दाहाललाई जिम्मेवार बन्न राष्ट्रपतिको सुझाव

काठमाडौं, ३२ साउन । एकीकृत माओवादीको नेतृत्वमा गठन भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनका पदाधिकारीले राष्ट्रपति डा.रामवरण यादवसँग भेटगरि आफूहरुको नीति तथा कार्यक्रमका बारेमा जानकारी गराएका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा गठबन्धनको उदेश्यका विषयमा जानकारी गराएको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए । उनले सहमति र सहकार्यका लागि गठबन्धन बनाएको दाबी गरे ।
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै उनले आफूहरुको गठबन्धन कसैका विरुद्ध नरहेको बताए । उनले भने, ‘गठन्धनमा कांग्रेस र एमालेलाई ल्याउन भोलीदेखिनै बार्ता थाल्छौं ।’
राष्ट्रपति डा.यादवले मुलुक संकटबाट गुज्रिरहेको भन्दै सहमति गरेर जान गठबन्धनका दलहरुलाई आग्रह गरे । सिंहका अनुसार राष्ट्रपति डा.यादवले कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको जस्तो व्यक्तित्व रहेका व्यक्ति नभएका समयमा दलहरुका वीच सहमति जुटाएर जिम्मेवारीका साथ जाने दायित्व पुष्पकमल दाहालको रहेको बताए ।
डा.यादवले अध्यक्ष दाहाललाई गम्भीर भएर सहमति जुटाउन सुझाव दिए ।
प्रधानमन्त्रीका सल्लाहाकार गंगा श्रेष्ठले वर्तमान गठबन्धको प्रमुख उदेश्य निर्वाचन सम्पन्न गर्ने रहेको बताए । उनले दलहरुका वीच सहमति भए संविधानसभा पुनःस्थापना पनि गर्न सकिने बताए ।
सरकारमा रहेका र समर्थन गर्ने दलहरुलाई समेटेर एमाओवादीले अध्यक्ष दाहालको अध्यक्षतामा बुधबार गठबन्धन सार्वजनिक गरेको थियो । धु्रविकरण हुने भन्दै गठबन्धनको कांग्रेस र एमालेले विरोध गरेका छन् ।
यसैवीच, प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति डा.यादवसँग भेट गरेका छन् । गठबन्धनसँगको भेट सकिए लगत्तै उनले डा.यादवालाई एक्लै भेट गरेका हुन् ।

प्रतिक्रिया