकुमार काºलेको डिनको म्याद सकिनुभन्दा एक दिनअघि अनशन सुरु गर्नुभएको हो । उहाँले अनशनमा बस्नुपर्ने अवस्था थिएन । अनशनमा बस्दा स्वास्थ्य नाजुक भयो भन्ने त मलाई जानकारी आएको छैन । उहाँ पहिला पनि चार दिन अनशन बस्नुभएको थियो । टिचिङको समस्या समाधानको विषयमा सुझाव दिन हामीले एउटा सुझाव समिति बनाएका छौँ । समितिले आजसम्म केही सुझाव दिएको छैन । सुझाव नआएसम्म समस्या समाधान हुन सक्दैन ।
एक जनाको ज्यानका लागि सिस्टम किन बिगार्ने ?
डा.ऋतुराज गड्तौला
संयोजक, डिन छनोट समिति
डिनको नाम सिफारिस गर्ने प्रक्रिया हुन्छ । कुनै व्यक्ति अनशनमा बसेको छ भन्दैमा प्रक्रिया मिचेर नाम दिनुपर्छ भन्ने छैन । जहाँसम्म उहाँको स्वास्थ्य गम्भीर भएको भन्ने कुरा बाहिर आएको छ त्यस्तो होइन । टिचिङमा एक सय एक चिकित्सकको घेराभित्र रहेका उहाँको अवस्था तलमाथि हुन्छ भन्ने मलाई लागेको छैन । फेरि टिचिङमा त्यत्रा उपकरण पनि छन् । डा.केसीले राखेका जुन माग छन् ती माग ऐन–कानुनअनुसार बाझिएका छन् । त्यसकारण एक जनाको स्वास्थ्य बिग्रियो भन्दैमा हामी नियमबाहिर जानुपर्छ भन्ने छैन । उहाँहरूले वरिष्ठताको आधारमा दिएको नामको लिस्ट पनि एकपक्षीय छ । यस्तो कुरामा हामीले ध्यान दिनु आवश्यक छ । एक जना व्यक्ति अनशनमा बसेको छ र उसको ज्यान खत्तम हुन लाग्यो भनेर हामीले भइरहेको सिस्टम बिगार्न मिल्दैन । उनको ज्यानका लागि सिस्टम किन बिगार्ने । फेरि उहाँको माग पूरा गर्न हजाराँै बिरामीले उपचार नपाएकोतर्फ चाहिँ कसले हेर्छ ?
प्रतिक्रिया