प्रहरीबाटै सम्पादकको हत्या योजना

धनगढी, ३२ साउन । कैलाली प्रहरीले सुदूर सन्देश दैनिकका प्रकाशक तथा प्रधानसम्पादक हेमन्त पौडेलको हत्याको षड्यन्त्र गरिरहेको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एकाउन्टेन्ट जयबहादुर सिंहले नै प्रहरीले पौडेलको हत्या योजना प्रहरीले बनाएको खुलासा गरेका हुन् । सिंहले दैनिकका संवाददाता कैलाश जोशीलाई सम्पादकको हत्या योजना बनिरहेको बताएपछि घटना बाहिर आएको हो ।
सुदूर सन्देशकै कार्यालयमा आएका सिंहले फर्कने बेलामा संवाददाता जोशीसँग योजनाको खुलासा गरेका हुन् । सुदूर सन्देशले २८ साउनमा प्रहरी अधिकारीकै संरक्षणमा जिल्लाका पूर्वीनाकाबाट तस्करी भइरहेको र तस्करबाट रकम उठाउने काममा घुमुवा प्रहरी परिचालित भएको समाचार प्रकाशित गरेको थियो । तस्करबाट रकम बुझेका प्रहरीको नामसहित समाचार छापिएपछि एसपी घनश्याम अर्यालले उनीहरूलाई सोधपुछ गर्नुको सट्टा पत्रिकाप्रति आक्रोश पोखेका थिए ।
एसपी अर्यालले आफ्ना एकाउन्टेन्ट सिंहलाई पत्रिका कार्यालयमा पठाएर सम्पादक पौडेललाई फोन गरी आफ्नो विश्वास पात्रलाई दूतका रूपमा त्यहाँ पठाएको बताएका थिए ।
उनले प्रकाशित समाचारका विषयमा कुरा गर्न प्रहरी अधिकृतको सट्टा एकाउन्टेन्टलाई किन पठाएका हुन् भन्ने खुलेको छैन । तिनै एकाउन्टेन्टले कार्यालयबाट फर्किने बेलामा संवाददाता जोशीलाई हत्या योजनाबारे सुनाएका थिए ।
समाचार प्रकाशित भएपछि एसपी अर्यालले सम्पर्क गरी ‘समय परिस्थितिअनुसार काम गर्न र बढ्ता जान्ने नबन्न’ धम्की दिएका छन् । प्रहरी कार्यालयमा रिपोर्टिङका सिलसिलामा पुगेका संवाददाता जोशीलाई कार्यकक्षमा बोलाई डिएसपी रणबहादुर रायमाझी र इन्स्पेक्टर सुदाम रावलले ‘आइन्दा सचेत भएर’ रिपोर्टिङ गर्न चेतावनी दिएका थिए ।
सोही क्रममा एसपी अर्यालले ‘आफ्ना दूत’ प्रहरी कार्यालयका एकाउन्टेन्ट सिंहलाई सुदूर सन्देशका प्रधानसम्पादक पौडेलसँग समाचारका विषयमा कुरा गर्न जोशीसँगै पठाएका थिए । सिंहले पत्रिकाको कार्यालयबाट बाहिरिने क्रममा भने, ‘पूर्वीतराईमा भएको भए हेमन्त पौडेल उहिल्यै सिद्धिसक्थ्यो, यतातिर भएर बाँचेको तर यता पनि अब धेरै दिन बाँच्दैन ।’
प्रेस चौतारी नेपालका महासचिव विष्णु रिजालले सौर्यसँग कुरा गर्दै समाचारका विषयमा पत्रिकाको कार्यालयमा प्रहरी पठाउनु र मार्ने धम्की दिनु दु:खद् भएको बताए । उनले समाचार चित्त नबुझे अदालत जाने बाटो छाडेर कैलालीका प्रहरी अधिकृतहरूले पत्रकार पौडेलको ज्यान हरण गर्ने धम्की दिनुले पत्रकारिता असुरक्षित भएको बताए । उनले पौडेलमाथि कुनै पनि आक्रमण भए कैलाली प्रहरी जिम्मेवार हुने बताए । रिजालले पत्रिकाको कार्यालय पुगेर धम्की दिने एकाउन्टेन्ट सिंहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र एसपी अर्याललाई विभागीय कारबाही गरी कैलालीमा सञ्चारजगत्लाई सुरक्षाको अनुभूति दिलाउन अपिल गरे ।

प्रतिक्रिया