नाम मात्रैको धमाका

काठमाडौं ३२ साउन । पछिल्लो समय नयाँ शैली र अलग धारका चलचित्र बन्ने क्रमले तीव्रता लिएको छ । यद्यपि केही पुरानै ढर्रामा बनेका चलचित्र पनि अस्तित्व जोगाउन कसरत गरिरहेका छन् । तिनैमध्येको चलचित्र हो, धमाका । पुरानै ढर्रामा गइसकेपछि विगतका चलचित्रभन्दा ‘विशेष’ हुनु अहिलेको अपेक्षा हो । तर, यो चलचित्र नाममा मात्र ‘धमाका’ देखिन्छ, प्रस्तुति हेर्दा ‘पट्यारलाग्दो’ छ भन्न करै लाग्छ ।
कलेज पढ्ने युवक निमेष (सुमन सिंह) को सोही कलेजकी छात्रा रेखा (उषा पौडेल) सँग प्रेमको चक्कर चल्छ । रेखा आफ्ना सौतेनी काकाको षड्यन्त्रमा फस्छे, काका उसको सम्पत्ति हत्याउने दाउमा हुन्छन् । काका रेखाको प्रेमीलाई झूटो हत्याको आरोपमा जेल पुर्‍याउँछन् । काकाप्रति अगाध विश्वास गर्ने रेखा पनि प्रेमीलाई नै दोषी देख्छे । प्रहरी इन्स्पेक्टरको भूमिकामा नायक निखिल उप्रेती पीडितलाई न्याय दिलाउन कसिन्छन् । उही फाइट, पुरानै शैलीबाट षड्यन्त्रको पर्दाफास र अन्त्यमा ‘हिरोहिरोइन’को मिलन हुँदै चलचित्र सकिन्छ । छोटो भूमिकामा देखिएका राजेश हमाललाई दर्शक तान्ने ‘शोपिस’ मात्र बनाइएको देखिन्छ । विषयवस्तु नयाँ पटक्कै लाग्दैन । नाम चलेका कलाकारहरूको भूमिका पनि फिक्का लाग्छ । निखिलको अभिनयमा प्रहरी इन्स्पेक्टरको जस्तो ‘बोल्डनेस’ देखिँदैन ।
कतिपय दृश्य अपत्यारिला त छँदै छन्, हास्यास्पद पनि छन् । कुनै डेटिङ स्थलमा भेट भएका प्रेमीप्रेमिका ‘सिरियस मुड’मा हुन्छन् । प्रेमीले आफ्नो औँला काटेर रगतले उनीहरूरूको नाम लेख्छ । त्यत्तिकैमा प्रेमिकाले हेन्डिप्लास्ट झिकेर लगाइदिन्छे । मानौँ, प्रेमीले डेटिङ स्थलमा औँला काट्ने कुराप्रति पूर्वसूचित छे ऊ † घरमा त प्राथमिक उपचारका सामान राख्ने संस्कार हुर्किनसकेको नेपाली समाजमा यो दृश्य हाँसो उठ्दो लाग्छ । कलाकारहरूको गेटअप भूमिकासँग मेल खाँदैन । मुख्य खलनायकदेखि नायक र सहनायकहरू सबैको कपाल लामै छ । लाग्छ– यो कुनै त्यस्तो समाजको कथा हो, जहाँ कपाल नपाल्नेहरू भेट्नै मुस्किल छ ।
सम्पादन तथा छायांकन सामान्य छन् । नयाँ संगीतकार भएर होला, संगीतपक्ष उति विशिष्ट लाग्दैन । चलचित्र हेर्दा निर्देशक आफैँले पनि अझै निकै सिक्न बाँकी भएजस्तो देखिन्छ । द्वन्द्वका शैली र प्रसंग अरू पुरानै चलचित्रका जस्ता छन् । म्युजिक भिडियोमा जमेका नृत्यनिर्देशक शिव विकले चलचित्रमा आएपछि त्यो साख जोगाउन सकेका देखिँदैनन् । समग्रमा एक्सन, नृत्य, अभिनय कुनै पनि पक्षमा धमाका देखाउन नसकेको चलचित्र धमाका प्रतिस्पर्धात्मक मार्केटमा पूरै फिक्का लाग्छ ।

प्रतिक्रिया