विष्णुलाई ‘हर्के’ नै प्यारो

काठमाडौं, ३० साउन । कतिले हर्के हबल्दार भन्छन् त कतिले लाउरे बा † उनी हुन् हास्य कलाकार विष्णु सापकोटा । यतिखेर उनी आफ्नो वास्तविक नामबाट भन्दा कलाकारिताका क्रममा निर्वाह गरेका यी दुई भूमिकाका कारण चिनिन थालेका छन् । कान्तिपुर टेलिभिजनमा प्रत्येक आइतबार प्रसारण हुन्छ टेलिसिरियल हर्के हबल्दार । हर्के हबल्दार र लाउरे बा गरी दोहोरो भूमिकामा देखिन्छन् उनी । चर्चाका हिसाबले हर्के हबल्दारलाई लाहुरे बाले पछारेको छ बजारमा । यो उनको इच्छाविपरीत हो, हर्के हबल्दारले नै बढी चर्चा कमाओस् भन्ने चाहन्छन् । पर्दामा लाहुरे बा लोकप्रिय भए पनि बाहिर हिँड्दा चाहिँ मानिसहरूले हर्के हबल्दार भनेरै बोलाउँछन् रे †
त्यसो त सुरुमा यो टेलिसिरयलको डमी पास गराउनै धौधौ परेको रहेछ उनलाई, कान्तिपुर टेलिभिजनसँग । पाँचौँ प्रयासमा बल्ल सफल भएछ । उनले दोहोरो भूमिका गर्न बाध्य हुनुका पछाडि पनि यसकै कारण छ । सुरुमा हर्के हबल्दार मात्र भएर डमी पेस गरेछन्, फेल भएछ । फेरि लाहुरे बा बनेर पेस गरेछन्, त्यो पनि फेल भयो । अन्त्यमा हर्के हबल्दार र लाहुरे बाको दोहोरो भूमिका मिसाएको डमीचाहिँ पास भइदिएछ । यी दुवै भूमिका उनले कल्पनाका भरमा सिर्जना गरेका होइनन् रे † ‘अपांग महासंघका कार्यक्रममा देशका विभिन्न ठाउँमा घुमेपछि मलाई यी भूमिकाको सोच आयो,’ उनी भन्छन् । हर्के र लाहुरे बाजस्ता पात्र थुपै्र ठाउँमा भेटेको सुनाउँछन् उनी । ‘कार्यक्रमका सिलसिलामा जति गाउँ गएँ, श्रीमती नभएका वृद्ध, उनीहरूको सेक्सुअल चाहना र समस्या पाएँ । तिनै कथाव्यथालाई प्रकाश सुवेदीको सल्लाहमा पर्दामा उतारँे,’ उनले प्रस्टयाए । लाहुरे बाको पात्र बन्न अलि झन्झटिलो लाग्दोरहेछ । ‘लाउरे बाका लागि बढी मेहनत गर्नुपर्छ, बुढ्यौली मेकअपदेखि जुँगा, गेटअप र हाउभाउ सबै बनाउनुपर्छ,’ उनी भन्छन्, ‘सुरुसुरुमा केही गाह्रो भए पनि अहिले दुवै भूमिका लोकप्रिय भएको देख्दा खुसी लाग्छ, अप्ठ्यारो सबै बिर्सन्छु ।’
यो शृंखलाले लोकप्रियतासँगै बाँच्ने आधार खडा गरिदिएको उनलाई लाग्छ । भन्छन्, ‘यो टेलिचलचित्रमा छउन्जेल अरूमा अभिनय गर्दिनँ ।’ तर, किन ? उनले कारण खुलाए, ‘चिनी पनि धेरै खायो भने गुलियो हुुन्छ । धेरै भेराइटीमा देखिनुभन्दा यही भूमिकालाई अझ राम्रोसँग लैजाने सोचाइमा छु ।’ हर्के हबल्दारभन्दा पहिले आफैँले निर्माण गरेको टेलिशृंखला भैगो नि तबाट ‘गोथे’ को परिचय बनाएका सापकोटा लोकप्रियताका लागि सानो पर्दा नै उपयुक्त हुने ठहर्‍याउँछन् । लोकप्रियतासँगै साथी बनाउने र प्रेमप्रस्ताव राख्ने युवती पनि बढेका छन् रे उनलाई । उनी के गर्छन् त ? ‘म त विवाहित मान्छे हुँ, बिहे नै गर्छु भनेर पछिलाग्नेलाई त सरी नै भन्ने गरेको छु,’ उनले सुनाए ।
हर्केको भूमिका गर्दागर्दा कहिले आफू साँच्चिकै सुस्त मनस्थितिको मान्छे भएँ कि भन्ने डर पनि लाग्दो रहेछ । ‘टेलिभिजनमा हेर्दा म आफँैले त्यो भूमिका गरेको हुँ र ? त्यो हर्के त कस्तो नेचरको मान्छे रहेछ † भनेर अचम्भित हुन्छु आफैँ ।’ विदेशमा कार्यक्रम लैजाने तयारीमा व्यस्त हुनुपरेकाले यसपालिको गाईजात्रे कार्यक्रममा सहभागिता जनाउन भ्याएनन् रे उनले । हर्के हबल्दारले विशेष पहिचान दिलाए पनि विष्णु नयाँ कलाकार भने होइनन् । यसअघि पापी रात, मेरी बास्सै, तीतो सत्य, झ्याइकुटी झ्याईंलगायत दर्जनौँ टेलिश्रृखलामा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेका ठूलो पर्दाका चलचित्र पनि ७० भन्दा बढी भइसके । कलाकारितामा २० वर्षदेखिको समर्पणले अहिलेको सफलतासम्म ल्याइपुर्‍याएको उनलाई लाग्छ । मकवानपुर हेनपा–११ का स्थानीय बासिन्दा विष्णु भन्छन्, ‘कसैले अर्बौं रुपियाँ दिए पनि कलाकारिता छोड्न सक्दिनँ, अभिनय मेरो धर्म, कर्म र सबै थोक हो ।’

प्रतिक्रिया