चितवन : कांग्रेस सभापति सुशील कोइरालाले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा एमाओवादी गैरजिम्मेवार ठहरिँदै गएको बताएका छन् । एमाओवादी नेताहरूका पछिल्लो क्रियाकलापले ऊ सत्ताकब्जाको रणनीतिमा लागेको स्पष्ट भएको सभापति कोइरालाको भनाइ छ ।
नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आइतबार नारायणगढमा आयोजित कार्यक्रममा सभापति कोइरालाले एमाओवादीको गैरजिम्मेवारीपनका कारण देश अधोगतितर्फ धकेलिएको बताए । कांग्रेस नेतृत्वमा अबको सरकार गठन हुन नसक्ने भन्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आक्रोश पोख्दै कोइरालाले सरकारको नेतृत्वको भागबन्डा लगाउने जिम्मा दाहालको नभएको स्पष्ट पारे ।
‘संयुक्त राष्ट्रसंघले प्रधानमन्त्री बनाउने जिम्मा दाहाललाई दिएको छैन । उहाँलाई गैरजिम्मेवार अभिव्यक्ति दिने कुनै अधिकार छैन,’ उनले भने, ‘एमाओवादी सहमति गर्न जान्ने तर पालना गर्न नजान्ने पार्टी हो ।’ कार्यक्रममा चिजकुमार विष्णुकुमारी श्रेष्ठ राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय हरिहर विरही र तारानाथ दाहाललाई प्रदान गरिएको थियो । प्रजातान्त्रिक सेनानी संघका तत्कालीन अध्यक्ष स्व. चिजकुमार श्रेष्ठका परिवारले स्थापना गरेको २५ हजार ५ सय ५५ रुपियाँ राशिको उक्त पुरस्कार कोइरालाले प्रदान गरेका थिए । (सौस)
प्रतिक्रिया