रौतहट, ३१ साउन । मध्यराति आएको अज्ञात समूहको गोली प्रहारबाट अकोलवा–८ बलुवा टोलमा एक दम्पत्तिको मृत्यु भएको छ । घटनाको प्रतिकार गर्दा दुई छिमेकी घाइते भएका छन् ।
सोमबार राति ११:३० बजे २० जनाको संख्यामा आएका हातहतियारधारी समूहको आक्रमणमा परेर ४६ वर्षीय शेख गफ्फार र उनकी पत्नी ४० वर्षीया सहनाज बेगमको मृत्यु भएको हो । गफ्फारको दाहिने कन्चट र सहनाजको घाँटीमा गोली लागेको छ । गोली चलेको आवाज आएपछि प्रतिकारमा उत्रँदा शेख सोहेब र सकिना खातुन घाइते भएका छन् । उनीहरूको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।
मृतक गफ्फार एकीकृत नेकपा (माओवादी)को एरिया कमिटी मेम्बर हुन् । उनको परिवारमा लामो समयदेखि अंशको झगडा रहेको बुझिएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनका दाजु शेख मोबारक तथा शेख बिलरलाई पक्राउ गरेको छ । दाजुभाइमा जग्गासम्बन्धी विवादकै कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा तमसुक तथा कपाली कागज भेटिएको प्रहरीले जनाएको छ ।
हत्यापछि अकोलवाको बलुवा टोल शोकमग्न भएको छ । घटनास्थलमा सञ्चारकर्मी पुग्दा गाउँमा रुवाबासी थियो । ‘मेरी आमालाई पहिले कोठामै गोली हान्यो । हतियारसहित अपराधीहरू आएपछि बुबाले कोठाबाटै प्रहरीलाई हामीलाई बचाउनु भन्दै फोन गर्नुभएको थियो,’ गफ्फारकी छोरी हसिमा खातुनले भनिन्, ‘तर, दुई सय मिटर पर रहेको इलाका प्रहरी कार्यालय, राजपुरबाट प्रहरी एक घन्टापछि आयो ।’
मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व रमजानको मुखमा दम्पत्तिको हत्या भएपछि उनका परिवारको बिचल्ली भएको छ । गफ्फारका चार छोरा तथा ६ छोरी छन् । मृतकका जेठो सन्तान १८ वर्षीया छोरी छिन् भने कान्छो सन्तान चार महिनाको दुधे बालक छन् ।
‘पहिलेदेखिको जग्गासम्बन्धी विवादकै कारण ठूलोबुबा शेख मोबारकको परिवारले आमाबाबुको हत्या गरेका हुन्,’ मृतककी छोरी नसिबु खातुनले बताइन् । घरभित्र पस्न बन्चरोले ढोका फोड्ने प्रयास गर्दा असफल भएपछि भेन्टिलेसन फोरेर भित्र पसेको उनले बताइन् । झ्यालबाट हानेको गोली सहनाज बेगमको घाँटीमा लागेपछि ढोका खोलेर शेख मोबारकलाई बाहिर ल्याएर कन्चटमा गोली हानिएको उनले बताइन् ।
रौतहटका एसपी ठूले राईले घटना भएको एक घन्टाभित्र घटनास्थलमा पुगेको बताउँदै दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताए ।
प्रतिक्रिया