सहकारी अनुगमन कार्यविधिको ड्राफ्ट तयार

काठमाडौं, ३२ साउन । सहकारीमा बढ्दै गएको विकृतिलाई नियन्त्रण गर्न सहकारी तथा गरिबी निवारण मन्त्रालयले कार्यविधिको ड्राफ्ट तयार गरेको छ । कार्यविधिअनुरूप सहकारी अनुगमनलाई तीव्रता दिने मन्त्रालयको योजना छ । सहकारी स्वनियमनमा चल्ले पद्धति भएकाले संस्था सही ढंगबाट सञ्चालित भए/नभएको पत्ता लगाउन कार्यविधि बनाएको मन्त्रालयले जनाएको छ ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारी भाग्ने गरेको र ती सहकारीमा अन्यका तुलनामा ऐन, नियमन, मापदण्ड अनुरूप सञ्चालन नभएको भेटिएकाले अनुगमनमा जोड दिने मन्त्रालयका प्रवक्ता सुदर्शनप्रसाद ढकालले जानकारी दिए । सहकारी संस्थामा समस्या आएका कारण तिनलाई नियन्त्रण गर्न ऐन, नियमन र मापदण्डअनुरूप कार्यविधि निर्माण गरिएको पनि उनले बताए ।
‘सहकारी अनुगमनलाई चुस्त बनाउन कार्यविधि बनाएका हौँ,’ प्रवक्ता ढकालले भने, ‘कार्यविधिबारे विभिन्न निकायसँग छलफल गर्ने छौँ ।’ सहकारीकर्मीको सल्लाहबमोजिम सच्याउनु पर्ने कुरा सच्याई मन्त्रिपरिषद्मा पठाउने उनले बताए । सहकारीको निक्षेप सुरक्षित राख्ने यसको मुख्य उद्देश्य रहेको ढकालको भनाइ छ । सहकारी संघ/संस्थालाई स्वनियमनमा राख्ने, सहकारीलाई सदस्यले नियन्त्रण गर्न पाउनुपर्नेजस्ता बँुदा समेटिएका छन् ।
मन्त्रालयले कार्यविधि निर्माणका लागि ८ साउनमा उपसचिव बाबुराम भुसालको संयोजकत्वमा निर्माण गरेको थियो । कार्यदलमा राष्ट्रिय सहकारी संघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन), सहकारी विभाग लगायतको प्रतिनिधित्व रहेको छ । आर्थिक वर्ष ०६८/६९ मा विभाग र नेपाल राष्ट्र बंैकले एक सय २६ सहकारीको अनुगमन गरेको विभागले जनाएको छ । सहकारीमा विकृति बढेपछि ०६६ माघदेखि राष्ट्र बैंकका कर्मचारीको सहयोगमा ठूला सहकारीको सघन अनुगमन सुरु गरिएको थियो ।
अनुगमनका क्रममा सहकारी ऐन र मापदण्डविपरीत कारोबार गरेको, जोखिम कोष नराखेको, लगानी गर्दा पर्याप्त धितो नराखेको र पक्रिया नपुर्‍याएको, सञ्चालकले संस्थाको बचत र अन्य भौतिक सामग्री दुरुपयोग गरेलगायत गल्ती भेटिएको सहकारी विभागमा रजिस्ट्रार केदार न्यौपानेले बताए । कर्मचारी अभावका कारणले सहकारी अनुगमन गर्न नसकिएको न्यौपानेको भनाइ छ ।

प्रतिक्रिया