हामी जातिवादी होइनौँ : राई

काठमाडौ, भदौं । एमाले उपाध्यक्ष अशोक राईले न्याय र परिवर्तनका विरोधीले आफूलाई जातिवादीको आरोप लगाएको बताएका छन् । अन्याय र विभेदमा पारिएका जनताको पक्षमा उभिदा जातिवादी भन्नु दुर्भाग्यपूर्ण रहेको उपाध्यक्ष राईको भनाइ छ ।
किरात राई पत्रकार संघले बिहीबार राजधानीमा गरेको अन्तरक्रियामा उपाध्यक्ष राईले आफू कुनै जातिविशेषको पक्षमा नभएर समग्र उत्पीडनमा परेका जनताको न्यायको पक्षमा उभिएको दाबी गरे । ‘उत्पीडनमा परेका जनताको न्याय र मुक्तिको कुरा गर्दा जातिवादीको आरोप लगाइँदै छ,’ उनले भने, ‘तर, कसैले भ्रम छर्दैमा अभियान रोकिँदैन, जनता सचेत छन् ।’
उनले अब एमालेमा फर्किने कुनै सम्भावना नरहेको उल्लेख गर्दै आगामी असोजसम्ममा नयाँ शक्ति घोषणा गरेर अघि बढ्ने बताए । नयाँ शक्ति जातीय पार्टी नहुने उनको स्पष्टोक्ति थियो । ‘म आफैँ जातीय अतिवादको विरोधमा लागेको मान्छे हुँ,’ उनले भने, ‘कुनै पनि हालतमा जातीय पार्टी बनाउँदैनौँ ।’
पुष्पलाल श्रेष्ठले पाँचजना नेवारलाई लिएर कम्युनिस्ट पार्टी स्थापना गरेको स्मरण गर्दै उनले आदिवासी जनजातिले नेतृत्व गर्दैमा जातीय पार्टी भन्नु गलत हुने धारणा राखे । ‘हिजो पुष्पलालले पनि पाँचजना नेवारलाई लिएर कम्युनिस्ट पार्टी बनाउँदा केहीले जातिवादीको आरोप लगाए तर उनले जातीय राजनीति गरेनन्,’ उनले भने, ‘आज हामीलाई पनि त्यही भनिँदै छ ।’ उत्पीडनमा परेका सबै वर्ग, जाति, क्षेत्र तथा लिंगका लागि साझा पार्टी बनाएर जाने उनले बताए ।
उनले न्याय र परिवर्तनका पक्षमा उभिने नेताहरूलाई जहिल्यै पनि बदनाम र अपमान गरिँदै आएको बताए । ‘हिजो मोहनविक्रमले पुष्पलाललाई गद्दार भने, मोदनाथ प्रश्रितले गद्दार पुष्पलालसँग पाँच वर्ष भनेर लेखे,’ उनले भने, ‘जनआन्दोलनका नायक गणेशमान सिंहले पनि रुँदै–रुँदै कांग्रेस छाडेका थिए, एमालेमा सहाना प्रधानलाई उस्तै बनाइयो, आज मलाई पनि त्यसै गर्न खोजियो ।’
आफूले एमालेलाई रूपान्तरण गर्न अनेकौँ उपाय अवलम्बन गरे पनि सफल हुन नसकेको दाबी उनले गरे । ‘मैले जहिल्यै सबैभन्दा बढी मत लिएर पार्टी नेतृत्वमा निर्वाचित भएँ, चाहेको भए म पनि गुट बनाउन सक्थेँ, एमालेभित्रको मेरो ४० वर्षको राजनीतिक जीवनमा कहिल्यै गुट बनाइनँ,’ उनले भने, ‘गुट त कमजोर मनोबल भएकाले बनाउने हो, अहिले हामीले बनाएको गुट होइन, एउटै विचार भएका व्यक्तिहरू एकै ठाउँ बसेका मात्रै हौँ ।’
संघीयता नचाहने एमाले र कांग्रेस नेताहरूले भारत र चीनलाई पनि नेपालको राज्य पुन:संरचनाका विषयमा गलत रूपमा बुझाएको खुलासासमेत उनले गरे । ‘नेताहरूले जातीय पहिचानका आधारमा राज्य पुन:संरचना गर्दा खतरा हुन्छ भनेर दुवै देशलाई डर देखाएका छन्,’ उनले भने, ‘चीनलाई फ्री तिब्बतको डर देखाइदिएका छन्, भारतलाई नश्लीय आधारमा चिनियाँसँगको सम्बन्धको त्रास देखाएका छन्, यो दुवै गलत हो ।’

प्रतिक्रिया