लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग

नेपालगन्ज, ३२ साउन । बाँकेमा लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग बढेको छ ।

अभिभावकले आफ्नै छोराछोरीलाई समेत कारोबार, ओसारपसारमा प्रयोग गरेको पाइएको छ । लागुऔषधको खुलेआम कारोबार हुने जैसपुरका बालबालिका सबैभन्दा बढी लागुऔषधको धन्दामा सामेल भएको पाइएको हो । लागुऔषधमा सक्रिय कारोबारी जैसपुर–६ का वकिल खाँकी १३ वर्षीया छोरी खैरो हेरोइनसहित पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो । लागुऔषध लिएर घर फर्कंदै गरेको अवस्थामा २० ग्राम खैरो हेरोइनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकाका बाबु वकिल खाँ बाँके प्रहरीको खोजी सूचीमा छन् । उनले भारतबाट लागुऔषध ल्याएर जैसपुरमार्फत नेपालगन्जमा बिक्री गर्दै आएको प्रहरी अनुसन्धानबाट देखिएको छ । ‘आफूले लागुऔषध भित्र्याउन सम्भव नदेखेपछि छोरीलाई प्रयोग गरेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी उदय तामाङले जानकारी दिए ।
सीमा प्रहरी चौकी जैसपुर इन्चार्ज माधव रिजालका अनुसार, जैसपुरका केही घरका पूरै परिवार लागुऔषध कारोबारमा सक्रिय छन् । स्थानीय वकिल खाँ, सन्नी खाँ, महिला चुन्नी खाँ प्रहरीको वान्टेड नै हुन् । उनीहरू भारतमा बसेर आफ्ना नातेदारमार्फत नेपालगन्जमा लागुऔषध ब्राउन सगुर भित्र्याउने काममा सक्रिय छन् ।
बालबालिकालाई सजाय कम हुने भएकाले तस्करीमा बालबालिकाको प्रयोग बढिरहेको हो । नेपालगन्जमा यस्ता बालबालिका कति छन् भन्ने यकिन तथ्यांक नभए पनि संख्या बढ्दै गएको पाइएको छ । जिल्ला बालकल्याण समितिको हरेक बैठकमा जैसपुरका बालबालिकाबारे कुरा उठ्ने गरेको बालबालिकाका क्षेत्रमा काम गर्दै आएको सिविनका टिम–लिडर मधु दवाडीले जानकारी दिए । ‘अन्य ठाउँका भन्दा जैसपुरका बालबालिका यो धन्दामा बढी फसेका छन्,’ दवाडीले भने ।

प्रतिक्रिया