विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड

बाग्लुङ, ३० साउन । शिक्षकको व्यवस्था नगरेको आक्रोशमा बिबिएस दोस्रो वर्षका विद्यार्थीले धौलागिरि बहुमुखी क्याम्पसमा तोडफोड र आगजनी गरेका छन् ।

पटकपटक बिजनेस शिक्षकको माग गर्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउँदासमेत व्यवस्था नभएपछि विद्यार्थीले तोडफोड गरेका हुन् । विद्यार्थीले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, परीक्षा शाखा र कक्षाकोठा तोडफोड गरेका हुन् । विद्यार्थीले केही फर्निचर पनि जलाएका छन् ।
घटनामा बिबिएस दोस्रो वर्षका केही उद्दण्ड र अन्य गैरविद्यार्थीको संलग्नता रहेको क्याम्पस प्रशासनले जनाएको छ । शिक्षकको व्यवस्था गरेर समयतालिका निकाल्ने तयारी भइरहेका बेला उच्छृंखल विद्यार्थीले तोडफोड र आगजनी गरेको व्यवस्थापनका विभागीय प्रमुख यामप्रसाद शर्माले बताए । ‘घटनामा कुनै विद्यार्थी संगठनको संलग्नता छैन,’ क्याम्पस प्रमुख आनन्द सिलवालले भने, ‘केही उद्दण्ड विद्यार्थीले तोडफोड र आगजानी गरेका हुन् ।’ आगजनी तथा तोडफोडबाट करिब दुई लाख रुपियाँबराबरको क्षति भएको उनले बताए ।
घटनालगत्तै क्याम्पस प्रशासनले असहज परिस्थिति सिर्जना भएको भन्दै सार्वजनिक सूचनामार्फत अर्को सूचना जारी नहुन्जेलसम्म बिहानी तथा दिवा कक्षा र प्रशासनिक कार्य बन्द गरेको जनाएको छ । क्याम्पसमा सञ्चालन भइरहेको स्नातक तहको पहिलो वर्षको परीक्षा भने जारी छ ।
आगजनी भएको खबर पाएलगत्तै क्याम्पसपरिसरमा प्रहरी पुगेको थियो । ‘हामीलाई खबर ढिला भयो,’ निमित्त जिल्ला प्रहरी प्रमुख शिवराज ढुंगानाले भने, ‘समयमा प्रहरी नपुग्दा क्याम्पसमा क्षति पुगेको छ ।’

प्रतिक्रिया