काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले ‘त्रिविका प्राध्यापक अन्य पेसा छानबिन समिति’ गठन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । गत आइतबार सौर्य दैनिकमा ‘त्रिविका प्राध्यापक निजीका प्रिन्सिपल †’ शीर्षकको समाचार प्रथम पृष्ठमा सार्वजनिक भएपछि केन्द्रले समिति गठन गरेर एक महिनामा प्रतिवेदन दिन निर्देशन दिएको हो ।
सतर्कता केन्द्रका उपसचिव शेरबहादुर ढुंगानाले मंगलबार शिक्षा मन्त्रालयका कम्तीमा सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएर एक महिमा प्रतिवेदन दिन निर्देशन दिइएको बताए । उपसचिव ढुंगानाले भने, ‘हामीले निर्देशन दिएका छौँ, मन्त्रालयले कम्तीमा सहसचिवको नेतृत्वमा कति सदस्य र कसलाई राख्ने भन्ने निर्णय शिक्षा मन्त्रालय आफँैले गर्न सक्छ ।’ केन्द्रले २८ साउनमा प्राध्यापकका विषयमा सौर्य दैनिकमा आएको समाचारमा उठाइएका विषय, प्राध्यापकका आचारसंहिता र खबर सत्य हो भने कुन निकायले के–कस्ता कारबाही गर्न सक्छ भन्ने विषयमा छानबिन गर्न भनेको हो । केन्द्रले समाचारमा आएका प्राध्यापक र उस्तै प्रकृतिका विस्तृत जानकारी मागेको छ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी तथा प्राध्यापकले निजी कलेजमा लगानी गरेपछि गुणस्तर खस्कँदै गएको छ । संस्थानअन्तर्गतका क्याम्पसका प्राध्यापक निजी कलेजका प्रिन्सिपलसमेत रहेका छन् । त्यसैगरी, सिभिल इन्जिनियरिङ विभागका पूर्वप्रमुख प्राध्यापक प्रेमचन्द्र झा एड्भान्स इन्जिनियरिङ कलेजका प्रिन्सिपल हुन् । (सौस)
प्रतिक्रिया